Comments Add Comment

पुल्चोक–गोन्द्राङ सडक विस्तारको काम सुरु

१५ माघ, चितवन । चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सुरू भएको छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक-गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । २८ महिनाभित्र विस्तार गरी सक्ने सडकको लागत एक अर्ब बाह्र करोड रुपैयाँ छ ।

गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले २०७९ साल फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ ।

सडकको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको डिभिजन कार्यालयले जनाएको छ । टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा ४ लेन छ ।

दुईलेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए । सडक छेउका अतिक्रमित घर टहरा भत्काउनेदेखि बाटोको साइड सफा गर्ने काम भइरहेको छ । उनका अनुसार गोन्द्राङ क्षेत्रमा २३० जनाभन्दा बढी कामदारले कल्भर्ट एक्सटेन्सन, रिटेन्सन वाल लगाउने काम भइरहेको छ । यही साताभित्र भरतपुर विमानस्थल क्षेत्र र १५ दिनमा लायन्सचोक क्षेत्रमा पनि काम थालिने इन्जिनियर खनालले बताए । नालीको काम अघि बढाउने तयारी गरिएको उनले जानकारी दिए । अहिले खोला नखुल्दा निर्माण सामग्रीको अभाव भएता पनि ठेकदारले जसोतसो व्यवस्थापन मिलाएर सन्तोषजनक रूपमा काम अघि बढाएको इन्जिनियर खनालको भनाइ छ ।

इन्जिनियर खनालले सडक सीमा क्षेत्रमा बनेका संरचना हटाउने काममा खासै समस्या नभएको बताए । सडक सीमा क्षेत्रमा मुअब्जा दिनुपर्ने अवस्था नरहेको उनले बताए । विद्युतका पोल सार्न नै मूल समस्या भएकोले प्राधिकरणसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ । ‘विद्युतका पोल सार्न सक्नु भनेको ५० प्रतिशत काम सकिएको जस्तो हुन्छ,’ खनालले भने, ‘विद्युतसँग पनि समन्वय भैरहेको छ ।’ ठेक्कामा नै पोल सार्न लाग्ने खर्च समेत समावेश गरिएको छ । ठेकेदार पक्षले तोकिएको समयअघि नै काम सक्ने दाबी गरेको छ ।

यस्तो बन्ने छ सडक

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड गर्ने योजना छ ।

सडकको दायाँबायाँ ११.५/११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर ३ देखि ४ मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालय चितवनका प्रवक्ता खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ ।

प्रवक्ता खनालका अनुसार पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग-अलग डिजाइन भएकोले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ । यही सडकखण्डमा विद्युत लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ । तर, अहिलेसम्म समन्वय भने नगरेको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर खनालले पछि फुटपाथ रहने ठाँउको तल तार भूमिगत गर्न दिइने बताए । सडकका दुवैतर्फ स्मार्ट लाइट रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment