Comments Add Comment

अधिवेशन सुरु भएकै दिन बागमती प्रदेशसभा अनिश्चितकालसम्म स्थगित

७ माघ हेटौंडा । ६ महिनापछि सुरु भएको बागमती प्रदेशको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेशसभाको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिना भन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण बोलाइएको बैठक सुरु भएकै दिन सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिदिए ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्बोधन गरे । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको चर्को विरोध गरिन् भने मुख्यमन्त्री डोरमणि पौडेल केही नरम देखिए ।

पौडेलले संसद विघटनको कुरा सर्वोच्च अदालतले सही र गलत भन्ने बताउँदै सरकार विकास र समृद्धिको अभियानमा हिँड्दा अहिले केही बाधा आइपरेको बताए । ‘सरकार ढलाउने खेल सुरुदेखि नै भएपनि संविधानका कारण रोकिएको हो, पहिले बामगती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरु पनि अहिले फरक ढंगले प्रस्तुत भएका छन्’ उनले भने ।

शाक्यले भनिन् : म संसदीय दलको नेता हुँ

प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले कानूनी रुपमा नेकपा नफुटे पनि अलग भइसकेको बताएकी छिन् । शाक्यले भनिन् ‘नेकपाका लागि मात्रै नभई मुलुककै लागि ओलीको कदम दुर्भाग्यपूर्ण हो ।’

शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको पूर्वअध्यक्ष भएको दाबी गर्दै आफू अहिले बागमती प्रदेश नेकपा संसदीय दलको नेता भएको बताइन् । ‘५ वर्ष सरकार चलाउ भनेर जनताले हामीलाई जिताएको हो । अब फेरि जनतामाझ कसरी मुख देखाउने ? हाम्रो प्रधानमन्त्री केपी ओली त जवाफदेही छैनन् उनलाई जे गरेपनि भइहाल्छ’ उनले भनिन् ।

नेकपा मिलोस् : कांग्रेस

बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस सरकारमा जान आतुर नभएको भन्दै नेकपा मिल्नुपर्ने बताएका छन् । उनले नेकपा एक हुँदा पनि धेरै कुरामा तिक्तता रहेको भन्दै अहिले पनि प्रदेशमा मिलेर जानुपर्ने धारणा राखे ।

कांग्रेसलाई जनताले प्रतिपक्षको भुमिका दिएको भन्दै ५ वर्ष सम्म कांग्रेस प्रतिपक्षमा बस्न तयार भएको बानियाँले बताए । प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल सुरु गरेको बताउँदै नेकपाले जनताको मतलाई अपमान गरेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नेकपा अझै पनि फुट्न नहुने दोहो¥याए ।

नेपाल मजदुर किसान पार्टीका सांसदसुरेन्द्रराज गोसाईले प्रदेश सरकार हराएको छैन है भनेर बल्ल चर्चा सुरु भएका बताए । ‘कोरोना कहरको समयमा हराएको प्रदेश सरकार सातौं आह्वानपछि प्रदेश सरकार हराएको छैन है भनेर शहरमा बल्ल चर्चा सुरु भयो’ उनले भने । नेकपा विभाजन गरेर कठपुतली सरकार गठन गर्न नै यो गञ्जागोलको अवस्था सिर्जना गरिएको उनले दाबी गरे ।

विवेकशील साझाका सांसद रमेश पौड्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अहिले देखिएको विवाद सत्ताका लागि मात्रै भएको बताए । दुबै नेकपा पक्षको लडाई जनताको हितका लागि भन्दा पनि सत्ताका लागि भएको उनको भनाइ थियो ।

राप्रपाका सांसदहरु रिता माझी र रिना गुरुङले संघीयता असफल भइसकेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment