Comments Add Comment

वीरगञ्जको मुख्य सडक कालोपत्रे हुँदै

७ माघ, वीरगञ्ज । वीरगञ्जको घण्टाघरदेखि पावरहाउससम्म मुख्य सडकको पश्चिमतर्फको भाग कालोपत्रे गरिने भएको छ । सडकको १.८ किलोमिटर खण्ड जीर्ण अवस्थामा पुगेपछि वीरगञ्ज महानगरपालिकाले कालोपत्रे गर्न लागेको हो ।

२ करोड ३ लाख रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का सिद्धबाबा समा जेभी कन्स्ट्रक्सन पाएको छ । सडक मर्मत सम्भार तथा कालोपत्रेको काम ४५ दिनभित्र सक्नुपर्ने गरी निर्माण कम्पनी र महानगरपालिकाबीच सम्झौता भएको छ । निर्माण कम्पनीले गत शुक्रबारदेखि नै काम सुरु गरिसकेको छ । उसले पुरानो पिच उप्काइसकेको छ ।

सडकको खाल्डाखुल्डी पुर्नका लागि मात्रै महानगरपालिकाले वर्षेनी लाखौं खर्च गर्दै आइरहेको थियो । गतवर्ष मात्रै घण्टाघरदेखि पावरहाउसम्मको सडक मर्मतमा १५ लाख खर्च भएको महानगरपालिकाले जनाएको छ । २०७५ सालको वैशाखमा सडक विभगले पनि सडक टालेको थियो ।

घण्टाघरदेखि पावरहाउसम्मको सडक डिभाइडरको पूर्व तर्फ सडक विभागले र पश्चिम तर्फ वीरगञ्ज महानगरपालिकाले कालोपत्रे गरेको स्थानीय बताउँछन् । पश्चिमतर्फको भाग पनि दुई चरणमा कालोपत्रे गरिएको थियो । वि.स. २०५२ सालमा घण्टाघरदेखि भारतीय महावाणिज्य दूतावासको कार्यालयसम्म र त्यसको तीन वर्षपछि दूतावासदेखि पावरहाउसम्म कालोपत्रे गरिएको महानगरपालिकाले जनाएको छ ।

प्राविधिकहरुका अनुसार कालोपत्रे कस्तो खालको गरिएको त्यस अनुसार आयु फरक हुने गरेपनि सामान्यतः एक पटक कालोपत्रे गरिसकेपछि २० वर्षसम्म सामान्य मर्मत गरेर सडक प्रयोग गर्न सक्ने हुन्छ । त्यसपछि भने कालोपत्रे नै गर्नुपर्ने हुन्छ । गतवर्ष मात्रै खाल्डाखुल्डी टालेको भएपनि कालोपत्रे भत्किएर सडकमा खाल्डाखुल्डी बनिसकेको थियो ।

वीरगञ्ज महानगरपालिका प्राविधिक महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले बेस नै खराब भएकोले उप्काएर पिच गर्नुपर्ने अवस्था आएको बताए । ‘ घण्टाघरदेखि पावरहाउसको पश्चिमतर्फको सडक खण्डको बेस नै खराब भइसकेको थियो । बेस खराब भइसकेपछि जति मर्मत गरेपनि टिक्दैन,’ उनले भने, ‘ त्यसैले पुरानो पीच भत्काएर नयाँ बेस राखेर पीच गर्न लागिएको हो । निरन्तर अनुगमनमा रहेकोले कामको गुणस्तरमा कुनै कमी हुन दिने छैनौं ।’

वीरगञ्जको मुख्य सडकलाई लिएर सडक विभाग र महानगरपलिकाबीच द्वन्द चल्दै आएको छ । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत पर्ने भएकोले वीरगञ्जको मुख्य सडक विभाग अन्तर्गत पर्छ । सडक विस्तारका लागि पटक पटक सूचना निकाल्दा पनि बाधा उत्पन्न भएपछि विभागले वीरगञ्जमा बजेट खर्च गर्न प्राथमिकता दिएको छैन । वीरगञ्जको पावरहाउसदेखि घण्टाघर र रजतजयन्ती चोकदेखि मितेरीपुलसम्मको सडक जीर्ण छ । सडक विस्तारपछि एउटै ठेक्कामा सबै काम गर्ने मनशायले विभागले टुक्रे योजना दिएको छैन ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सडक विभागले मर्मतका लागि चासो नदिएकोले महानगरकै खर्चमा कालोपत्रे गर्न लागिएको बताए ।

‘मुख्य सडक जीर्ण भएर नगरबासीले सास्ती पाउँदै आएका थिए, सम्बन्धित निकायलाई मर्मतका लागि आग्रह गर्दा सँधै आश्वासन मात्रै पायौं, काम भएन ।’ उनले भने ‘ महानगरपालिकाले आफ्नै खर्चमा मर्मत गर्न लागेको छ ।’

संघ सरकारको वेवास्ताका कारण रजतजयन्ती चोकदेखि मितेरीपुलसम्मको सडकको दुराअवस्था रहेको उनले बताए । ‘यो सडक मर्मतको जिम्मा नेपाल सरकारको हो, उताबाट बजेट आएको भए महानगरपालिकाको बजेटलाई अन्यत्र लगाउन सकिन्थ्यो,’ सरावगीले भने, ‘ जनताको दुःख कति दिन टुलुटुलु हेरेर बस्ने भनेर घण्टाघरदेखि पावरहाउससम्मको एकतर्फको भाग कालोपत्रे नै गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment