Comments Add Comment

‘लोक बहादुर क्षेत्री स्मृती पुरस्कार’ कृष्ण बहादुर गन्धर्वलाई प्रदान

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रमेश बीजीको अध्यक्षतामा काठमाडौंको टोखास्थित गतवर्ष निर्मित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा आयोजना गरिएको थियो ।

साधारणसभाका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कलाकार राष्ट्रको गौरव भएको बताए । उनले आफ्नो नगरपालिकामा प्रतिष्ठानको केन्द्रिय कार्यालय स्थापना हुनुमा गौरव ब्यक्त गर्दै भने, ‘यो हाम्रो सम्पत्ति हो । यसको संरक्षण र सम्बद्र्धन गर्नु हाम्रो दायित्व हो ।’

जग्गा खरिद, भवन निर्माणमा नगरपालिकाले सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए । टोखा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरोत्तम राना, चक्रपथ सरसफाई अभियानका अध्यक्ष तारा वहादुर कुवँर, सञ्चारकर्मी ऋषि धमला लगायतले बोल्दै लोक संगीतलाई राज्यले उचित सम्मान र सहयोग गर्नुपर्ने बताउँदै आफूहरु सधै सहयोगका लागि तत्पर रहेको बताए ।

त्यस्तै, प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, केन्द्रिय सल्लाहकार राजन लम्साल, पूर्व केन्द्रिय महासचिव विष्णु खत्री लगायतले लोकगीत संगीत संरक्षण र संबद्र्धन तथा विसंगतिविरुद्ध कदम चाल्न प्रतिष्ठानलाई आग्रह गरे ।

साधारण सभामा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, सल्लाहकार नारायण रायमाझी, संरक्षक पृथ्वी थकाली, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी लगायतको उपस्थिती थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले कोरोना महामारीले आफ्नो कार्यकालको सुरुवातको पहिलो गाँसमै ढुंगा लागेपनि केही कामहरुको सुरुवात गरेको बताए ।

उनले आफूहरुले लोक संगीत प्रशिक्षण संचालन गरेपनि कोरोनाका कारण बन्द गर्नुपरेको बताए । अब, रोकिएको संगीत प्रशिक्षणलाई निरन्तरता दिने उनले जानकारी दिए । त्यस्तै, लोकबाजा संकलन र संरक्षण गरी निकट भविष्यमा लोकबाजा संग्रहालय स्थापना गर्ने उद्धेश्यका साथ विभिन्न नेपाली मौलिक बाजाहरुको संकलन थालिएको बीजीले बताए ।

बीजीले कलाकारहरु कमाएको समयमा रमाउने, लगाउन तथा खानमा बढी सौखिन हुने तर बचत नगर्दा भविष्यमा आर्थिक समस्या हुने बताउँदै कमाईलाई बचत गर्न प्रतिष्ठानले ‘लोकसंगीत बहुउद्धेश्यीय सहकारी संस्था’ स्थापना गरेको बताए ।

साधारणसभाको अवसरमा प्रतिष्ठानले लोक संगीतमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको थियो । प्रतिष्ठानले हरेक बर्ष नगद १५ हजार सहित प्रदान गर्दै आएको ‘लोक बहादुर क्षेत्री स्मृति पुरस्कार’ यसवर्ष लोकगायक कृष्णबहादुर गन्धर्वलाई प्रदान गर्यो । यस्तै, सञ्चारकर्मी सिताराम बडाललाई ११ हजार नगदसहित ‘लोकसंगीत पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

प्रतिष्ठानले नेपाली लोक संगीतमा विद्यावारदी गरेका डा. राम प्रसाद घिमिरेलाई पनि सम्मान गरेको थियो । त्यस्तै कोरोनाको समयमा प्रतिष्ठानलाई सहयोग पुर्याउने तथा संस्थाका आजीवन सदस्य बनेका कलाकारहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment