Comments Add Comment

के हो ‘स्टक स्प्लीट’ ? यस्ताे छ सेयर मूल्यमा पर्ने सम्भावित असर

१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका लागि यो विल्कुलै नयाँ अभ्यास हुनेछ ।

भएको सेयरलाई खण्डीकरण गरेर संख्या बढाउनु ‘स्टक स्प्लीट’ हो । नेपाल लाइफले १ कित्ता सेयरलाई २ कित्ता बनाउने प्रस्ताव साधारण सभामा लैजाँदैछ । साधारण सभाबाट प्रस्ताव पारित भएर नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिए नेपाल लाइफको सेयर खण्डीकरण भएर अहिलेको सेयर कित्ता दोब्बर हुनेछ ।

खण्डीकरण भएको सेयरको मूल्य भने अहिलेकै जति रहँदैन । अहिले अंकित मूल्य प्रतिसेयर एक सय रुपैयाँ छ । कम्पनीले अंकित मूल्य ५० बनाउन खण्डीकरण गर्न लागेको हो । स्टक स्प्लीट हुँदा कित्ता बढ्छ र मूल्य आधा हुन्छ ।

जस्तो– सोमबार नेपाल लाइफको सेयर मूल्य २ हजार ८४९ रुपैयाँ थियो । सोही मूल्यमा स्प्लीट हुने हो भने यसको आधा १ हजार ४२५ रुपैयाँ ५० पैसा सेयर मूल्य कायम हुनेछ । कित्ता संख्या भने दोब्बर हुनेछ ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी स्प्लीटले थप कित्ता आपूर्ति र बजारमा कारोबार सहज बनाउने बताउँछन् । विद्यमान कारोबार प्रणालीमा प्रचलित प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य भए कम्तिमा १० कित्ता कारोबार हुनुपर्ने व्यवस्था छ । १० अंकित मूल्यको भए सय कित्ता र एक हजार रुपैयाँ अंकित मूल्य रहेको डिबेञ्चरको कम्तिमा २५ कित्ताको कारोबार गर्नु पर्ने व्यवस्था छ ।

नेपाल लाइफले बजार शुद्धीकरण र कारोबार सहजीकरणका लागि खण्डीकरण गर्न लागिएको बताएको छ । आधा रकम सस्तो हुने भएकाले खण्डीकरणपछि लगानीकर्ताहरुले किन्न पनि सहज हुने उसको भनाइ छ

अब नेपाल लाइफको अंकित मूल्य ५० रुपैयाँ हुने हो भने न्युनतम कारोबार इकाइ २० कित्ता बनाउनु पर्ने मुनकर्मी बताउँछन् । ‘यो अवस्थामा नेपाल लाइफको ५० अंकित मूल्य हुनु र नहुनुले कारोबारको न्यूनतम कित्ता र रकममा खास फरक पर्दैन, विद्यमान प्रणालीमा २० किताको लागि थप परिमार्जन र नियमन गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘जसका लागि थप लगानी वा सिस्टम मोडिफिकेसन गर्नुपर्ला ।’

अन्य सबैको अंकित मूल्य एक सय र नेपाल लाइफको मात्रै ५० रुपैयाँ हुँदा खासगरी नयाँ लगानीकर्ता झुक्किने खतरा हुन्छ । यसकारण अंकित मूल्य १० रुपैयाँ बनाउने वा एक सय रुपैयाँमा नै रहनु राम्रो हुने मुनकर्मीको सुझाव छ ।

लगानीकर्ता झुक्किने खतरा !

सोमबार सोल्टी होटलको सेयर मूल्य १.९० प्रतिशत अर्थात ४ रुपैयाँले घटेर २०६ रुपैयाँमा झर्यो । झट्ट हेर्दा थोरै जस्तो लाग्ने होटल सोल्टीको सेयर मूल्य थोरै हुनुको कारण भने अंकित मूल्य नै हो ।

होटल सोल्टीको प्रतिकित्ता अंकित मूल्य १० रुपैयाँ हो । यसले गर्दा यसको सेयर मूल्य २०६ रुपैयाँमात्रै देखिन्छ । अन्य कम्पनीको जस्तो सेयर अंकित मूल्य एक सय बनाउने हो भने आजकै दिनमा पनि सोल्टीको प्रतिकित्ता २ हजार ३० रुपैयाँ हुन आउँछ । यसको वास्तविक अंकित मूल्य अहिले पनि धेरैलाई जानकारी नभएको मुनकर्मी बताउँछन् ।

‘लगानी र कारोबारमा पर्याप्त जानकारी नराख्ने वा सूचनामा पहुँच नहुनेहरू मूल्य पासो वा सूचना पासोमा पर्ने जोखिम रहन्छ,’ उनी भन्छन्, ‘अहिले पनि कतिपयलाई सोल्टी होटलको अंकित मूल्य १० भन्ने थाहा छैन । उनीहरू अंकित मूल्यको २ गुणा मात्रै बढी तिर्दा बजार मूल्यमा पाएको भन्दै किन्छन् ।’

नयाँ अंकित मूल्यले पनि लगानीकर्ताहरु झुक्किनसक्ने उनी बताउँछन् । अर्को विषय भनेको सेयर आपूर्तिको समस्या नरहेको अवस्थामा स्टक स्प्लीट किन ? भन्ने प्रश्न उठ्न सक्नेछ ।

अहिले नेपाल लाइफले बजार शुद्धीकरण र कारोबार सहजीकरणका लागि खण्डीकरण गर्न लागिएको बताएको छ । आधा रकम सस्तो हुने भएकाले खण्डीकरणपछि लगानीकर्ताहरुले किन्न पनि सहज हुने उसको भनाइ छ ।

धेरै सेयर मूल्य हुने नेपाल लाइफमात्रै भने होइन । युनिलिभर, राष्ट्रिय बीमा कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन जस्ता कम्पनीहरुको पनि सेयर मूल्य उच्च र आपूर्ति कम छ ।

कारोबार सहज बनाउन खण्डीकरण गर्ने हो भने यी कम्पनीको पनि गर्नुपर्ने सेयर बजारका जानकार मुनकर्मी बताउँछन् । उनका अनुसार, सेयर खण्डीकरण गर्दा नकारात्मक असर खासै पर्दैन । मूल्यमा मनोवैज्ञानिक असर भने पर्न सक्ने उनको भनाइ छ ।

कम्पनी ऐनमा के छ ?

नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्य घटाएर १० रुपैयाँ बनाउन चाहेको थियो । तर कम्पनी ऐनमा व्यवस्था नभएका कारण ५० रुपैयाँमा झार्न प्रस्ताव गरिएको बताएको छ ।

कम्पनी ऐन, २०६३ को दफा २७ मा सेयरको अंकित मूल्य सम्बन्धी व्यवस्था छ । सोही दफाको उपदफा (२) मा अंकित मूल्य प्रतिकित्ता ५० वा सोभन्दा बढी १० ले भाग जाने हुनसक्ने व्यवस्था छ । सोही ऐन अनुसार कम्पनीले अंकित मूल्य घटाउन लागेको हो ।

मनोवैज्ञानिक असर पर्छ : पूर्वअध्यक्ष रानाभाट

स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट नेपाल लाइफको स्टक स्प्लीट गर्दा लगानीकर्ताहरुमा मनोवैज्ञानिक असर पर्ने बताउँछन् ।

स्प्लीट पछि सेयर मूल्य आधा सस्तोमा झर्ने र कम सेयर मूल्य देखेर लगानीकर्ताहरुले किन्न सक्ने उनी बताउँछन् । थोरै मूल्यमा खरिद गर्न चाहने लगानीकर्तालाई यसले फाइदा पुग्ने उनले बताए ।

‘अंकित मूल्य ५० रुपैयाँ बनाउँदा १ हजार ४५० मा झर्छ, यसो हुँदा अर्को कम्पनीको नेशनल लाइफकै हाराहारीमा सेयर मूल्य हुन्छ,’ उनी भन्छन्, ‘उस्तै मूल्य भए नेपाल लाइफ नै किनौँ भन्ने मनोविज्ञान बन्नसक्छ ।’

स्टक स्प्लीट अन्य देशमा पनि हुने गरेको छ । प्रतिसेयर अंकित मूल्य एक डलर रुपैयाँ मात्रै रहेका पनि धेरै कम्पनीहरु विश्व सेयर बजारमा छन् । अन्तर्राष्ट्रिय अभ्यास पनि भएका कारण अरु त्यस्तो खास असर केही नगर्ने पूर्व अध्यक्ष रानाभाटको भनाइ छ । यसले सेयर होल्डरलाई भने फाइदा हुने उनी बताउँछन् ।

साना लगानीकर्ताले पनि यसको सेयर किन्न सक्ने भएकाले लगानीकर्ताका लागि राम्रै विषय भएको उनले बताए । भारतको एसबीआई बैंकको १० रुपैयाँबाट घटाएर प्रतिसेयर अंकित मूल्य एक रुपैयाँमा झारिएको बताउँदै उनले भने, ‘नेपाल लाइफको आजको दिनमा एक सय कित्ता किन्न २ लाख ९० हजार पर्छ भने स्प्लीट पछि सय कित्ता नै आधा मूल्यमा पाइने भयो, यसको उद्देश्य नै यही हो भन्ने लाग्छ ।’

अध्ययन गरिरहेका छौं : बोर्ड

स्टक स्प्लीट गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्छ । पुँजी बजारको नियामक निकाय भएका कारण नेपाल लाइफको साधारण सभाले पारित गरे पनि बोर्डको अनुमति अनिवार्य हुन्छ ।

बोर्डले भने यस विषयमा अध्ययन गरिहेको बताएको छ । निर्णय लिन केही समय लाग्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘पहिले कम्पनी ऐनले ५० रुपैयाँ अंकित मूल्य हुन नसक्ने बताएको थियो’, उनले भने, ‘नेपाल लाइफको स्टक स्प्लीटको कुरा आएपछि कानुन विभागलाई अध्ययन गर्न भनेका छौं ।’

अहिले कम्पनी ऐन २०६३ ले ५० रुपैयाँ बनाउन सक्ने स्पष्ट व्यवस्था गरेको छ । तर ऐनमा भएर मात्र नहुने कार्यकारी निर्देशक गिरी बताउँछन् । उनी भन्छन्, ‘हाम्रो कानुन विभागको राय आएपछि मात्र यसबारे केही भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment