१६ माघ, काठमाडौं । त्रिभुवन आर्मी र एपीएफ क्लब चौथो संस्करण प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्दैछन् । एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ए मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो ।
समूह एमै रहेको आर्मी भने एपीएफसंग पराजित भई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मीले एपीएफसंग फाइनल भेट पक्का गरेको हो ।
आर्मीले यसअघि प्रधानमन्त्री कप क्रिकेटको तीनवटै संस्करणको फाइनल खेलेको थियो । पहिलो संस्करणमा नेपाल पुलिससंग उपाधि बाँडेको आर्मीले दोस्रो संस्करणमा एपीएफसंग र तेस्रो संस्करणमा पुलिससंग पराजित भएको थियो ।
प्रधानमन्त्री कपको दोस्रो संस्करणको विजेता बनेको एपीएफ यसपटक पनि उपाधिनजिक छ । चालु प्रतियोगितामा अपराजित रहेको एपीएफ फाइनलसम्म त्यसलाई कायम राख्ने योजनामा छ । उता यसअघि लगातार दुई हार बेहोरेको आर्मी त्यसलाई तोड्दै उपाधि जित्नेमा लक्ष्यमा छ ।
फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले फाइनल खेलका लागि तयार भएको र उपाधिका जित्ने लक्ष्य रहेको बताए । आर्मीका कप्तान विनोद भण्डारी र एपीएफका कप्तान शरद भेषावकरले फाइनल खेल्न उत्साही भएको बताए ।
एपीएफका कप्तान शरद भेषावकरले फाइनल पुग्नु खुशीको कुरा भएको बताए । ‘आशा छ भोलि राम्रो हुनेछ । टिमले राम्रो खेलिरहेको छ । चुनौतीपूर्ण अवस्थामा पनि राम्रो भएको छ’ शरदले भने, ‘टिमले गाह्रो अवस्थामा पनि राम्रो गरिरहेको छ । टिममा फाइनल खेल्नको लागि हंगर देखिएको छ ।’
भेषावरकले फाइनलमा व्यक्तिगत प्रदर्शन राम्रो हुने आशा राखेका छन् । ‘राम्रो गर्ने भोक छ । आशा छ भोलि टिमका लागि उत्कृष्ट दिनेछु’ उनले भनेका छन् ।
यस्तै आर्मीका कप्तान विनोद भण्डारीले फाइनल जित्नकै लागि खेल्ने बताए । ‘टिमले राम्रो गरिरहेको छ । चाहिएको समयमा खेलाडीले खेलेका छन् । हामी जित्नका लागि खेल्छौं’ उनले भने । भण्डारीले यसअघिका दुई फाइनलमा भएको हार इतिहास भइसकेको बताए । भण्डारीले फाइनल खेलमा धेरै दबाब महसुस नगरी सामान्य ढंगले लिने बताएका छन् ।
दुवै टोलीमा सिनियर र जुनियर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको वर्चस्व रहेको छ ।
शरदसंगै एपीएफमा भेट्रान स्पीनर बसन्त रेग्मी, विकेटकिपर ब्याटमस्यान सुवास खकुरेल, स्पीन अलराउण्डर भुवन कार्की, प्रदीप ऐरीजस्ता अनुभवी खेलाडी छन् । यस्तै आसिफ शेख, सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, किशोर महतो पनि एपीएफमै छन् ।
आर्मीमा अनिल मण्डल, राजु रिजाल, रोहितकुमार पौडेल, राजेश पुलामी मगर, हरि चौहान, विक्रम सोब जितेन्द्र मुखिया, सुशन भारी, शहाब आलमलगायत खेलाडी छन् ।
हेड टु हेड
एपीएफ र आर्मी दुई सशक्त टोली हुन् । जहाँ राष्ट्रिय टिमकै खेलाडीहरुको बाहुल्य हुन्छ । यसअघि यी दुई टोली दोस्रो संस्करणमा मात्र भिडेका थिए । २०१८ मा भएको दोस्रो संस्करणमा समूह चरण र फाइनलमा आर्मी र एपीएफ खेलेका थिए । जहाँ दुवैले एक-एक खेल जितेका थिए ।
एपीएफको फाइनल यात्रा
समूह चरण
प्रदेश १ विरुद्ध १३५ रनले विजयी
गण्डकी विरुद्ध ६ विकेटले विजयी
कर्णाली विरुद्ध ७१ रनले विजयी
आर्मी विरुद्ध ६ रनले विजयी
सेमिफाइनल
पुलिस विरुद्ध ३० रनले विजयी
आर्मीको फाइनल यात्रा
समूह चरण
गण्डकी विरुद्ध ९८ रनले विजयी
कर्णाली विरुद्ध ८० रनले विजयी
प्रदेश १ विरुद्ध ४ विकेटले विजयी
एपीएफ विरुद्ध ६ रनले पराजित
सेमिफाइनल
बागमती विरुद्ध ९४ रनले विजयी
विजेतालाई १० लाख
यस संस्करणको विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । तेस्रो संस्करणमा विजेताको पुरस्कार २० लाख रुपैयाँ रहेकामा यस वर्ष १० लाख रुपैयाँमात्र छ । उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।
यस पटक नेपाल क्रिकेट संघले राखेपको कार्यक्रम अन्तर्गत यस प्रतियोगिता आयोजना गर्दा झनै पुरस्कार घटेको छ । त्यो पुरस्कार पनि सेमिफाइनल अघि मात्र घोषणा भएको हो ।
यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टिमले समान ५० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले २५-२५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4