Comments Add Comment

माडीमा पुल बनाउन चितवन राष्ट्रिय निकुञ्जले रोक्यो  

११ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडकखण्ड अन्तर्गत माडी क्षेत्रका विभिन्न खोलाहरुमा बनिरहेका पुलको निर्माण कार्य रोक्न पत्र पठाएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न पत्रमार्फत निर्देशन दिएको हो । निकुञ्जले पत्र पठाएपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका छन् ।

भरतपुर–माडी–ठोरी हुलाकी सडक अन्तर्गत माडीका साना ठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीनवटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ भने बाँकी ८ वटा पुलको गरिएको छैन ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी पुल निर्माण थालिएकोले आफूहरुले कानुनी आधार खोजेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । उनका अनुसार माडीका अधिकांश पुल वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बनाएको पाइएकोले कानुनी व्यवस्थाका बारेमा जानकारी माग गरिएको हो । प्रमुख बरालले पटकपटक यसको कानुनी आधार माग गरिए पनि नदिएपछि बाध्य भएर पुलको काम रोक्न भनिएको बताए ।

‘हामीले पटकपटक मौखिक रुपमा भन्यौं, ‘तर उहाँहरुले ईआईए देखाउन सक्नुभएन, निकुञ्जले आफ्नो अधिकार क्षेत्रभित्र कानुनी आधार खोज्नु स्वभाविक हो,’ प्रमुख बरालले भने, ‘विकास नहोस् जनताले दुःख पाउन भन्ने त हाम्रो पनि मनसाय हैन, तर कानुनलाई त मान्नुपर्‍यो नि ।’

उनले कुनै पनि ठूला योजना अघि बढाउँदा त्यसले पार्ने वातावरणीय प्रभाव मूल्यांकन गराउनुपर्ने कानुनी व्यवस्था रहेको बताए । ‘पेलपालको नीतिले भएन, ‘बरालले भने, कानुनी व्यवस्था थिएन भने ११ मध्ये ३ पुलको किन गर्नुभयो ? बाँकीको किन गर्नुभएन ?’

हुलाकी सडक आयोजना वीरगञ्जका योजना प्रमुख दीपन्द्र पाण्डेले सुरुमा काम गर्न दिने अहिले रोक्ने निकुञ्जको काम ठिक नभएको बताए । उनले भने, ‘सुरुमा गर्ने भन्ने थियो, पछि कानुन संसोधन भएर नगरेको भन्ने जानकारी पाएको छु, सरकारी निकायका बीचमा नै समन्वय भएन जस्तो लाग्यो ।’

पुलको काम रोकिएपछि त्यस बारेमा सोमबार निकुञ्ज, माडी नगरपालिका र हुलाकी सडक आयोजनाका बीच छलफल कार्यक्रम राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले निकुञ्जको आफ्नो अधिकार क्षेत्रभित्र ईआईए आवश्यक भएको तर चलनचल्तीको सडकमा नभए पनि हुने व्यवस्था रहेको जानकारी दिए । सडक डिभिजन कार्यालयले माडीको रिउदेखि १५ किलोमिटर सडक कालोपत्रे यसअघि नै सम्पन्न गरिसकेको छन् ।

निकुञ्जले निर्माण व्यवसायीहरुले माडीका विभिन्न खोलाबाट अवैध रुपमा निर्माण सामग्रीहरुको उत्खनन् गरेको आरोपसमेत लगाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले त्यहाँका खोलाबाट आफूखुसी नदीजन्य पदार्थ निकालिएको तर त्यसको जानकारी एवम् राजश्व निकुञ्जलाई नदिइएको बताए । माडीको खोलाहरुबाट निकालिने निर्माण सामाग्रीको राजश्व निकुञ्जलाई बुझाउनुपर्ने नियम छ ।

घुस्यो राजनीति

माडीमा बनिरहेका पुलको काम रोकिएपछि यहाँ राजनीति सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा पर्ने माडीमा केपी ओली सरकारले पुलको काम रोक्न लगाएको आरोप लगाइएको छ ।

नेकपा माडी सम्वद्ध विभिन्न नेताहरुले सामाजिक सञ्जालमा सरकारकै निर्देशनमा पुल रोकिएको आरोप लगाएका छन् । नेकपा विभाजन भएपछि त्यसको मार पुलमाथि परेको कतिपयको बुझाइ छ ।

तर, नेकपा ओली पक्षकी केन्द्रीय सदस्य एवम् राष्ट्रियसभा सांसद पार्वती रावलले संघीय सरकारकै बजेटमा माडीमा पुल र बाटो पिच भएकोले अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको बताइन् । उनले भरतपुरमा विहान आयोजित पत्रकार सम्मेलनमा माडीका रोकिएका पुलको काम पुनः थाल्ने बारेमा छलफल भएको बताइन् । कानुनको पालना नगरी काम गरिएको भए तत्काल सच्चाएर काम अघि बढाउनु पर्ने उनको धारणा छ ।

माडी नगरपालिकाले एक व्यक्ति जारी गरेर समस्या समाधानका लागि सरोकारवाला निकायसँग सम्बाद र छलफल भइरहेको जनाएको छ । नगरपालिकाले यस विषयलाई अतिरञ्जित नगर्न र छलफललाई प्रभाव पार्ने गरी सार्वजनिक धारणा नदिन सबैमा अनुरोध गरेको छ ।

बन्दै गरेका पुलको भविष्यप्रति नै चिन्ता

माडीमा बन्दै गरेका अधिकांश पुलहरुको गुणस्तर माथि नै प्रश्न उठ्न थालेको छ । माडीका ठाडा खोलामा बन्दै गरेका पुलहरुको उचाइ निकै कम भएको र बर्खामा बढ्ने पानीले पुल भत्काउन सक्ने खतरा रहेको स्थानीयहरु बताउँछन् ।

बाढीले बगाएर ल्याएको ढुंगागिट्टी बालुवाले खोला भरिने, निकाल्न निकुञ्जले रोक्ने हुँदा पुल भत्कन सक्ने अवस्था आउन सक्ने भएकोले डिजाइनमा नै गल्ती भएको स्वंय आयोजनाका अधिकारीहरु बताउँछन् ।

हुलाकी सडक आयोजना वीरगञ्जका योजना प्रमुख दीपेन्द्र पाण्डेले केही पुलको डिजाइन नै गलत भएको बताए । उनले भने ‘खोला बढेर आउँदा भविश्यमा पुल नै भत्काउला की भन्ने डर छ, डिजाइन नै गलत भयो की भन्ने छ, पुलको जुन उचाइ हुनुपर्ने थियो सो भएन ।’ यसअघि माडीको रिउ खोलामा बनेको पुलको आधाभन्दा बढी भाग गलत डिजाइनका कारणले खोलाले भत्काएको थियो । पछि नयाँ डिजाइन गरेर रिउमा पुल बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment