Comments Add Comment

क्रेडिट कार्ड पाएर किसान दंग !

७ माघ, काठमाडौं । अर्जुन अर्याल बुधबार विहान किसान क्रेडिट कार्ड पाएपछि दंग थिए ।  उनी विगत ६ वर्षदेखि काठमाडौंको तारकेश्वरमा ग्रामीण पोल्ट्री एण्ड ब्रेडिङ फार्म सञ्चालन गरिरहेका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश पुगेका अर्जुन लामो समय विदेशमै बसे । ७ वर्षको बेलायत बसाइँपछि उनी स्वदेश फर्किएका थिए ।

विदेशमा बगाउने पसिना भन्दा उनले स्वदेशमै मेहनत गर्नु फाइदा देखे । त्यसपछि स्वदेशमै उनी कृषि उद्यममा रमाएका छन् । अहिले पनि उद्यम राम्रै चलिरहेको उनी सुनाउँछन् ।

बैंकबाट लिएको ऋण पनि नियमित तिरिरहेका उनलाई एक दिन बैंकले किसान क्रेडिट कार्डको अफर गर्‍यो । बुधबार ५४ औँ वार्षिकोत्सवको अवसर पारेर कृषि विकास बैंकले उनलाई क्रेडिट कार्ड दिएको छ । व्यवसायलाई राम्रो बुझेका युवा अर्जुन कृषि विकास बैंकले दिएको कार्डले अन्यलाई उद्यम गर्न हौसला मिल्ने बताउँछन् । यसले कृषि उद्यम स्मार्ट हुने उनले प्रतिक्रिया दिए ।

किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ ।

कृषि कर्म गर्नका लागि देशभरका कृषि विकास बैंकका कुनै पनि शाखाबाट ऋण लिएपछि कृषकले बैंकबाट किसान क्रेडिट कार्ड पाउँछन् । किसान क्रेडिट कार्ड हाल सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुनेछ ।

एटीएम र भिसा कार्ड चिप्समा चल्छन् भने किसान क्रेडिट कार्ड क्यूआर कोडमा आधारित हुन्छ । यो एटीएम बुथमा भने चल्दैन । मल बीउका पसलमा रहेका मर्चेन्ट मेसिनमा स्वाप गरेपछि क्रेडिट कार्डबाटै रकम काटिन्छ ।

बुधबार विशेष कार्यक्रमको अवसर पारेर बैंकले करिब २ दर्जन किसानहरुलाई किसान क्रेडिट कार्ड दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको तर्फबाट कार्ड किसानहरुलाई हस्तान्तरण गरे ।

जोरपाटीमा रहेको चिरायु पशुपालन तथा कृषि फार्मका सञ्चालक तिलकमान तामाङ पनि हातमा क्रेडिट कार्ड बोकेर मुसुक्क मुस्कुराए । कृषि पेशा अलि ‘दुखिया’ पेशा भनेर धेरैले मन पराउँदैनन् । सबैले जागिर नै रोज्ने र व्यवसाय रोज्नु परे पनि कृषि कमैले रोज्ने तामाङ सुनाउँछन् । सरकारले किसानका धेरै कामहरु गर्छु भनेर पनि गर्न सकेको छैन । तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश कार्यक्रम लागू भएको छ ।

क्रेडिट कार्डको विषय सुरुमा उनलाई जानकारी थिएन । पछि यसको महत्व बुझेपछि निकै खुसी लागेको उनले बताए । अब थोरै पैसा नहुँदा मल, बिउ तथा गाईबाख्रालाई खुवाउने चोकर किन्नबाट बञ्चित हुनुपर्ने अवस्था हटेको भन्दै उनले खुसी व्यक्त गरे । यसले फार्म सञ्चालनमा आफूलाई थप हौसला मिलेको उनले बताए ।

जोरपाटीकै यज्ञबहादुर बराल पनि दंग छन् । चम्पादेबी कृषि तथा पशुपालन ७ वर्ष अघिदेखि उनले सञ्चालन गरिरहेका छन् । कार्ड पाएपछि निकै खुसी लागेको उनको प्रतिक्रिया छ । ‘भनेको बेला पैसा हुँदैन, फार्म सञ्चालन गरेपछि बिउबिजन चाहिन्छ, पशुलाई खानेकुरा चाहिन्छ,’ उनी भन्छन्, ‘कहिले काहीँ थोरै पैसा नहुँदा त निकै तनाब हुन्थ्यो, अब भन त्यो नहुनेमा ढुक्क छु ।’

अर्याल, तामाङ र बराल केवल प्रतिनिधि पात्रमात्रै हुन् । बुधबार वर्षा पोल्ट्री फार्म एण्ड सप्लायर्स, राधेश्याम पोल्ट्री फार्म, पुडासैनी गाई फार्म, चम्पादेवी कृषि तथा पशुपन्क्षी फार्म, मझिन्द्र एग्रो, भुवनेश्वर डेरी, न्यू सिद्धिविनायक नर्सरी, सफल कृषि फार्म लगायतका आधा दर्जन फार्म सञ्चालकहरुले किसान कार्ड पाएका छन् । अब सानो रकम अभावमा मल, बिउबिजन खरिद गर्न समस्या नपर्ने भएकाले उनीहरु सबै खुसी छन् ।

लक्षित वर्गसम्म कसरी पुर्याउने ?

अहिले किसान क्रेडिट कार्ड पाउने सबै काठमाडौं उपत्यकाका किसानहरु हुन् । यसको पहुँच अब गाउँ-गाउँका किसानहरुसम्म चाहिँ कसरी पुग्छ ? अहिलेको मुख्य चुनौती यही हो ।

अर्थमन्त्री विष्णु पौडेलले पनि अब यसलाई लक्षित वर्गहरुसम्म चाँडै पुर्‍याउनु पर्ने बताए । यो सुरुवातमात्रै भएको र गाउँ-गाउँका किसानहरुसम्म पुग्न सके यसको उपलब्धि हासिल हुने अर्थमन्त्री पौडेलेको भनाइ छ ।

अर्कोतर्फ प्रविधिमा धेरै किसानहरु अभ्यस्त भइसकेका छैनन् । प्रविधिबारे चेतना नहुँदा पनि धेरै किसानहरुले यसको उपयोग गर्न नपाउलान् कि भन्ने चिन्ता अर्थमन्त्री पौडेलले बताए ।

‘अहिले त सुरुवात मात्रै भएको छ, यो त लक्षित वर्गमा पुग्नु पर्‍यो, प्रविधिबारे चेतना पनि पुग्न जरुरी छ,’ अर्थमन्त्री पौडेलले भने, ‘मलाई विश्वास छ यो चाँडै नै सबै लक्षित वर्गसम्म पुग्नेछ ।’ आफूसँग भएको सीप र ज्ञानलाई प्रविधिको प्रयोगबाट कम खर्चिलो र चाँडो बनाउन पनि अर्थमन्त्री पौडेलले सुझाव दिए ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनको बैंक बनाइने उनले बताए । यसलाई चाँडै नै गाउँगाउँका किसानसम्म पुर्‍याउन बैंकले काम गरिरहेको उनले बताए ।

बुधबार नै किसान एप पनि उद्घाटन गरिएको छ । सीईओ उपाध्यायका अनुसार किसान क्रेडिट कार्ड र किसान एप एक-अर्कामा अन्तरसम्बन्धित हुन्छन् ।

२४ अर्बको दरखास्त आह्वान

बैंकले यस वर्ष २४ अर्ब रुपैयाँको कृषि बण्ड (ऋणपत्र) निष्कासन गर्दैछ । यसका लागि बैंकले २६ वटा क वर्गका बैंक र एउटा पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान समेत बुधबारबाटै गरेको छ ।

पहिलो चरणमा बैंकले ६ अर्बको कृषि बण्ड जारी गर्ने जनाएको छ । कृषि क्षेत्रको नेतृत्व गर्ने गरी बैंकले काम गरिरहेको बैंकका सीईओ उपाध्याय बताउँछन् । चालु आर्थिक वर्षको मौद्रिकि नीतिमा नै कृषि क्षेत्रलाई अझ उत्साहित पार्ने व्यवस्थाहरु गरिएका छन् ।

कृषि क्षेत्रमा थप वित्तीय साधन परिचालन गर्न कृषि ऋणपत्र जारी गर्नेदेखि किसान क्रेडिट कार्डसम्मको व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । यसका लागि कृषि विकास बैंकलाई नेतृत्व तोकेको थियो ।

मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये तीन वटामा सरकारको लगानी छ । कृषिलाई प्राथमिकता दिँदै आएकाले कृषि विकास बैंक राष्ट्र बैंकको नजरमा परेको हो । २७ वाणिज्य बैंकमध्ये कृषि क्षेत्रमा सबभन्दा बढी लगानी गर्ने यही बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment