Comments Add Comment

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ ।

लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो ।

कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे । त्योभन्दा पनि अनौठो दृश्य थियो सोफाको कुनामा पैसा भेटिनु । सोफाको कुनामा र अन्य फर्निचरमा प्लाष्टिकमा बेरेर पैसा राखेको अख्तियार टोलीले भेटेको थियो । लुकाएर राखिएको २ लाख २३ हजार ८ सय रुपैयाँ बाँडफाँटका लागि राखिएको हुनसक्ने अनुमान छ ।

अख्‍तियारले कार्यालय सहयोगी भोगेन्द्र कापर र विचौलिया राजकिशोर भगतलाई नियन्त्रणमा लियो । बिचौलिया भगतको साथबाट ५० हजार बरामद गर्‍यो ।

अख्तियार टोलीले निमित्त प्रमुख वीरेन्द्र साहसँग पनि सोधपुछ गरेको छ । बिचौलिया भगतले ट्याक्टर चालकको लाइसेन्सको लागि घूस वापत रकम बोकेर आएको बयान अख्तियार समक्ष दिएको स्रोतले जनाएको छ ।

यो कार्यालयमा रहेको झण्डै ४ सय स्मार्ट लाइसेन्स गत कात्तिकको पहिलो साता धान खेतमा फालिएको अवस्थामा फेला परेको थियो ।

चालक अनुमति पत्रको परीक्षा स्थगित

अख्तियारले छापा मारेर कार्यालय सहयोगी र बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा स्थगित गरेको छ ।

चालक अनुमति पत्रका लागि बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको सूचना मार्फत जनाएको छ । कार्यालयका निमित्त प्रमुख वीरेन्द्र साहद्वारा हस्ताक्षरित सूचनामा कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment