Comments Add Comment

सेयर बजारमा डिम्याट खाताको उपयोग

केही समययता नेपालको धितोपत्र बजारमा कार्यान्वयन गरीएका सुधार तथा डिजिटाइजेसनका कारण आम लगानीकर्तालाई समय र पैसाको बचत अनि सुविधा थपिएको छ । खासगरी शेयर प्रमाणपत्रहरुको डि-म्याट तथा अभौतीकिकरण तथा बैंकबाटै शेयर खरिद-बिक्रीका निम्ति आस्बा जस्ता प्रणालीले शेयर किनबेच कम झन्झटिलो र छरितो बनेको छ ।

डिम्याट भनेको भौतिकरुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक गर्ने प्रक्रिया हो । यो पनि बैंक खाता जस्तै हो । यस्ता खातालाई हितग्राही खाता पनि भनिन्छ । विश्वमा अहिले कागजबिहीन शेयर कारोवारको विकास भैरहेको छ । यसले शेयरको कारोबार छिटो छरितोरुपमा गर्न सघाउँछ । शेयरको अभौतिककरणलेे कुनै पनि कम्पनीको शेयर घरमा चाङ लगाएर राख्नुपर्दैन । जसबाट शेयर हराउने, च्यातिने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । शेयरको डिम्याट गर्नका लागि केन्द्रीय निक्षेप सेवा (सीडीएस) बाट सदस्यता लिएको निक्षेप सदस्यमार्फत खाता खोली भौतिक रुपमा रहेको शेयर प्रमाणपत्रहरुलाई अभौतीकरण गर्न सकिन्छ ।

नेपालमा पनि शेयर बजारसम्बन्धी कामलाई छिटो छरितो बनाउन डि-म्याट शेयरको कारोवार सुरु भएको छ । वि.सं. २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यकाभित्र र ०७३ माघ १ गतेदेखि देशभरि नै सार्वजनिक निश्कासनमा आवेदन दिँदा लगानीकर्ताहरुले हितग्राही नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था भएबाट हाल सबै प्रकारका शेयर कारोवारका लागि डि-म्याट खाता अनिवार्य गरिएको छ ।

धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजेटरी पार्टिसिपेन्ट अर्थात डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ । हाल धितोपत्र दलाल, बैंक बित्तीय संस्था, मर्चेण्ट बैंकर लगायतले बोर्डबाट अनुमति लिएर यस्तो सेवा सञ्चालन गरेका छन् । आफूलाई पायक पर्ने कुनै पनि कम्पनीमा गएर डिम्याट खाता खोल्न सकिन्छ । त्यसका लागि पहिले लगानीकर्ताले एउटा फोटो र नागरिकताको प्रतिलिपी लिएर डिम्याट खाता खोल्ने कुनै डीपीमा जानुपर्छ । नावालकको हकमा भने नावालकको फोटो, जन्मदर्ताको फोटोकपी, संरक्षकको फोटो, नागरिताको फोटोकपी र बैंक खाता नम्बर चाहिन्छ ।

एकजना व्यक्तिले बढीमा दुई वटासम्म डिम्याट खाता खोल्न सकिन्छ । तर, दुईवटा खाता हुँदैमा एकजना व्याक्तिले आइपीयोमा दुईवटा आवेदन दिन पाउँदैन । तसर्थ दुईवटा खाता खोल्नुको कुनै औचित्य हुंदैन । आफूसँग कुनै कम्पनीको शेयर नभए पनि डिम्याट खाता खोल्न सकिन्छ । खाता खोलिसकेपछि लगानीकर्तालाई निक्षेप सदस्यले १६ अंकको हितग्राही परिचयपत्र नं. (बीओआईडी) र आवश्यकता अनुसार चेकबुक प्रदान गर्दछन् । खाता खोलिसकेपछि आफुसँग भएका कागजी शेयर पनि डिम्याट गराउनु पर्दछ । त्यसपछि कारोवारका लागि योग्य भइन्छ ।

शेयर कारोवार गर्दाको समयमा डिम्याट खाता ब्रोकर कम्पनीलाई दिनुपर्छ । सोही अनुसार खातामा शेयर जम्मा हुन्छ र बिक्री गर्दा चेक काटेर दिएपछि शेयरखाताबाट खरीदवालाको खातामा जम्मा हुन्छ । डिम्याट खातामा जम्मा भएको शेयरको आधारमा बैंक तथा वित्तीय संस्थाले शेयर नै धितो राखेर वा नराखेर पनि ब्रोकरको जमानीमा ऋण प्रदान गर्ने गर्दछन् । यस्तो ऋणका लागि लगानीकर्ताले शेयर प्रमाणपत्र (हाल डिम्याट खातामा रहेको प्रमाणित कागजात) धितो राख्नुपर्दछ ।

पछिल्लो समय हितग्राही खाता खोल्नेको संख्या बढ्दै गएको छ । यो प्रणालीको सुरुवातपछि झन्झटिला कागजी प्रकृयाको समाप्तीसँंगै आर्थिक बचत पनि हुन्छ । डिम्याट खाता खोलेर कारोवार गरेपछि शेयरसम्बन्धी हरेक काम गर्न छिटो छरितो हुन्छ । शेयरको अभौतिक कारोवारले हरेक कागजातमा औंठाछाप लगाउनुपर्ने समस्या समेत समाधान हुन्छ । शेयर किनबेच गर्दा कागजी प्रकृया गर्नुपर्दैन । साथै आफूसँग कुन-कुन कम्पनीको कति शेयर छ र आफूसँग कति रकमको शेयर छ जस्ता सामान्य कुराको जानकारी सजिलै पाउन सकिन्छ । डिजीटाइजेसन भएपछि धेरै सुविधा भएको छ । समय र खर्चका साथसाथै यी नौला प्रणालीको प्रयोगले धितोपत्र बजारलाई पारदर्शी र विश्वसनीय बनाउनसमेत सहयोग पुगेको छ ।

डिम्याट खाताका फाइदा

आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन । शेयर खरिद बिक्री गर्न सहज र छिटो छरितो हुन्छ । शेयरको प्रमाापत्र लिन कम्पनीमा धाउनु पर्दैन । घरबाटै आफ्नो शेयर डिम्याट खातामा वा आफ्नो नाममा आयो कि आएन हेर्न सकिन्छ । शेयरको पोर्टफोलियो व्यवस्थापन गर्न पनि मद्दत हुन्छ । आफ्नो नामको शेयरको सम्पूर्ण संख्या र रकम थाहा हुन्छ । शेयर बजारको आकार बढ्नसमेत मद्दत पुर्‍याउँछ । कारोवार संख्या र रकम बढ्छ ।

समाजमा दुखै नगरी सम्पती कमाउने अभिलाषा बोकेका थुप्रै जमात भेटिन्छन् । यस्तो अभिलाषा र गलत मनोविज्ञानबाट प्रेरित भई लहैलहैमा लागेर शेयर बजारमा आफ्नो उपस्थिति जनाउनु कहिलेकाँही घातक हुन सक्छ

सूचीकृत कम्पनीले नाफाको रुपमा शेयरधनीलाई दिएको बोनस शेयर पनि सीधै खातामा जम्मा हुने भएकाले शेयर लगानीकर्ताका लागि धेरै सहज भएको छ । बोनस शेयर लिस्टिङ्ग भएपछि डि-म्याट खातामा जम्मा हुन्छ । त्यसका लागि लगानीकर्ताले सम्बन्धित कम्पनीको शेयर रजिष्ट्रार वा कम्पनीको शेयर शाखामा आफ्नो डि-म्याट खाता नम्बर दिनुपर्छ । साधारण शेयर निष्कासन गर्ने कम्पनीले शेयर बाँडफाँट गरी डि-म्याट खातामार्फत शेयर वितरण गर्दा शेयर प्रमाणपत्र छाप्नुपर्ने खर्च तथा समय पनि बचत हुन्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार भएपछिको राफसाफको प्रकृयासमेत छिटो हुन्छ । जसका कारण शेयर बेचेको खण्डमा समयमै पैसा हात पर्छ । त्यो अन्यत्र उपयुक्त ठाउंमा लगानी गर्न सकिन्छ । बिना झण्झट तुरुन्तै शेयरको नामसारी गर्न सकिन्छ । यो प्रविधि हुनुअघि शेयरको नामसारी गर्न महिनौं कुर्नु पर्दथ्यो ।

नेपालमा शेयरबजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दै गएको छ । प्राथमिक तथा दाश्रो बजारमा रेकर्डहरु ब्रेक भइरहेका छन । प्राथमिक बजार (आईपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको आइपियोमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च देखिएको छ । यसबाट शेयर बजारमा लगानीकर्ताको उत्साह कतिसम्म छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । सो उत्साहसँगै डिम्याट खाता खोल्ने क्रम पनि दैनिक हजारौंको संख्यामा बढेको छ ।

समाजमा दुखै नगरी सम्पती कमाउने अभिलाषा बोकेका थुप्रै जमात भेटिन्छन् । यस्तो अभिलाषा र गलत मनोविज्ञानबाट प्रेरित भई लहैलहैमा लागेर शेयर बजारमा आफ्नो उपस्थिति जनाउनु कहिलेकाँही घातक हुन सक्छ । कुनै पनि शेयर बजारमा लगानी गर्दैमा वा लगानी गर्न जान्दैमा राम्रो प्रतिफल प्राप्त हुन्छ भन्ने छैन । लगानी भनेको अनिश्चितता र भविष्यसँग जोडिएको हुन्छ । त्यसैले लगानीकर्ताहरुले बजारमा देखिने धेरै लगानीकर्ताहरुको मनोविज्ञानबाट प्रेरित गलत लगानीका निर्णयहरुबाट आफ्नो लगानी वा आफू कसरी सुरक्षित हुने भन्ने कुराको हेक्का राख्नु जरुरी छ । सबै नाफामूलक सिपहरुको विकास बजारको अध्ययन र प्राप्त ज्ञानको निरन्तर प्रयोगबाट मात्र सम्भव हुने हुँदा बजारको गहन अध्ययन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment