Comments Add Comment

पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै

१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ ।

पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

एपीएफ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्दा पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

समूह ‘ए’ मा अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग खेल्नुअघि नै लगातार तीन खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेको एपीएफले आर्मीलाई पराजित गर्दै समूह विजेता बन्यो ।

 त्यसअघि एपीएफले कर्णाली प्रदेश प्रदेश १ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । समूह ‘ए’ मा चारमध्ये चारवटा खेल जित्दै एपीएफले ८ अंक जोड्दै अपराजित रह्यो ।

उता साविक विजेता पुलिसले पहिलो खेलमै बागमतीसँग हार व्यहोर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसैले पुलिसले सेमिफाइनल पुग्न समूहको अन्तिम खेलसम्म कुर्नुपर्‍यो र प्रदेश २ लाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

पुलिसले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई समेत हरायो । समूह ‘बी’ मा पुलिसले चारमध्ये ३ खेल जित्दै ६ अंक जोड्यो ।

अपेक्षाअनुसार नै सेमिफाइनल पुगेका चारमध्ये तीन टिम विभागीय नै छन् । त्यसैले सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । दुवै टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्य छ ।

शरद भेषावकरको कप्तानीमा रहेको एपीएफ टिममा भेट्रान बसन्त रेग्मी, सुवास खकुरेल, आसिफ शेख, सन्दिप जोरा, भुवन कार्की, अभिनाश बोहरा, कमल सिंह ऐरी र किशोर महतो छन् । किशोरसँगै रित गौतम र सूर्य तामाङ यसै संस्करणदेखि एपीएफका अनुबन्ध भएका हुन् । यू-१९ कप्तान रितले दुई खेलमा मौका पाए पनि रनको खाता खोल्न सकेका छैनन् ।

राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, ललित राजवंशी, रासिद खान, अनिल शाह, पवन सर्राफ, सागर ढकाल, सुनिल धमला, राष्ट्रिय टिमका पूर्व खेलाडी मन्जित श्रेष्ठ पुलिसबाट खेलिरहेका छन् । पुलिसले समूह चरणमा ११ खेलाडीलाई मात्र खेलाएको छ । पुलिसको बेन्चमा रहेका योगेन्द्र सिंह कार्की, प्रेम तामाङ र दिलिप नाथले अहिलेसम्म खेल्ने अवसर पाएका छैनन् ।

प्रधानमन्त्री कपमा अर्को पनि एउटा संयोग रहेको छ । दुई विभागीय टोली पुलिस र एपीएफ अहिलेसम्म सेमिफाइनलमै भेट भएका छन् । पहिलो संस्करणमा पुलिसले एपीएफलाई हराएको थियो भने दोस्रो संस्करणमा एपीएफले पुलिसलाई हराएको थियो । यस्तै तेस्रो संस्करणमा पुलिसले एपीएफलाई फेरि हराएको थियो । चौथो संस्करणमा पनि यसले निरन्तरता पाएको छ । अब यस पटक कसले सेमिफाइनल जित्छ त्यो भने हेर्न बाँकी छ ।

विगतलाई हेर्दा फाइनल पुग्ने दुई टिममध्ये आर्मी भने सधैँ फाइनल पुगेको छ । तर एपीएफ र पुलिसबीच हुने सेमिफाइनल जित्नेले पछिल्लो दुई संस्करणमा उपाधि जितेको थियो । पहिलो संस्करणमा भने वर्षाले खेल बाधक बन्दा आर्मी र पुलिस संयुक्त रुपमा विजेता बनेका थिए ।

सर्वाधिक रन बनाउनेमा पुलिसका सुनिल धमला दोस्रो स्थानमा छन् । उनले उनले एक शतक र एक अर्धशतकसहित १८७ रन बनाए । धमलाले लुम्बिनीविरुद्ध १०४ रन बनाएका थिए ।

समूह चरणमा ३ खेल मात्र खेलेका एपीएफका आसिफ शेखले दुई अर्धशतकसहित १४४ रन बनाएका छन् र सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छन् ।

यस्तै बलिङतर्फ समूह चरणमा ३ खेल मात्र खेल्दै ८ विकेट लिएका एपीएफका अभिनाश बोहरा सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । उनले एक खेलमा ५ विकेट लिएका थिए । अभिनाशभन्दा धेरै विकेट लिनेमा आर्मीका शहाब आलम र बागमतीका रामनरेश गिरी अघि छन् । दुवैले समान ९ विकेट लिएका छन् । शहाबले ३ खेल मात्र खेलेका छन् ।

यस्तै सेमिफाइनल खेल्न लागेका दुई टिम एपीएफका कमल सिंह ऐरी र पुलिसका सागर ढकालले समान ७ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment