Comments Add Comment

जलवीरे हुँदै मानहुँकोटको फन्को (फोटो फिचर)

३ माघ, काठमाडौं । कोरोनाले घरभित्रै थुनेर राखेपछिको उकुसमुकुस त सबैको साझा भोगाइ हो । अझ घरबाहिर घुमफिर गरिरहुनपर्ने हामीलाई त्यसरी खुम्चिएर बस्दा कति छटपटी हुँदो हो ? जब कोरोनाको त्रास मत्थर हुँदै गयो, हामी घरबाहिर निस्किएर बेपर्वाह घुम्ने मुडमा थियौं ।

मौका मिल्नसाथ दौडिहाल्ने तयारी अनुरुप यसपालि हामी जलवीरेका लागि निस्कियौं । काठमाडौं खाल्डो छाड्ने यो टोलीमा १३ जनाको जम्बो टिम नै बनेछ । हामीले यात्रा सुरु गर्नुअघि नै रेखांकन गरेका थियौं, चितवनको जलवीरे झरना, बन्दीरपुर हुँदै मानहुँकोट (मानुङकोट)को फन्को लगाउने ।

चितवनको जलवीरे झरना त्यति चर्चित छैन । तर, पर्यटकलाई भने यसले लोभ्याउने रहेछ । यहाँ पूर्वाधार पनि त्यती राम्रो छैन । यद्यपि आगन्तुकको चहलपहल बढेको थियो । पछिल्लो समय चितवनमा पहिचान गरिएका ४० उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये यो झरना पनि समेटिएको रहेछ । जे होस्, अब भने पूर्वाधार विकास हुने र पर्यटकको घुइँचो लाग्ने अनुमान गर्न सकिन्छ ।

इच्छा कामना गाउँपालिका ६ जलवीरेमा यो झरना अवस्थित रहेछ । धेरै हिँड्नु पर्दैन, नारायणगढ मुग्लिन सडकको जलवीरे मन्दिरबाट आधा घण्टा हिँडेपछि गन्तव्य पुगिन्छ ।

नारायणगढबाट २९ किलोमिटर मुग्लिनतर्फ रहेको यो क्षेत्रमा काठमाडौं, पोखरा र सौराहाबाट पर्यटक आउने गर्छ । यहाँ प्रवेश गर्न पर्यटकलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

जलवीरे झरना अवलोकनपछि हामी सोझियौं, बन्दीपुरतर्फ । बन्दीपुरको वयान के गर्नु ? यो त देशी विदेशी पर्यटकको रोज्जा गन्तव्य नै भइहाल्यो । बन्दीपुरबारे नजान्ने र त्यहाँ जान नचाहने को नै पो होलान र ?

बन्दीपुर गाउँपालिका १०२ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर स्थान हो ।

विशेष गरी बन्दिपुर बजार, सिद्ध गुफाजुन नेपाल कै सबैभन्दा ठूलो प्राकृतिक गुफा भनेरसमेत परिचित रहेकेा छ, टुँडिखेल, मस्र्याङ्दी उपत्याका र हिमशृंखला हेर्न सकिन्छ । यसैगरी थानीमाई रमुकुन्देश्वरी समेत यहाँको आकर्षणको हो । बन्दीपुर पछिको हाम्रो गन्तव्य हो, मानुङकोट ।

सामाजिक सञ्जालमा प्रख्यात रहेको मानुङकोट पुग्न हामी सबै आतुर थियौं । सामाजिक सञ्जालमा त्यहाँबाट देखिएको दृश्यले निकै मोहित बनाएको थियो । आफू उभिएको सतहभन्दा तल देखिने बादलको तह हेर्दा लाग्यो धर्तीको स्वर्ग भनेकै यहीँ हो । अहिले मौसम त्यती सफा नभएर होला हामीले जति हिमालको दृश्य देख्नु पर्ने हो त्यति देख्न पाएनौं । तर सूर्याेदयको दृश्यले मनलाई निकै आनन्दिन तुल्यायो ।

मानुङकोट पुग्नलाई बाटो भने त्यति सोचे जस्तो राम्रो लागेन । यदि बाटो र केही व्यवस्थपन गर्न सकियो भने यसले पर्यटन विकासमा छलाङ मर्ने छ ।

बन्दीपुरमा साहसिक खेलहरु जरुरी
लिला बानियाँ
वरिष्ठ प्रबन्ध निर्देशक, नेपाल पर्यटन बोर्ड

बन्दीपुर आन्तरिक पर्यटकको प्रमुख गन्तव्य मध्येको एक हो । तर यहाँ आन्तरिक तथा बाह्य पर्यटक कति आउँछन् भनेर लेखाजोखा भने गर्ने गरिएको छैन । हामीले विगतमा यसो स्थानिय तथा सरोकारवालासँग बुझ्दा वर्षेनी एक लाखको हाराहारीमा आउने अनुमान गरियो ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरु हिमाल हेर्न, पहाडको टुप्पोमा रहेको बस्ती हेर्न, नेवार, मगर र गुरुङ सँस्कृतिका साथै मर्स्याङ्दी भ्याली हेर्न आउने गर्दछन् ।

बन्दीपुर आउने पर्यटकको बसाइँ लम्बाउनका लागि वरिपरिको हाइकिङ पदयात्रा तथा साहसिक खेलहरु पनि थप गर्दै जानु पर्दछ जस्तो लाग्छ मलाई । साहसिक खेलहरुमा हाल प्यारागलाइडिङ तथा माउनटेन बाइक त सुरु भइसकेको छ । अन्य खेलहरु पनि भुगोलअनुसार थप गर्दा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment