Comments Add Comment

कांग्रेसमा विवाद : प्रदेशमा ओलीको पक्षमा उभिने कि विपक्षमा ?

पौडेललाई देउवाले भने : सरकारबारे प्रदेशलाई नै निर्णय गर्न दिऊँ

६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटसँगै प्रदेश १ का मुख्यमत्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल आफ्नै पार्टीको अर्को समूहले ल्याएको अविश्वासको प्रस्ताव सामना गर्दैछन् ।

दुवै प्रदेशमा भोलिदेखि प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुनेछ र केही दिनमै अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । तर, दुवै प्रदेशमा ओली र प्रचण्ड –माधव दुवै समूहसँग बहुमत छैन ।

प्रमुख विपक्षी नेपाली कांग्रेस जहाँ उभिन्छ, त्यहीँ बहुमत पुग्ने अवस्था छ । मंगलबार साँझसम्म कांग्रेसले यसबारे कुनै निर्णय लिन सकेको छैन । प्रदेश १ मा बसेको कांग्रेस संसदीय दलको बैठक पनि केन्द्रको निर्णय कुर्दै विनानिश्कर्ष टुंगिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमै पुगेर प्रदेश सरकारबारे प्रदेशलाई नै निर्णय गर्न दिने प्रस्ताव राखेका छन् । ‘उहाँले प्रदेशलाई नै जिम्मा दिउँ भन्नुभएको थियो’ वरिष्ठ नेता पौडेलले अनलाइनखबरसँग भने, ‘मैले त्यसरी हुँदैन । ७ प्रदेशमा ७ थरी निर्णय होला, केन्द्रले एउटा गाइडलाइन दिनुपर्छ, यसका लागि बैठक गरौं भनेको छु ।’

वरिष्ठ नेता पौडेल समूहका नेताहरु प्रदेशलाई नै निर्णय गर्न दिने देउवाको प्रस्तावमाथि शंका गर्छन् । ‘प्रदेशमै निर्णय गर्न दिने नाममा नेकपा फुटेकै छैन, त्यसैले अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुने दिन अनुपस्थित भएर ओलीलाई सघाउ पुर्‍याउन खोज्नुभएको हो कि भन्ने हाम्रो आशंका छ’ एक नेताले भने ।

देउवा निकट एक नेताले पनि प्रदेश १ मा शेरधन राईलाई सघाउन खोजेको पुष्टि गरे ।

तर, विरष्ठ नेता पौडेलका साथै पूर्वका कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, शेखर कोइराला लगायतका नेताहरु पनि त्यसमा सहमत छैनन् ।

नेता रिजाल अविश्वासको पक्षमा पक्षमा उभिनु विपक्षीको धर्म भएको मान्छन् । उनले भने, ‘जसले अविश्वासको प्रस्ताव ल्याए पनि हामी त्यसको पक्षमा हुन्छौं । अविश्वासको प्रस्तावको विपक्षमा उभिन त हामी सरकारमा हुनुपर्छ ।’

प्रदेश १ का जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद र केन्द्रीय सदस्यहरूले पनि ओली समूहलाई समर्थन गर्ने गरी प्रदेशमा गठबन्धन गर्न नहुने धारणा राखेका छन् ।

बागमती प्रदेशका केन्द्रीय सदस्यहरु र बहुमत प्रदेशसभा सदस्यहरू पनि ओलीलाई सघाउ पुग्ने गरी प्रदेशमा गठबन्धन गर्ने पक्षमा छैनन् ।

मंगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक एक–एक स्थगित भएपछि दुवै प्रदेशका केन्द्रीय सदस्यले आफूहरुसँग छलफल गरेर मात्र प्रदेश सरकारबारे निर्णय गर्न पार्टी सभापतिलाई दबाव दिएका छन् । त्यही कारण प्रदेश १ का केन्द्रीय सदस्यहरुको बैठक भोलि (बुधबार) बिहान ९ बजे बोलाइएको छ ।

बागमती प्रदेशका केन्द्रीय सदस्यहरुको बैठक पनि बस्ने तयारी छ । समय भने तय भइनसकेको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment