+
+

गगन थापाहरू कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थे : मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १७ गते २०:०९

१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् ।

नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्दै उनले विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक-पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको बताए ।

पुनर्निर्माणको धेरै काम सम्पन्न भएपछि अनावश्यक बखेडा झिकेर राजनीति गर्ने काम भएको उनले बताए ।

‘गगन थापाहरू कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थे, मैले सांस्कृतिक पोखरी बनाउन चाहेँ,’ शाक्यले भने, ‘काठमाडौं महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको छ । कमलपोखरीमा पनि त्यहि गर्न खोजिँदैछ ।’

शाक्यले कमल पोखरीमा त्यही क्षेत्रका विघटित संसदका सांसद गगन थापाले कति खर्च गरे भनेर विवरण माग्दै पत्र पठाएको पनि बताए ।

‘उहाँले विवरण दिन सक्नुभएन भने त्यहाँ खर्च भयो भनिएको रकम हिनामिना गरेको ठहरिने छ,’ शाक्यले भने, ‘उहाँ स्वयम्ले मलाई लिखित पत्र पठाई कमल पोखरीमा सांसद कोषबाट करोडौं रकम खर्च गरिसकेको भनी जानकारी दिएका कारण उहाँलाई लिखित पत्र नै पठाई कमलपोखरीमा उहाँले अहिलेसम्म गरेको खर्च विवरण पठाउन अनुरोध गरेको हुँ ।’

थापाले पटक-पटकका छलफलमा पनि त्यहाँ सांसद विकास कोष र निजी स्रोतबाट तारवार लगायतका कार्य गरेको बताएको पनि शाक्यले जानकारी दिए ।

‘थापाबाट विवरण आएपछि कसले कमलपोखरीमा बनेका सिँढीमा पहिला नै सिमेन्ट प्रयोग गरेर निर्माण गरेको रहेछ प्रष्ट हुन्छ,’ शाक्यले भने ।

उनले सम्पदाप्रेमीलाई पनि राजनीति आग्रह-पूर्वाग्रह लिएर आन्दोलन नगर्न सुझाव दिए । ‘पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न महानगरपालिका सदैव तयार छ । म उहाँहरुलाई पनि यो अभियानमा हातेमालो गर्न आग्रह गर्दछु । तर, सम्पदाप्रेमिको आवरण ओढेर राजनीति नगर्न तपाईंहरुलाई सुझाव दिन्छु ।’

उनले एकतर्फी रुपमा आरोप लगाएर भावुकता प्रकट गर्ने कुरा क्षणिक भएको पनि बताए । ‘अहिले राजनीति गर्न सजिलो छ, सम्पदाप्रेमी भनेपछि जे गर्न पछि छुट पाउने अवस्था भइरहेको छ’ शाक्यले भने, ‘यसले विकास निर्माणमा अवरोध मात्रै गर्छ । कमलपोखरीको माटो दलेर बालुवाटार घेर्न जाने कुरा कतै मेल खाँदैन । कमलपोखरीको माटोको भावुकतासँग जोडेर राजनीति गर्ने कार्य सकारात्मक होइन ।’

रानीपोखरी पुनर्निर्माणका क्रममा पनि सम्पदाप्रेमी भन्नेहरूले महानगपालिकालाई बदनाम गर्न अनावश्यक आरोप लगाउने प्रयास गरेको भन्दै उनले आक्रोस पनि व्यक्त गरे । ‘रानी पोखरी घुम्न आउनेहरूका लागि छेउमा शौचालय बनाउँछु भन्दा मैले रानीपोखरी बेचेर खायो भन्नेहरूले अहिले त्यहीँ शान्तिबाटिकामा रानीपोखरीको बार नै छुने गरी राखिएको शौचालय किन देखेनन् ?’ उनले प्रश्न गरेे, ‘त्यो शौचालय कसले बनायो, कसले राख्न दियो, ठेक्का कसले दियो, त्यहाँको पैसा कहाँ जान्छ ? त्यसको खोजबिन गर्नु पर्ने कि नपर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?