Comments Add Comment

पोर्चुगल, जहाँ संसारभरका मान्छे भेटिन्छन्

युरोपमा बेलायतपछि सबभन्दा बढी नेपाली भएको देश पोर्चुगल हो । यो कारणले नेपाली सञ्चारमाध्यममा बेलाबेला पोर्चुगलको विषयमा विभिन्न सामग्री प्रकाशित भइरहन्छन् ।

पोर्चुगलको कानुन र नेपालीका विषयमा आफैंले भोगेका, देखेका र जानेका आधारमा पदम गौतमले तयार पारेको फिचर :

पछिल्ला दुई दशकमा नेपालीलगायत दक्षिण एसियाली नागरिकका लागि आकर्षक गन्तव्य बनेको छ, पोर्चुगल । यो देश युरोपेली स्तरमा आर्थिक दृष्टिले मध्यम मुलुक हो । हिउँदमा पानी पर्ने युरोपको हावापानी बिर्सने हो भने यहाँको तापक्रम नेपालीलाई मन पर्ने खालको छ । उदार आप्रवासी नीति र स्थानीयको सहृदयी व्यवहारका कारण पनि दक्षिण एशियाली कामदार पोर्चुगलमा आकर्षित भएको देखिन्छ ।

पदम गौतम

साझा भिसा र मुद्राको अवधारणा लागु भएपछि युरोपेली मुलुकमा नेपालीको आगमन बढ्यो । सन् २०१० पछि त यो क्रमले गति लियो । हालसम्म २० हजार भन्दा बढी नेपालीले पोर्चुगलका पीआर (स्थायी बसोबास कागजात) बनाएर अन्य युरोपेली मुलुकलाई अन्तिम गन्तब्य बनाइसकेको मानिन्छ ।

कामदारलाई आम्दानीका दृष्टिले खाडी मुलुक हाराहारी (सुविधासहित करिब मासिक ७५० युरो) भए पनि मूलतः पीआरको खुकुलो नियम नै पोर्चुगलको आकर्षण हो । यसैको लोभमा २० लाख नेपाली रुपैयाँसम्म तिरेर यहाँ आउनुलाई पनि नेपाली र अन्य दक्षिण एशियाली नागरिक उपलब्धि नै ठान्छन् । ठ्याक्कै तोक्न नसकिए पनि यहाँ आएको सरदर दुई बर्षमा अस्थायी बसोबास अनुमतिपत्र (टीआर) बन्ने गरेको छ ।

इतिहासमा बेलायतपछि स्पेन र पोर्चुगलले विश्वका धेरै मुलुकमा उपनिवेश कायम गरेका थिए । सन् १४५८ मा पोर्चुगिज एक्सप्लोरर भास्को द गामा भारत प्रवेश गरेपछि त्यसले बेलायती साम्राज्यलाई भारत कब्जा गर्ने बाटो बनाइदियो । पोर्चुगलले आफ्नी राजकुमारी क्याथरिन अफ ब्रागान्जा र बेलायती युवराज चाल्र्स द्धितीयको बिहे हुँदा आफ्नो कब्जामा रहेको बम्बै शहर बेलायती इष्ट इण्डिया कम्पनीलाई दाइजो दियो ।

बम्बैपछि पूरै भारत बेलायतले कब्जामा पुग्दा पनि भारतको ढोका मानिने गोवा र केही टापु पोर्चुगिज साम्राज्यकै अधिनमा रहे । त्यही आधारमा पोर्चुगलले बिगतमा शासन गरेका देशको सूचीमा परेका कारण भारतीय आप्रवासीले तीन दशकअघि पोर्चुगलबाट विशेष सुविधा लिन थाले । यो सुविधा ब्राजिल र केही अफ्रिकी देशका नागरिकले ७० को दशकदेखि नै लिएका थिए ।

विदेशीप्रति कठोर पोर्चुगिज तानाशाह अन्तोनियो सालाजारको पतनपछि आफूले विगतमा शासन गरेका देशका आप्रवासीका लागि यस देशले लचिलो नियम ल्याएको थियो । त्यो समयमा पोर्चुगलबाट नयाँ पुस्ता पलायन भएर जनसंख्या ऋणात्मक थियो । मध्यम अर्थतन्त्रको यो मुलुकलाई सस्ता कामदार टिकाउन लचिलो कानुन ल्याउनैपर्ने अवस्था आएको थियो ।

लचिलो कानुन अनुसार भिसा हुँदै यहाँ छिरेपछि आरम्भमा ६ महिना आफ्नै खर्चमा बस्नुपर्ने, त्यसपछि काम गर्दै कर तिर्ने र अस्थायी निस्सा बनाएर पाँच वर्ष बस्नुपर्ने प्रावधान राखियो । यसको प्रयोग गर्दै हजारौं अफ्रिकी, ब्राजिलियन र विगतमा पोर्चुगिज शासन भएका अन्य देशका आप्रवासीले यहाँको पासपोर्ट लिए । पहिलो चरणमा नै केही गोवाबासी भारतीय आएर यहाँको नागरिकता या पीआर लिएका थिए ।

तिनीहरुलाई पछ्याउँदै यो सुविधा लिन अन्य भारतीय पनि आउन थाले । ८० को दशकको अन्त्यदेखि भारतीयलाई पछ्याउँदै पाकिस्तानी, बंगलादेशी र नेपाली पनि पोर्चुगल छिर्न थाले । सुरुमा आफूले शासन गरेका देशका नागरिकका लागि मात्र ल्याइएको यो सुविधा विश्वका हरेक मान्छेले प्रयोग गर्न पाउने घोषणा पोर्चुगिज सरकारले गर्‍यो । आप्रवासीका लागि काम गर्ने संस्था ‘इमिग्रान्ते’को २०१९ को तथ्याङ्क अनुसार, पोर्चुगलमा अहिले ८० हजार भन्दा बढी दक्षिण एशियाली कामदार छन् ।

जताबाट पनि पोर्चुगल

गैर आवासीय नेपाली संघ (एनआरएनए), पोर्चुगलसँग यहाँ कति नेपाली छन् भन्ने आँकडा छैन । युरोपका बिभिन्न मुलुक आउने विद्यार्थीहरु काम र खर्चको तालमेल मिलाउन नसकेपछि कार्ड बनाउन भन्दै यहाँ आउँछन् । भिजिट भिसामा आफैं वा दलालमार्फत् कुनै सेन्जेन मुलुक हुँदै यहाँ आउनेहरुको संख्या पनि ठूलै छ ।

२०१४ मा मेन पावर कम्पनीसमेत खोलेका एक पूर्वमन्त्रीले श्रमस्वीकृृतिको लाइन मिलाएर प्रतिब्यक्ति १२ लाख नेपाली रुपैयाँ लिएर नेपालीलाई यहाँ पठाउने काम थाले । त्यसपछि विभिन्न नेपाली, पोर्चुगिज र इजरायली दलाल कम्पनीबाट हजारौं नेपाली त्यही बाटोबाट यहाँ आउन थाले ।

एशिया र अफ्रिकाका विभिन्न देशबाट बिना भिसा आउने नेपालीको संख्या पनि बढ्न थालेको छ । युरोपकै अन्य देशमा भिसा सकिएर बसेकाहरु पनि त्यता बढी कडाइ भएपछि कार्ड बनाउन यहीँ आइपुग्छन् । फरक च्यानल, माध्यमबाट दैनिक यहाँ आउने र कागजपत्रको प्रारम्भिक काम गरेर अन्य मुलुक छिर्ने वा काममा लाग्ने भएका कारण नेपालीको विवरण कसैसँग रहने अवस्था नै छैन ।

पछिल्लो समयमा सेन्जेन भिसा नभएकाहरुको पनि गन्तब्य बनेको छ पोर्चुगल । उही हो, यहाँको कागज भिसा लिएर म्याद छँदै प्रवेश गर्नेहरुको चाँडै र त्यो नहुनेका हकमा केही बढी समय लाग्ने गर्छ । २०१५ मा केही नेपाली ओदेमिरा नगरपालिकाको फताका गाउँमा यो पंक्तिकार र बोमलाल गिरीको सम्पर्कमा आएका थिए । उनीहरुको समूह इराकी र सिरियन शरणार्थीकै बाटो प्रयोग गर्दै चार महिनामा पोर्चुगल आएको थियो । यो समूहका नेपालीले करिब चार बर्ष कर तिरेपछि टीआर पाए ।

कुबेतबाट अमेरिका लैजाने भन्ने तस्करीको जालोमा फसेर तीन महिना लिबिया बसेर भाग्दै यहाँ आइपुगेका एक राई थरका नेपाली २०१८ मा यो पंक्तिकारको सम्पर्कमा आएका थिए । उनले पाँच बर्षको कर तिरेर टीआर बनाएका रहेछन् । त्यस्तै पाल्पाका भूपति गैरेले एक दशक भन्दा बढी समय कर तिरेर टीआर बनाए । यहाँ आइपुगेका कतिपय मान्छेका कथा सुन्दा लाग्छ– हरेकले एउटा फिल्म या उपन्यासको संघर्षशील पात्रको जीवन भोगेका हुन्छन् ।

पोर्चुगलमा ३५ हजार भन्दा बढी नेपाली रहेको एनआरएनएका अधिकारीहरुको अनुमान छ । अलेन्तेजो प्रान्तीय कमिटी, एनआरएनएका उपाध्यक्ष बिक्रम घिमिरे यसमध्ये सातहजार भन्दा बढी साँओ तेओतेनियो र त्यसको वरपरका नगरपालिकाका गाउँहरुमा रहेको बताउँछन् ।

पोर्चुगलमा नेपालीको संख्या यकिन हुन नसक्नुमा यहाँको बसाइसराइ, कामको प्रवृत्ति र एनआरएनएको निष्क्रियता जिम्मेवार देखिन्छन् । एनआरएनएको पोर्चुगल शाखाका पूर्व उपाध्यक्ष घनश्याम सुवेदी केही शहरबाहेक अन्यत्र बस्ने नेपाली कामलाई पछ्याउँदै टाढाका गाउँहरुमा सरिरहने हुँदा संख्या यकिन गर्न गाह्रो परेको बताउँछन् ।

केही कामदार यहाँको अस्थायी कार्ड (टीआर) लिएर अन्य सेन्जेन मुलुकमा काम गर्न जान्छन् । वैधानिकता पोर्चुगलको भए पनि त्यस्ता घुमन्ते कामदार गणनामा आउँदैनन् । त्यसैले, हरेक पटक एनआरएनएको चुनावमा उम्मेदवारहरुले नेपालीको विवरण राख्ने मुद्दा उठाउँछन् ।

नेपालीको संख्या उल्लेख्य भए पनि पोर्चुगलमा नेपाली दूतावास छैन । नेपालमा पनि पोर्चुगिज दूतावास छैन । पोर्चुगलमा नेपाली दूतावास खोल्ने विषय पोर्चुगल एनआरएनको चुनावमा मुख्य नारा बनेको धेरै बर्ष भयो । कागजातसम्बन्धी काम पर्दा स्पेन कटेर फ्रान्स पुग्नुपर्छ । पोर्चुगलकै कागजातका नियम सजिलो भए पनि आफ्नै देशको सेवा लिनबाट नेपाली नागरिक बन्चित छन् ।

यो पंक्तिकारले सामाजिक सञ्जालमार्फत् सम्पर्क गर्दा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको योजना नरहेको जानकारी दिए । ‘राजदूतावास खोल्नुपर्छ भन्ने त्यहाँका साथीहरूको आग्रह हो’, उनले भने, ‘यसबारे कुनै निर्णय भएको छैन ।’

कुना कुनामा नेपाली अनुहार

यो पंक्तिकार २०१४ जुनमा साओँ मिगेल गाउँमा पुग्दा त्यहाँ एक जना भारतीय र एक नेपाली मात्र थिए । करिब सय घर रहेको त्यो गाउँमा अहिले पाँच सय जति दक्षिण एशियाली कामदार छन् । त्यो समयमा दक्षिण एशियाली मसला वा अन्य सामानका लागि करिब २० किलोमिटर पर साओँ तोअतेनियो बजारका रहेको पञ्जाबीको दोकानको भर पर्नुपथ्र्यो । ओदेमिरा नगरपालिकाभरि त्यही एउटा मात्र दक्षिण एशियाली दोकान थियो । अहिले यस क्षेत्रमा सय भन्दा बढी नेपाली र भारतीय दोकान तथा रेस्टुरेन्ट छन् ।

त्यो समयमा बढी देखिने थाइ, माल्दोभान, क्युवान, रुमानियन, बुल्गेरियन, युक्रेनियन र ब्राजिलीयन आप्रवासी कामदारको अनुहार अहिले दुर्लभ हुँदै गएको छ । गल्ली–गल्लीमा कि फेटा गुथेका पञ्जाबी कि त हात हल्लाउँदै गफ गरिरहेका नेपाली देखिन्छन् । हरेक घरको आँगन या बार्दलीमा सुकाइएका कपडाले यहाँ दक्षिण एशियाली छन् भन्ने जनाइरहेको हुन्छ । त्यससँगै गमला वा करेसामा रोपिएका खुर्सानी, बोडी, सिमी, फर्सी, घिरौंलालगायत तरकारीले यो नेपाली बसेको घर भनेर चिनाइरहेको हुन्छ ।

अहिले यहाँका गाउँमा बढीमा भारतीय, नेपाली, बंगाली र त्यसपछि पाकिस्तानी कामदार भेटिन्छन् । ओदेमिरा नगरपालिका मात्र नभएर अहिले यो देशका हरेक गाउँमा नेपाली अनुहार देखिनु सामान्य हो ।

गत बर्ष क्रिसमसका दिन हिउँ परेको हेर्न सेर्रा दि पहाडतिर लागेका हामी ठूला बजारहरु बन्द भएका कारण खानाको लागि बिचको एउटा सानो बजारमा रोकियौं । पार्क छेउमा गाडीबाट ओर्लिएपछि श्रीमतीले हाँस्दै भनिन्, ‘ऊ खैनीको खोल, यहाँ नेपाली हुनुपर्छ ।’

नभन्दै एकैछिनमा चिनियाँ रेस्टुरेन्टमा काम गर्ने काठमाडौंका युवक भेटिए । नेपाली हल्ला सुनेर परिचय गर्न आएका उनले यो बजारमा सात–आठ जना नेपाली रहेको बताउँदै भने, ‘भारतीय त गनिनसक्नु नै भइसके ।’

स्थानीय स्तरका फारम, घोडाका तबेला, माछा मार्ने समुन्द्री किनार, गाई फारम, भेडीगोठ जताततै अहिले नेपाली कामदार छन् । करिब १० परिवार जति दक्षिण एशियाली भएका हरेक गाउँमा भारतीयले मसला, चिउरा, भुजिया र भेटेसम्म हरियो तरकारी नभए पनि खुर्सानीसहित दोकान खोलेको देखिन्छ । गाडीको लाइसेन्स सहज भएका कारण भारतीयलाई व्यवसाय गर्न सजिलो छ ।

ऐंसेलु र अन्य बेरी फल उत्पादन गर्ने ग्रिन हाउस र क्याम्पमा नेपाली कामदार अन्य देशका भन्दा बढी छ । खेतीकै सूचीमा पर्ने टमाटर, सलाद उत्पादन कम्पनी, फूल कम्पनी, स्याउ र सुन्तला टिप्ने, जैतुन झार्नेलगायतका काममा पनि नेपाली अगाडि छन् ।

भाषा सिकिसकेका, अंग्रेजी राम्रो भएका र खाना पकाउने काममा दक्षहरु शहरका रेस्टुरेन्टमा काम गर्छन् । नेपाली श्रमिक जाने गरेका अन्य देशमा जस्तो यहाँ लगातार एउटै काम नहुन सक्छ । कामदारले कामलाई पछ्याउँदै दौडिरहनु पर्छ । परिवारसहित बसेकाहरु गाउँ वा शहर एकै ठाउँमा बस्छन् । काम भएको समयमा काम गर्छन्, खेतीको अफ सिजन अर्थात् हिउँदमा सरकारी सहयोग लिएर जीवन गुजार्छन् या पहिलाको बचत खर्च गर्छन् ।

दसैंतिहारमा पोर्चुगलका शहरदेखि भित्री गाउँहरुसम्म टीका लगाएका नेपाली अनुहार छ्यापछ्याप्ति देखिन्छ । कतैकतै देउसी भट्याएको पनि सुनिन्छ । हरेक घरमा उत्सव आयोजना गर्न नमिल्ने भएकाले सामूहिक कार्यक्रम गरिन्छ । तीजमा रातै हिँडेका नेपाली महिलाहरु काठमाडौं शैलीका भोज अनि नाचगान रमाइरहेको भेटिन्छन् ।

पाँच बर्ष डेनमार्क बसेर यहाँ आएका ललितपुरका निश्चल मानन्धर ज्यापु पोशाकमा बर्षमा चारवटा जति कार्यक्रममा भाग लिएर नेपालको न्यास्रो मेट्ने गरेको बताउँछन् । उनको भनाइमा यहाँ पैसा कम भए पनि नेपालझैं आनन्द र शान्ति छ । राजधानी लिस्बनमा त बुद्ध जयन्तीजस्ता चाडमा प्रभातफेरि गर्ने चलन छ । केहीले विभिन्न पूजा कार्यक्रम राखी पञ्चे बाजा बजाउँदै सडकमै नाचगान गरेको पनि देखिन्छ ।

बदलिने कामदार र बिग्रँदो छवि

गाउँको काम छोडेर केही समय अन्य देश र शहरमा बसेपछि हामी फेरि पुरानै ठाउँ फर्कियौं, कोरोना कहरका कारण । उही ठाउँ अर्थात् साओँ तेओतेनियो नजिकै बोआभिस्ता दोस पिन्हेरोस । करिब दुई बर्षमा नेपालीको संख्या करिब दोब्बर जति र भारतीयको संख्या तेब्बर जति बढेको रहेछ । दुई बर्षअघि चिनजान भएका र सँगै काम गरेका साथीहरु भने कोही थिएनन् । उनीहरु यहाँको पीआर र पासपोर्ट लिएर बेलायत या अन्य मुलुक छिरिसकेका थिए ।

यहाँ आफू बसेको घर छोड्ने बेला आफ्नै देशका मान्छे भित्र्याएर जाने गरिन्छ । सीमित घर र बढ्दो आप्रवासी संख्याबीच तालमेल मिलेको छैन । मेरा पूर्व सहकर्मी जोजे भेन्तुराले एक दिन कफी गफमा हाँस्दै भने, ‘तीन कोठा भएको एउटा घरमा पच्चीस जना भारतीय बसेका छन् । हामीलाई अनौठो लाग्छ ।’

उनलाई अनौठो लागेको भारतीय र बंगालीका केही व्यवहार हामीलाई सुनाए । पहिला बंगालीलाई दिएको उनको घरमा अहिले नेपाली राखेका रहेछन् ।

हरेक कामदार यो देशमा औसतमा आठ बर्ष बस्छन्– टीआर बनाउन दुई बर्ष, पीआर आवेदन दिन त्यसको पाँच बर्ष र हात पर्न थप एक बर्ष । केही ६ बर्ष पनि नपुग्दै निस्किन्छन् भने केहीलाई डेढ दशक पनि लाग्ने गरेको छ । डेढ दशकदेखि आप्रवासीको कागजातसम्बन्धी काम गरिरहेकी अधिवक्ता आना इजाबेल बर्नान्डी भन्छिन्, ‘यहाँको कार्ड अधिकार हैन, सुविधा हो । बिना कारण पनि कसैकसैको बढी समय लाग्न सक्छ, यो स्वाभाविक हो ।’

अन्य युरोपेली भन्दा निकै कम मात्र रंगभेदका कुरा सुनिने यो देशमा कामदारलाई स्थानीय जनताले माया गरेको देखिन्छ । विगतमा घरबेटीले घरभाडा माफ गर्ने मात्र नभएर टिकटसमेत काटेर अर्को शहरमा पठाइदिएको नेपालीका बिषयमा यो पंक्तिकारले एउटा लेख लेखेको थियो ।

एक युरो भन्दा कममा पाइने कडा बियर या वाइनका कारण अहिले गाउँगाउँमा ग्याङ्गफाइट, छुरा हानाहान जस्ता घटना पनि बढेका छन् । नेपाली–नेपाली वा नेपाली र भारतीयबीच पटक–पटक भिडन्त भइसकेका छन् । यस्ता काण्डले समग्र नेपालीको प्रतिष्ठा र सहजतामा असर पार्न थालेको देखिन्छ ।

२०१६ मा साओँ तोअतेनियो नजिकैको जंगलमा पञ्जाबी चालकले रक्सी खाएर कार चलाउँदा दुई नेपाली र एक भारतीयको मृत्यु भएको थियो । मापसे गरेको आशंकामा प्रहरीले पछ्याएपछि तेज गतिमा भाग्दा दुर्घटना भएको थियो । यस्ता घटना बढ्न थालेपछि चेकजाँचमा मात्र नभएर लाइसेन्स वितरणमै कडाइ गर्न थालिएको छ । स्थानीयको दृष्टिकोण पनि फेरिन थालेको छ । चोर बाटोबाट ड्राइभिङ लाइसेन्स लिने प्रयास गरेका कारण अहिले नेपालीलाई निकै कडाइ गरिएको छ ।

कोरोना आउनुभन्दा केही अगाडिदेखि पोर्चुगलको कागजातका आधारमा बेलायत बस्न थालेका लेखक श्रीभक्त खनालले पोर्चुगलको करिब एकदशक लामो अनुभव सुनाए, ‘आप्रवासीलाई हृदयदेखि स्वागत गर्ने देश पोर्चुगललाई आप्रवासीले बहुसांस्कृतिक समाज दिएका छन् । यो विविधतालाई पोर्चुगलले खुसीसाथ सदुपयोग गरेको छ । यस्तो देश संसारमै दुर्लभ छ ।’

हो पनि । २०१८ जुलाइमा आप्रवासीसम्बन्धी काम गर्ने एक सरकारी अधिकारीले फारो जिल्लामा आयोजित अन्तर्क्रियामा भनेका थिए, ‘संसारमा मान्छे नै गैरकानुनी भन्ने हुँदैन । कसैसँग कागजात छैन भने हामी काम गरेर कागजात बनाउने मौका दिन्छौं । इमान्दार सबैले यहाँ कागज पाउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment