Comments Add Comment

अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया अब ‘डिजिटल’ प्रणालीमा

११ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी मंगलबारबाट सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी सकिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।

उक्त प्रणाली सञ्चालनमा आएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार कागज छोडेर डिजिटल युगमा प्रवेश हुने परियोजना कार्यान्वयन इकाइ प्रमुख एवं भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनपछि कागज पत्र र सेवाग्राही स्वयम् उपस्थित भई गरिने अन्तर्राष्ट्रिय व्यापार र पारवहनका सबै कामहरु कम्प्युटर प्रणालीबाट हुने भण्डारीको भनाइ छ ।

भन्सार प्रशासन र अन्तर्राष्ट्रिय व्यापारलाई कागज र भिडभाडरहित बनाउने उद्देश्यसहित सन् २०१३ अघि सारिएको अवधारणाअनुसार सन् २०१९ बाट काम थलिएको र अहिले पहिलो चरणको कार्यान्वयनमा पुगिएको आयोजनाले जनाएको छ ।

‘कागज बोकेर विभिन्न कार्यालयको झ्याल-झ्यालमा पुगेर कर्मचारीलाई नमस्कार गरेर काम गराउने कामका लागि कार्यालय पुग्नुपर्ने सेवाग्राहीको समस्या अन्त्य गर्न उक्त सेवा विकास गरिएको हो,’ परियोजना कार्यान्वनय इकाइ प्रमुख भण्डारीले भने ।

अन्तर्राष्ट्रिय व्यापारमा लाइसेन्स, प्रमिट तथा अन्य सर्टिफिकेटको धेरै माग हुने तीन वटा निकायहरु पशुसेवा विभाग, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत पहलो चरणमा एकद्वार प्रणाली कार्यान्वयनमा आउने आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तरसरकारीसहित निजी तथा अन्य गरी ४० भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने छन् ।

घरमै बसेर सेवाग्राहीले आफ्ना सबै कागज पत्र प्रणालीमा समावेश गरेर प्राप्त गर्ने सेवाले ‘डुइङ बिजनेस कष्ट’ घटाउने भण्डारीले बताए ।

नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत सन् २०१३ जुलाईमा नेपाल सरकार र विश्व बैंकबीच भएको सहयोग समझदारी पछि आयोजनाको काम अघि बढेको थियो । वेब फाउण्टेन दुवईले निर्माण गरेको एकद्वार प्रणालीको सुरक्षा तथा गुणस्तर परीक्षण सकिएको र भन्सार अनलाइन प्रणाली आसिकोडा वर्ल्डसँगको परीक्षण पनि सकिएको छ ।

विद्युतीय भुक्तानीसहितका सबै काम घरमै बसीबसी गर्न सकिन्छ
श्याम प्रसाद भण्डारी, नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन इकाइ प्रमुख

भन्सार प्रशासनसँग संलग्न अन्तर्राष्ट्रिय व्यापार र पारवहनका सेवाग्राहीहरुले आफ्नो कामका लागि अहिले विभिन्न निकायहरु धाउनु पर्छ । आवश्यक कागज पत्र तयार पारेपछि सेवाग्राहीले कागज लिएर कागजको सक्कलसहित छायाप्रति भन्सार, स्वास्थ्य, कृषि, उद्योग, वाणिज्य, खाद्य प्रविधि तथा गुणस्तर, बैंक लगायतका तीन दर्जन बढी कार्यालयमा बुझाउनु पर्छ ।

त्यस्तै बिक्रेताले पनि आयातकर्ताबाट पाएको कागजात सबै सरकारी कार्यालयमा पठाउनु पर्छ । यसरी एउटै कागज बोकेर विभिन्न चहार्दा लाग्ने समय र कार्यालयपिच्छे हुने विलम्ब चिर्न एकद्वार प्रणालीले काम गर्नेछ ।

नेपाल राष्ट्रिय एकद्वार प्रणाली नामक विद्युतीय सफ्टवेरको प्रयोगपछि सबै पक्षले आ-आफ्नो युजरमार्फत घर र कार्यालयमै बसेर डिजिटल माध्यमबाट विद्युतीय भुक्तानीसहितका सबै काम गर्न सक्नेछन् ।

प्रणालीमा सहभागी हुने सरोकारवाला निकायहरुलाई विभागले तीन चरणमा विभाजन गरेको छ । जसअनुसार भन्सार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण, उद्योग, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, पशु सेवा, औषधि व्यवस्था, यातायात व्यवस्था, कन्सुलर सेवा, नेपाल गुणस्तर तथा नापतौल, वन तथा भू्-संरक्षण, पुरातत्व गरी १४ वटा विभाग प्रणालीमा सहभागी हुनेछन् ।

पहिलो चरणमै प्लान्ट क्वारेन्टिन एवम् विषादी व्यवस्थापन केन्द्र , व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल इन्टरमोडल यातायात विकास समिति, नेपाल ट्रान्जिट वायरहाउस कम्पनी, नेपाल राष्ट्र बैंक, महालेखा नियन्त्रक कार्यालय, वाणिज्य बैंकहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स पनि प्रणालीमा जोडिने छन् ।

दोस्रो चरणमा व्यापार र पारवहनसँग सम्बन्धित सरोकारवालाहरु निकायहरु प्रणालीमा आबद्ध हुनेछन् । यो चरणमा रक्षा, सञ्चार तथा सूचना प्रविधि, स्वास्थ तथा जनसंख्या मन्त्रालय, भूगर्भ तथा खानी विभाग, विद्युत विकास विभाग, पर्यटन विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र अध्यागमन विभाग जोडिने छन् ।

तेस्रो चरणमा भने उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रणालीमा जोडिने छन् । यस्तै नियमक निकायहरु राजस्व अनुसन्धान विभाग, सम्पति शुद्घीकरण अनुसन्धान विभाग, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, नेपाल फ्रेट फरवार्डस् एशोसिएसन, भन्सार एजेन्ट महासंघ र नेपाल हस्तकला महासंघ प्रणालीमा आबद्ध हुनेछन् ।

सबै निकायहरु एउटै सञ्जालमा आबद्ध भएपछि आवेदन, सूचना, अनुमति तथा निर्णयहरु एकै विधि तथा माध्यमबाट आदानप्रदान गर्न सकिने गरी प्रणालीको विकास गरिएको छ । सबै सरोकारवाला निकायलाई सहज हुने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणालीको वेबसाइट बनाइएको छ । वेबसाइटमा प्रज्ञापन पत्रका विवरण, आयात निर्यातका विवरण, हर्मोनाइज कोड र करका दर जस्ता विषयहरु समावेश भइसकेको छ । अन्तराष्ट्रिय भन्सार नेटवर्क आसिकोडा पनि सर्भरमा राखिएको छ भने सरोकारवाला निकायका लागि चाहिने मास्टर मोड्युल र सबमोड्युल विकासको काम पनि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment