Comments Add Comment

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो, आजबाट गर्मी सुरु हुने विश्वास

१५, माघ, काठमाडौं । पौष शुक्ल पूर्णिमा अर्थात् बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको सरोकारवालाहरू बताउँछन् ।

चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई हिँडेर हनुमानढोकासम्म ल्याउने चलन छ । चाँगुबाट बिहान सुरु भएको कलशयात्रा डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, ज्ञानेश्वर, नक्साल हुँदै रानीपोखरी छेउमा रहेको एउटा पाटीमा राख्ने चलन छ । सो पाटीबाट बडागुरुज्यू सहितको पल्टनले बढाइँका साथ असन इन्द्रचोक हुँदै हनुमानढोका लैजाने चलन रहेको तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए ।

हनुमानढोकामा जीवित देवी कुमारीलाई साक्षी राखेर तलेजुभित्रको त्रिशुल चोकमा विधिपूर्वक कलशको पूजा गरिसकेपछि यसलाई राष्ट्रपति भवन शितलनिवास लैजाने चलन छ । राष्ट्रप्रमुखलाई दर्शन गराएर सोही दिन चाँगु नारायण लैजाने परम्परा छ ।

कर्माचार्यका अनुसार कलशको पूजा सम्पन्न भइसकेपछि त्रिशुल चोकमा धुनी बाल्ने गरिन्छ । धार्मिक मान्यता अनुसार हनुमान ढोकामा बालेको धुनीलाई चाँगुनारायणवासीले देख्छन् र कलश हनुमानढोका पुगेको ठान्छन् भन्ने मान्यता छ । यहाँ धुनी बालिसकेपछि गर्मी सुरु हुन्छ भन्ने धार्मिक मान्यता रहेको कर्माचार्यले जानकारी दिए ।

किंवदन्ती अनुसार परापूर्वकालमा राजाहरु जनताप्रति अनुत्तरदायी हुन थालेपछि सबैले राजा भगवान सरह हुने भएकोले आफ्नो जनतालाई निष्पक्ष न्याय दिनुपर्ने दबाव दिन थाले । राजा भगवानको स्वरुप भएको भन्दै चाँगुबाट ल्याएको कलशमा राजालाई हेर्न लगाइन्छ । त्यसमा हेर्दा आफूलाई भगवान स्वरुपको देखेपछि राजा जनताप्रति उत्तरदायी बन्छन् भन्ने विश्वासका साथ यो अहिलेसम्म चल्दै आएको छ ।

मल्लकालसम्म राजाहरूले हनुमान ढोकाकोे दशैंघर छेउमा रहेको चोकमा बसेर कलशको दर्शन गर्छन् भन्ने मान्यता थियो । तर शाहकालमा राजाको दर्शन गराउनको लागि नारायणहिटी लैजाने गरियो । अहिले राष्ट्रपति भवनमा लगेर कलशको दर्शन गराउने चलन छ ।

तस्वीरहरू : चन्द्र आले/ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment