Comments Add Comment

प्रचण्डले कर्मचारीलाई भने– ओलीका साइबर स्यालसँग नडराउनोस्

‘कर्मचारीको रौंमा छिसिक्क छोएर देखाउन चुनौती’

फाइल तस्वीर

९ माघ, काठमाडौं । विभाजित नेकपाका दुवै समूह सडकमा आउँदा त्यसको प्रभाव सरकारी कर्मचारीहरुमा पनि पर्न थालेको छ । शुक्रबार राजधानीमा आयोजित आमसभामा बोल्दै एउटा समूहका अध्यक्ष प्रचण्डले सरकारी कर्मचारीलाई ओली पक्षले धम्क्याइरहेको बताए ।

केपी ओलीको धम्कीबाट नडराउन र आन्दोलनलाई सहयोग गर्न प्रचण्डले कर्मचारीहरुलाई आग्रह गरे । अब चाँडै जनताको सरकार बन्ने भएकाले ओलीको धम्कीबाट नडराउन प्रचण्डले कर्मचारीलाई आग्रह गरे ।

सरकारी कर्मचारीलाई आश्वस्त पार्दै प्रचण्डले कार्यक्रममा यसो भने–

यो प्रदर्शनमा सहभागी हुने पेशाकर्मी, कर्मचारीहरुको रेकर्ड राख्ने रे केपी ओलीका साइबर स्यालहरुले ! साइबर स्यालले रेकर्ड राख्ने रे ! अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनें । खबरदार कर्मचारीहरु को-को जुलुसमा गए, त्यसको रेकर्ड राख्ने रे ! अरु विभिन्न क्षेत्रमा काम गर्ने पेशा व्यवसायीहरुको पनि रेकर्ड राख्ने रे !

म यो मञ्चबाट केपी र उनको निरंकुश गुटलाई चुनौती दिन चाहन्छु– गरेर देखाऊ । एउटालाई छोएर देखाऊ ।

सबै कर्मचारी साथीहरु, हिजो तपाईंहरुले गणतन्त्रको आन्दोलनमा जसरी सडकमा निक्लेर पार्टीहरु र नागरिक समाजलाई साथ दिनुभयो र तपाईंहरु गौरवान्वित हुनुभयो, नडराउनोस् । तपाईंहरुलाई छिसिक्क रौं मात्रै हल्लियो भने पनि त्यसको संरक्षण हामी गर्ने छौं । भोलिको सरकार फेरि पनि जनताको सरकार हो । छिटै जनताको सरकार आउनेवाला छ । त्यो सरकारले कारबाही त केपी ओली र त्यसको निरंकुश गुटलाई गर्ने छ, कर्मचारीलाई, वीरहरुलाई होइन ।

लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको पक्षमा, न्यायको पक्षमा लड्नेलाई कारबाही ? यो चल्ने वाला छैन । कर्मचारी साथीहरु, तपाईंहरु ढुक्क भएर अगाडि बढ्नोस् । हामी हिसाब राख्छौं । केपीले राखेको हिसाब मिल्नेवाला छैन । केपीले राखेको हिसाबको केही अर्थ हुनेवाला छैन । जो निरंकुशताका विरुद्ध लडाइँ लड्छ, महान त्यही हुन्छ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा जो लड्छ, महान त्यही हुन्छ ।

यसैवीच, ओली सरकारले कर्मचारीहरुमाथि निगरानी बढाएको भन्दै प्रचण्ड र माधव नेपालले शुक्रबार एक प्रेस वक्तव्य नै जारी गरेर आपत्ति जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment