Comments Add Comment

घाटामा सेवा क्षेत्र : पाँच महिनामा पर्यटनबाट २.३ अर्ब आम्दानी, बाहिरियो ११.४१ अर्ब

४ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सेवा क्षेत्र घाटामा छ । पर्यटन उद्योगका लागि हुने आयको तुलनामा यही शीर्षकमा बाहिरिने रकम ठूलो हुँदा सेवा क्षेत्रमा चाप परेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार ५ महिनाको अवधिमा भ्रमणबाट नेपालले मात्र २ अर्ब ३० करोड रुपैयाँ आय गरेको छ । तर, व्यय भने ११ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

यसमध्ये शिक्षाका लागि बाहिरिने रकम मात्र ९ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ रहेको छ । यद्यपि यस अवधिमा भ्रमण आय र व्ययको प्रवृत्ति भने नकारात्मक रहेको छ ।

कोरोना भाइरसको महामारीका बीच पर्यटक आगमनमा कमी आएको छ । यसको असर भ्रमण आयमा समेत परेको हो । त्यसो त यो अवधिमा अघिल्ला वर्षहरुमा भ्रमण व्यय र शिक्षाका लागि बाहिरिने रकम भने ठूलो हुने गरेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार भ्रमण आय ५ महिनामा ९३.५ प्रतिशतले कम भएको छ । अघिल्लो आवको पहिलो ५ महिनामा भ्रमण व्यय समेत यस अवधिमा ६३.५ प्रतिशतले कम भएको हो । शिक्षाका लागि बाहिरिने रकम समेत ३३.९ प्रतिशतले कम भएको तथ्यांकमा देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिना (साउन-मंसिर) सम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार मंसिर महिनासम्म उक्त संख्यामा पर्यटक आएका हुन् । यो अवधिमा अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएका छन् । ५ महिनामा अमेरिकाबाट १३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट ९ सय १ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

चीनबाट ५ सय ७६ जना र भारतबाट ४३१ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । टर्कीबाट ३०३ जना पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ सय ३५ जना पर्यटक नेपाल आएका छन् । यूरोप, अमेरिकी पर्यटक बढीजसो पर्वतारोहण र पदयात्राका लागि आउने गर्छन् । उनीहरु तुलनात्मक रुपमा खचार्लुसमेत हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment