Comments Add Comment

विद्युत प्राधिकरणको ध्यान ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनामा

१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण पम्प स्टोरेज आयोजना पनि बनाउनतर्फ उन्मुख भएको भएको छ । खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्न यस्तो आयोजना बनाइन्छ ।

प्राधिकरणले अहिले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा पनि एक सय मेगावाटको पम्प स्टोरेज आयोजना बनाउन प्राधिकरण कस्सिएको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अन्य स्थानमा पनि पम्प स्टोरेज आयोजना बनाउन अध्ययन गर्ने योजना बनेको बताउँछन् । ‘अन्यत्र कहाँ-कहाँ सम्भव हुन्छ भनेर हेर्दैछौं,’ उनले भने ।

बेगनासमा अध्ययन चल्दै

प्राधिकरणले लोडसेडिङ हटाउने घोषणा गरेदेखिनै बेगनासमा पम्प स्टारेज आयोजना बनाउन प्रयास गरेको थियो । पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको अग्रसरतामा  प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा बेगनासको पानी रुपा तालमा खसालेर एक सयदेखि तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने देखिएको थियो ।

जापानी सहयोग नियोग (जाइका)ले गरेको अर्को अध्ययनले पिक आवरमा १५० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिने भएपनि त्यसका लागि सस्तो बिजुली आवश्यक पर्ने औंल्याएको थियो । ‘पिक आवर’मा करिब चार घण्टा चलाउन प्राधिकरणले सो आयोजना प्रस्ताव गरेको हो ।  विद्युतको अत्यधिक माग हुने समयमा बेगनासबाट रुपामा पानी खसाल्ने र अन्य समयमा त्यसलाई बेगनासमै पठाउने प्राधिकरणको योजना छ ।

बेगनास र रुपा तालबीचको ५७ मिटर प्राकृतिक हेडलाई प्रयोग गरी विद्युत उत्पादन गर्ने योजना छ । रुपामा खसालिएको पानी पुनः बेगनासमा फर्काइने हुनाले यसले दुवै तालको प्राकृतिक अवस्था र सौन्दर्यलाई कुनै असर नपर्ने प्राधिकरणको दाबी गर्दै आएको छ । आयोजनाको लागत १३ करोड डलर अनुमान गरिएको छ ।

केही वर्षअघि काठमाडौं विश्वविद्यालयको सिभिल तथा जियोमेट्रिक्स विभागका प्राध्यापक डा. रमेशकुमार मास्के नेतृत्वको टोलीले गरेको अध्ययनबाट उक्त आयोजना पहिचान भएको थियो ।

जाइकाले गरेको अध्ययनमा भने विद्युत खेर जाने अवस्था नआएसम्म यस्तो आयोजना बनाउनु आर्थिक रुपमा सम्भाब्य नहुने देखिएको थियो । पानी तान्न खपत हुने बिजुलीको मूल्य मँहगो पर्ने भएकाले तत्कालै स्टोरेज आयोजना सम्भव नहुने निष्कर्ष निकालिएको थियो ।

तर, भविष्यमा लागि आयोजना जरुरी पर्ने भन्दै प्राधिकरणले बेगनासमा आयोजनाको अध्ययन अघि बढाएको थियो ।

प्राधिकरणका एक अधिकारीका अनुसार बिजुली जति बेला खेर जाने अवस्था आउँछ, त्यतिबेला पानीलाई पम्पमार्फत पानी तानेर माथि लैजाने र पिक आवरमा तल झारेर बिजुली निकाल्ने गरी बनाउँदा मात्रै नेपालमा पम्प स्टोरेज आयोजना सम्भाब्य हुन्छ । यदि सामान्य अवस्थामा पानी तान्ने हो भने पम्पिङ गर्दा लाग्ने खर्च बराबरको बिजुली उत्पादन गर्न सकिँदैन ।

‘प्रणालीबाट बिजुली खेर जान्छ भने त्यति बेलै पम्प गर्ने हो, अरु बेला पम्प गर्दा त पानी तानेको खर्च आयोजनाबाट उत्पादित बिजुलीले उठाउन गाह्रो पर्छ,’ उनी भन्छन् ।

अब यसैवर्ष प्रणालीमा करिब एक हजार मेगावाट बिजुली थपिने भएकाले खेर जान सक्ने बिजुली पर्याप्त हुने निष्कर्षसहित प्राधिकरण यस्ता आयोजना अघि बढाउन अग्रसर देखिएको छ ।

कुलेखानीमा सर्वेक्षण लाइसेन्स माग

प्राधिकरणले मकवानपुरको कुलेखानी जलाशयबाट विद्युत निकालेपछि खोलामा पठाइने पानी पम्प गरेर फर्काउने गरी सर्वेक्षण अनुसमति पत्र -लाइसेन्स) माग गरेको छ । सय मेगावाटको पम्प स्टोरेजका लागि सरकारबाटै स्वीकृति लिएर सम्भाब्यता अध्ययन सुरु गर्ने प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

प्राधिकरणले आयोजनाको सर्वेक्षण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ । कुलेखानीमा प्रस्तावित पम्प स्टोरेज आयोजनाबारे प्राधिकरणको एनईए इन्जिनीयरिङ कम्पनीले प्रारिम्भिक अध्ययन गरेको थियो ।

इन्द्रसरोबरको विद्युत निकालेपछि खेर जाने पानीलाई पुनः जलाशयमा फर्काएर कुलेखानीबाट थप लाभ लिने गरी आयोजना अघि बढाउन लागिएको शाक्यले बताए ।

अहिले कुलेखानी आयोजनालाई नेपालको ‘पावर ब्याकअप’ भनिन्छ । कुलेखानी जलाशयको पानी उपयोग गर्ने गरी अहिले ३ वटा आयोजनाहरु बनेका छन् । कुलेखानी जविद्युत आयोजनाबाट ६० मेगावाट, कुलेखानी दोस्रोबाट ३२ मेगावाट र कुलेखानी तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुन्छ ।

हिउँदमा भारतबाट बढी बिजुली ल्याउनुपर्ने समयमा बेलुकीकको माग धान्न यी आयोजनाहरु चलाइन्छ । पम्प स्टोरेज आयोजना बनाएमा हिउँदमा बिजुली उत्पादन गरेर खोलामा फाल्नुपर्ने कुलेखानीको पानी फेरि उपयोग हुने प्राधिकरणको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment