Comments Add Comment

सर्वसाधारणलाई निषेध गरेर प्रधानमन्त्रीद्वारा राप्ती पुल उदघाटन

Photo Credit : कुलदीप न्यौपाने

१२ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ देउखुरीको राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पक्की पुल उदघाटन गरेका छन् ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुल प्रधानमन्त्री ओलीले सोमबार मध्याह्न उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा नेकपा ओली समूहका नेता, पत्रकार, सुरक्षाकर्मी र निर्माण कम्पनीका प्रतिनिधिहरुमात्र सहभागी थिए ।

त्यसो त महदेवा र सिसहनिया गाउँका कांग्रेस तथा पूर्वमाओवादी समर्थक गाउँलेले यसअघि नै ओलीले पुल उदघाटन गर्ने कार्यक्रममा नजाने निर्णय गरेका थिए । प्रधानमन्त्रीको आगमनको विरोध जनाउन आइतबार साँझ प्रचण्ड–माधव समूहले देउखुरी क्षेत्रमा मशाल जुलुस निकालेको थियो । यसअघि २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री प्रचण्ड सो पुलको शिलान्यास गर्न जाँदा तत्कालीन एमाले कार्यकर्ताहरुले दाङ बन्द आह्वान गरेका थिए ।

पुल उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले सरकारले संविधानको रक्षा र विकासलाई प्राथमिकता दिएको बताए । त्यसको उदाहरण यही पुल भएको उनले बताए ।

यो नेपालको दोस्रो लामो पक्की पुल हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । ‘गेरुवा पुल’ पनि भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ । राप्ती र गेरुवा दुवै पुल एएनके लुम्बिनी वाइपी जेभीले पूर्वनिर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गरेको हो ।

पुल उदघाटन कार्यक्रम सकाएर प्रधानमन्त्री ओली राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको आगमनलाई मध्यनजर गर्दै देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment