Comments Add Comment

अत्याधिक चिसो बढेपछि विद्यालय बन्द

७ माघ, वीरगञ्ज । चिसो अत्याधिक बढेपछि पर्सा र बाराका विभिन्न पालिकाहरुले विद्यालय बन्द गरेका छन् । बाराको कलैया उपमहानगरपालिका र पर्साको पर्सागढी नगरपालिकाले विद्यालय बन्द गरेका हुन् । वीरगञ्ज महानगरपालिकाका विद्यालय भने आजबाट खुलेका छन् ।

चिसोबाट बालबालिकालाई जोगाउनका लागि आवश्यक स्रोत साधन विद्यालयमा नहुने भएकोले विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

पर्सागढी नगरपालिकाका विद्यालय बुधबारदेखि नै बन्द भइसकेका छन् । पर्सागढी नगरपालिको शिक्षा शाखाले मंगलबार नै विज्ञप्ति जारी गरेर तीन दिनका लागि विद्यालय बन्द गरेको थियो । पर्सागढीका विद्यालयहरु पनि शुक्रबारसम्म बन्द रहनेछन् ।

चिसोले पठन पाठन नै प्रभावित बनेको र बालबालिकोको स्वास्थ्यमा समेत असर पर्ने देखिएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख प्रदीपकुमार चौरसियाले जानकारी दिए । सामुदायिक विद्यालय ३० वटा र संस्थागत ७ वटा विद्यालय छन् ।

बाराको कलैया उपमहानगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ । कलैया उपमहानगरपालिका कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै माघ ८ र ९ गते बन्द गर्ने जनाएको छ ।

नगर शिक्षा समितिको निर्णय अनुसार उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन शुक्रबारसम्म बन्द गरिएको शिक्षा अधिकृत विजय अधिकारीले जानकारी दिए । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले २७ ठाउँमा आगो बालेको छ । सर्वसाधरणलाई चिसोको कहरबाट जोगाउन आगो बालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नजिकका वन कार्यालयबाट दाउरा ल्याएर बाल्न मातहतका कार्यालयहरुलाई निर्देशन दिईएको र सोही अनुसार बुधबार २७ ठाउँमा दाउरा बालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रदेश २ मा चिसोले तीनजनाको मृत्यु

अत्याधिक चिसो बढेपछि पुस यता प्रदेश नं २ मा तीन जनाको मृत्यु भइसकेको छ । बारामा १ जना र सर्लाहीमा दुईजनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नं २ ले जनाएको छ ।

कार्यालयका अनुसार माघ २ गते बाराको देवताल गाउँपालिका ७ बस्ने ६० वर्षीया राधिकादेवि, पुस ५ गते सर्लाहीको हरिपुर्वा नगरपालिका– ३ बस्ने वर्ष ४५ को रोजाही शेख र लालबन्दी नगरपालिका– १ नवलपुर बस्ने ६० वर्षिय नरेश न्यौपानेको चिसोले कठ्याङग्रिएर मृत्यु भएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाँईले सिराहामा आगो ताप्ने क्रममा जलेर दुई जनाको ज्यान गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment