Comments Add Comment

निर्धारित समय अगावै बन्यो नेपालको दोस्रो लामो पुल

Photo Credit : कुलदीप न्यौपाने

१३ कात्तिक, दाङ । दाङ देउखुरीको राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल बनेको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको हो ।

यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । गेरुवा पुल भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ ।

गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले दाङको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । गेरुवा पुल तोकिएको अवधिभन्दा अघि नै सम्पन्न गरेर यो कम्पनी नेपाल सरकारबाट पुरस्कृत भएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते राप्ती नदीको बगरमा पुल शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको योजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए । यो पुलको उदघाटन माघ महिनामा गर्ने तयारी भइरहेको पनि पन्तले बताए ।

अहिले पुल निर्माण सकेर पुलसम्म पुग्ने बाटो  मर्मतको काम भइरहेको छ । बाटो बनाउने काम पूरा नहुँदा यातायातका साधन चलेका छैनन् । पैदलयात्री भर्‍याङ हालेर पुलमा उक्लिने गरेका छन् ।

पुल नहुँदा सिसहनिया-महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपर्थ्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनिया गाविसका बासिन्दा लाभान्वित भएका छन् ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे-भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment