Comments Add Comment

इरानद्वारा लामो दूरी क्षमताको मिसाइल परीक्षण

न्युक्लियर सम्झौता ब्युँताउन फ्रान्सको आग्रह

Photo Credit : AP

४ माघ, काठमाडौं । इरानको सेना इस्लामिक रिभोलुसनरी गार्डस् क्रप्स (आईआरजीसी)ले लामो दूरीको मिसाइल र ड्रोन परीक्षण गरेको छ । अमेरिकासँग तनाव जारी रहेको अवस्थामा इरानले आफ्नो सैन्य प्रदर्शनको क्रममा मिसाइल परीक्षण गरेको हो । आईआरजीसीले शनिबार परीक्षण गरेको ब्यालेस्टिक मिसाइलले १८ सय किलोमिटर दूरी पार गर्दै उत्तरी हिन्द महासागरको कृत्रिम लक्ष्यमा प्रहार गरेको थियो ।

इरानका सेना प्रमुख मोहम्मद बघेरीले यो मिसाइल परीक्षणबाट इरानको राष्ट्रिय स्वार्थ, समुद्री क्षेत्र वा जमिनमा आँच पुर्‍याउने काम गरेको खण्डमा उनीहरुलाई ध्वस्त पारिदिन सक्छौँ भनेर देखाउन सफल भएको बताएका छन् । उनले आफूहरुले यसबाट इरानको आक्रामकता भने नदेखाएको उल्लेख गरे । यद्यपि इरानमाथि देखाइने कुनै पनि आक्रमकता भने पूर्ण शक्ति लगाएर सामना गर्न तयार रहेको देखाएको बघेरीले बताए ।

सन् २०१८ मा अमेरिकाले इरानसँगको सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यससँगै बिग्रिएको अमेरिका–इरान सम्बन्ध अहिले तनावपूर्ण बनेको छ । गत वर्ष आईआरजीसीका विदेश अपरेसन प्रमुख कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएपछि अवस्था झन् तनावपूर्ण बनेको थियो ।

अमेरिका सन् २०१५ मा भएको न्युक्लियर सम्झौताबाट बाहिरिएसँगै इरानले पनि उक्त सम्झौता उल्लंघन गर्न सुरु गरेको छ । यसैबीच फ्रान्सले इरानले न्युक्लियर हतियार बनाइरहेको भन्दै तत्काल सन् २०१५ मा भएको उक्त सम्झौतामा फर्किन सबैलाई आग्रह गरेको छ । फ्रान्सको विदेशमन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी अमेरिका र इरान दुवैले उक्त सम्झौता पालना गर्नुपर्ने बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment