Comments Add Comment

गाउँका कमरेडहरुलाई !

अचेल टोलटोलमा, बस्तीबस्तीमा, शहरमा, सञ्चारमाध्यम, सामाजिक सञ्जालमा अनि चिया पसलमा कमरेडहरुको चर्चा छ । एकीकरणका बेलादेखिकै बिवाद बल्झदै फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुस ५ गतेको असंबैधानिक कदमपछि खुलेआम दुई कित्तामा बाँडिएको छ– एक सरकारवादी नेकपा, एक सडकवादी नेकपा ।

दुवै नेकपाहरु गाउँगाउँ–बस्तीबस्तीसम्म पुगेका छन् । गाउँमा एक हुल आउँछ, केही मान्छे जम्मा गर्छ, सरकारवादी गुटलाई गाली गर्छ, फर्किन्छ । अनि अर्को हुल आउँछ, केही मान्छे जम्मा गर्छ, सडकवादी गुटलाई गाली गर्छ, जान्छ ।

यिनीहरुका भाषण न त्यहाँ सहभागी गराइएका सर्वसाधारणले बुझ्छन्, न उनीहरुलाई बुझाउन सक्ने हैसियत छ तिनीहरुको । आफैं पनि पूर्णरुपमा ‘कन्भिन्स’ छैनन् भाषण गर्नेहरु ।

सरकारीवादी गुट सही हो वा सडकवादी गुट सही हो भन्ने छुट्याउन नसकेकाहरु पनि पदको लोभमा, नेताहरुले कृपा गरिदिएको जस तिर्न, जागिरको लोभमा, योजनाको लोभमा झुण्डिएका छन् ।

बिहान सञ्चार माध्यममा गुटका मालिकहरुले जे बोले, दिउँसो भाषणमा त्यत्ति बोल्ने र फर्कने गर्छन् । गुटको र व्यक्तिको चाकरीले उनीहरुलाई विचारशुन्य बनाइदिएको छ ।

जे भए पनि, दुवै गुटले गाउँका साक्षर बेरोजगारहरुलाई ‘बिजनेस’ दिएको छ । आज कसले के बोल्यो, को–को मान्छे सहभागी थिए, कमिटीमा को–को परे, को–को छुटे, यस्तायस्तै बहस छन् अचेल गाउँमा । ‘ए उ ! उ त फलानो गुटमा गएछन् नि । उसले त फेरि गुट फेरेछ नि ।’ यस्तायस्तै बहस छन् अचेल ।

हुन त कमरेडहरु मात्रै होइन, कांग्रेसहरु पनि पसेका छन् गाउँमा । फरक के छ भने कमरेडहरुले एक गुटलाई मात्रै गाली गर्दैछन्, कांग्रेसहरुले समग्र कम्युनिष्टहरुलाई गर्छन् । कम्युनिष्ट आन्दोलनलाई निकम्मा सावित गर्ने प्रयास गर्दैछन् कांग्रेसहरुले ।

इतिहास जे भए पनि पछिल्लो राजनीतिक घटनाक्रमले “कम्युनिष्ट आन्दोलन साँच्चै निकम्मा नै भएको हो त ?” भन्ने प्रश्न उब्जाएकै हो । कांग्रेसका लागि केपी ओलीको यो असंबैधानिक कदम लाज ढाक्ने टालो बनेको छ । कांग्रेसले बिगतमा गरेका यस्तायस्तै र अन्य पनि गल्तीहरु ढाक्ने अच्छा मौका पाएको छ । तर, विचरा कम्युनिष्टहरु औपचारिक कित्ताकाट नहुँदै घेरबार गर्न थालेका छन् ।

खैर, कांग्रेसहरुले के गर्दैछन् भन्ने परवाह त पटक्कै छैन् कमरेडहरुमा । अर्को गुटले के गर्दैछ भन्ने ठूलो चिन्ता छ । पार्टी संगठनको काममा कुनै पनि दिन नहिँडेकाहरु पनि अचेल सक्रिय भएका छन् । भलै उनीहरुको ‘बार्गेनिङ्ग’ अझै टुंगिएको छैन होला । त्यसैले साँझ एक गुटको, भोली बिहान अर्कै गुटको भएर आउँदैछन् । तर, दिनभरि भने उनीहरु एउटा गुटको बफादार नै हुन्छन् ।

उनीहरुलाई आफ्नो गुटभन्दा बिरोधी गुट बलियो नहोस् भन्ने मात्रै चिन्ता छ । गुटकै चिन्ताका कारण लामो समयदेखि सँगै आन्दोलन गरेका, संगठन निर्माण गरेका कति कमरेडहरु त कांग्रेसले टिपेर लगिसक्यो, त्यसमा कुनै चिन्ता छैन, गुटभक्त कमरेडहरुलाई । ‘बरु कांग्रेस होस्, तर अर्को गुटमा नजावस्’ भन्ने चिन्ता छ उनीहरुमा ।

सायद गुटका मालिकहरुको स्कुलिङ्ग यस्तै छ । लामो समयदेखिको ईमानदार कार्यकर्ता आज किन अर्को पार्टीमा जाँदैछ भन्ने चिन्ता भन्दा पनि कार्यकर्ता किन अर्को गुटमा जाँदैछ भन्ने पो चिन्ता छ त । अनि अहिलेसम्म फलानो किन खुलेन भन्ने पो चर्चा छ त ।

यस्तो चिन्ता किन हो कमरेड ! जति चिन्ता गरे पनि अबको निर्वाचनमा दुबै गुट पत्तासाप नै हुने हो । दुबै गुटको मिलाएर पनि अहिलेको कांग्रेसको हैसियत पुग्छ कि पुग्दैन थाह छैन । त्यसैले फलानो गुट बलियो हुन्छ कि भन्ने चिन्ता पूर्णरुपमा त्यागेकै राम्रो हो । फलानो कार्यकर्ता त्यो गुटमा गई पो हाल्छ कि भन्ने चिन्ता पनि त्यागे हुन्छ, जो जहाँ गए पनि फरक खासै पर्दैन ।

गुटका कारण लामो समयदेखिको सम्वन्ध तोड्न नखोज्नुहोस् । सम्वन्धमा चिसो पस्ने गरि शव्दबाण प्रहार नगर्नुहोस् । बरु भेट हुँदा नमस्कार भन्न मिल्ने, बिरामी पर्दा सन्चो–बिसन्चो सोध्न मिल्ने, परिवारमा बिपत्ति पर्दा समवेदना दिन मिल्ने, खुशी क्षणमा बधाई दिन मिल्ने ठाउँ राखौं । आग्रह–पूर्वाग्रहबाट ओतप्रोत भएर किन व्यर्थमा लागिरहनु कमरेड ?

केपी ओलीलाई नराम्रो भनेकै कारण पल्लाघरको दाइ अपराधी हुने होइन, प्रचण्डलाई गाली गरेकै कारण काका शत्रु भइहाल्ने होइन । न तपाईहरुले सराप्दैमा केपी वा प्रचण्डको केही बिग्रिने छ । केपी ओलीलाई वा प्रचण्डलाई तपाईले ‘नमस्ते’ भन्न, उनीहरुको अनुहार हेर्न पनि लाइन बस्नु पर्छ । तर, काकालाई ढोक्न तपाईले कसैको अनुमति लिन पर्दैन । पल्लाघरे दाइसँग साँझ बिहानैको भेट हुन्छ । दाइ सधैं दाइ नै रहन्छन् । काका सधैं काका नै रहन्छन् ।

हिजो संगठन निर्माण गर्न तपाईको गाउँमा न केपी ओली आएका हुन्, न प्रचण्ड । तपाईको गाउँको संगठन तपाईहरु आफैंले मिलेर निर्माण गर्नुभएको हो । पुस ५ गते उता तपाईहरु एकअर्काका ‘कमरेड’ नै हुनुहुन्थ्यो । आज पनि कमरेड नै हुन सिक्नुहोस् ।

केपी ओलीको स्वार्थ पूरा गरिदिनका लागि वा प्रचण्डको स्वार्थ पूरा गरिदिनका लागि तपाईहरु आपसमा नलड्नुहोस् । राम्रोसँग अध्ययन गर्नुहोस्, यो लडाइँ राष्ट्र निर्माणको हुँदै होइन, यो लडाइँ राष्ट्रवादी वा राष्ट्रघातीबीचको हुँदै होइन । यो स्वार्थीहरुको लडाइँ हो, बस् ।

नेपालको दलीय राजनीतिको इतिहास, त्यसमा पनि कम्युनिष्ट भन्ने दलहरुको इतिहास हेर्दा कुन कतिबेला फुट्छ, कुन कतिबेला जुट्छ, कार्यकर्ताहरुलाई थाहै हुँदैन । आज एकोहोरो रुपमा ओलीको धज्जी उडाउनेहरुले भोलि फेरि तिनै ओलीलाई र प्रचण्डको खोइरो खन्नेहरुले भोलि फेरि तिनै प्रचण्डलाई सलाम ठोक्नु पर्ने, फूलमालाले स्वागत गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । किनकी पार्टी एकीकरण वा विभाजन न कार्यकर्ताको चाहानाले हुन्छ, न कार्यकर्ताको सल्लाहमा हुन्छ । यो उहिलेदेखिकै चलन हो, कम्युनिष्टमा पनि र अन्य दलहरुमा पनि । नेताहरुले हात मिलाए भने पार्टी मिल्यो, नेताहरुले औंला उठाए भने पार्टी फुट्यो ।

त्यसैले राजनीतिलाई थप दुर्गन्धित नवनाऔं । नेताहरुको जुंगाको लडाइका साक्षी बन्नुपर्ने, नेताहरुका कारण आफ्ना हितैषीलाई अपमानित गर्नुपर्ने, हिजो संगै हुँदा भएका मित्रवत् व्यवहारहरुलाई शत्रुतामा परिणत गरिहाल्नुपर्ने कुनै कारण छैन ।

चिन्ता गर्नु पर्ने छ भने कसरी सामाजिक सदभाव, व्यक्तिगत सम्वन्ध बरकरार राख्ने भन्ने विषयमा चिन्ता गरौं । कुन गुट ठूलो भयो, कुन गुटले बढी गाली गर्न सक्यो, कुन गुटको भेलामा को व्यक्ति गयो भन्ने कुराको चिन्ता लिन थाल्नुभयो भने यसले अरुलाई भन्दा आफैंलाई बढी घाटा हुन सक्छ । बेलैमा बुद्धि पुर्‍याऔं, अरुको खोइरो खन्नुभन्दा आफ्नो हैसियतको ख्याल गरौंं ।

तपाईले सार्वजनिकरुपमा व्यक्त गरेका विचारहरु, सामाजिक सञ्जालमा पोष्याएका सामग्रीहरु तपाईको तपाईका आमाबुवा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी र आफन्तहरुले पनि हेरिरहेका/सुनिरहेका हुन सक्छन् । उनीहरुले तपाईका अभिव्यक्तिबाट तपाईप्रतिको धारणा विकास गरेछन् भने के होला भन्ने पनि चिन्ता गरौं कमरेड !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment