Comments Add Comment

फर्किएनन् क्लिनफिडले भडि्कएका टेलिभिजनका दर्शक

१८ माघ, काठमाडौं । क्लिन फिड लागू भएपछि घटेका ग्राहक (दर्शक) फिर्ता नभएको भन्दै टेलिभिजन सेवा वितरक र प्रसारकहरुले चिन्ता व्यक्त गरेका छन् । कात्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड (विज्ञापनरहित प्रसारण) कार्यान्वयनमा आएपछि धेरैजसो च्यानलको प्रसारण रोकिएकाले टेलिभिजनका ग्राहक ह्वात्तै घटेको थियो ।

क्लिन फिड लागू भएलगत्तै टेलिभिजन सेवा प्रसारक र वितरकहरुको नियमित हुने रिचार्जमा २५ देखि ३० प्रतिशतसम्म गिरावट आएको बताएका थिए । त्यतिबेला उनीहरुले चाडबाडको माहोलले गर्दा पनि केही असर परेको हुनसक्ने अड्कलबाजी थियो । नेपालमा हेरिने मुख्य च्यानलहरु क्लिन फिड गरेर प्रसारण थालेपछि ग्राहक फर्किने अपेक्षा गरिएको थियो ।

धेरै हेरिने स्टारका प्याकेजमा च्यानल पनि करिब एक महिनाअघि नै क्लिन फिड भएर बज्न सुरु गरेको थियो । जी, सोनी, कलर्स लगायतका अरु भारतीय च्यानलका धेरैजसो प्याकेज पनि बजिरहेका छन् ।

ठूलो लगानी गरेर क्लिन फिड सामाग्री दिँदा पनि ग्राहक बढ्न नसकेको दावी व्यवसायीहरुको छ ।

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली क्लिन फिडपछि टेलिभिजनबाट बाहिरएका ग्राहक नफर्किएको बताउँछन् । उनका अनुसार अझै पनि क्लिन फिड अघि र पछिको रिचार्ज दरमा औसत २५ प्रतिशतको अन्तर छ ।

‘धेरै हेरिने विदेशी च्यानलहरु प्रसारण हुन थालेपछि रिचार्ज बढ्न सक्ने अनुमान थियो, तर परिणाम त्यस्तो आएन,’ पराजुली भन्छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष “ध्रुब शर्माले पनि आफू अन्तर्गतका सेवा प्रदायकहरुको रिचार्ज गर्ने क्रम ३० प्रतिशतसम्म घटेको बताउँछन् ।

किन घटे ग्राहक ?

‘ग्राहक घट्नुका विभिन्न कारणहरु हुनसक्छन्,’ उनी भन्छन्, ‘मुख्य रुपमा इन्टरनेट र आईपी टिभीमा नेपालमा डाउनलिंक अनुमति नभएका भिडियो सामग्री र च्यानलहरु हेर्न पाइने अवस्था रहेकाले यस्तो भएको अनुमान छ ।’

सेवा प्रदायकहरुका अनुसार नेपालमा उपलब्ध धेरै च्यानलहरु सेवा प्रदायकले सित्तैमा लिन पाउने ‘फ्रि टु एयर’ थिए । धार्मिक, गीतसंगीत, चलचित्र र भाषाभाषीका च्यानलहरु ‘फ्रि टु एयर’मा पाइन्थे । त्यस्ता धेरै च्यानलको प्रसारण रोकिँदा धेरै ग्राहकले टेलिभिजनको साटो इन्टरनेटको विकल्प रोजेको हुनसक्ने अनुमान गरिएको छ ।

व्यवसायीले अझै भारतीय न्युज च्यानलसहित बीबीसी र सीएनएनको प्रसारण हुन नसकेकोले त्यसका लागि वातारण बनाउनुपर्ने माग गरेका छन् । सूचना पाउनु नागरिकको हक भएकाले न्युज च्यानलको प्रसारणको लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग व्यवसायीले सरकारसँग राखेका छन् ।

केबल टेलिभिजन व्यवसायीले विदेशी डीटीएच पनि भित्रिरहेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग पनि गरेका छन् । अहिले तराई क्षेत्रमा भारतीय डीटीएच भित्रिरहेका कारण पनि नेपाली सेवाप्रदायकको ग्राहक खुम्चिएको दावी व्यवसायीको छ । त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न व्यवसायीले माग गरेका छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले क्लिन फिड लागू भएपनि आईपी टिभीमार्फत एन्ड्रोइड बक्समार्फत प्रतिवन्धित च्यानलहरु प्रसारण भइरहेको भन्दै त्यसलाई रोक्न माग पनि गरेको छ । नभए नेपालमा विदेशी टेलिभिजन बजाउन डाउनलिंक अनुमति लिने व्यस्था नै खारेज गर्नुपर्ने महासंघको माग छ । आईपी प्रविधिको टिभी र अन्य प्रविधिका टिभीबीच सरकारले अन्याय गर्दा पनि समस्या बढेको महासंघका अध्यक्ष ध्रुब शर्मा बताउँछन् ।

अहिले इन्टरनेटमा पनि क्लिन फिड माग्दै सर्बोच्चमा रिट पनि दायर भएको छ । केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष शर्मा आफूहरुले पनि आईपी टिभीमार्फत प्रसारण भइरहेका अवैध सामग्रीमा रोक लगाउनुपर्ने र सरकारले आफूहरुलाई मात्रै प्रसारण शुल्क लगाएर गरेको अन्याय अन्त्य गर्नुपर्ने माग गर्दै सर्बोच्चमा रिट दायर गरेको बताउँछन् ।

शुल्क बढाउने संकेत

केबल टेलिभिजन महासंघका अध्यक्ष पराजुलीका अनुसार ग्राहक घट्दा कम्पनीहरुको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको छ । आम्दानी घटेपनि सञ्चालन खर्च भने घट्न नसकेकाले अब कसरी व्यवसाय टिकाउने भन्ने चुनौती रहेको उनी बताउँछन् । समस्या समाधानका लागि के गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिन संघभित्र छलफल चलिरहेको पराजुलीले बताए ।

क्लिन फिड लागू गर्दा देखिएको समस्या समाधानका लागि सरकारले बनाएको समितिले पनि काम थालेको छ । टेलिभिजन सेवा प्रदायक र विदेशी च्यानल वितरकको समस्या सुनेर समाधानका उपाय खोज्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सहसचिव डिल्लीराम शर्मा संयोजक रहेको कार्यदल बनाएको थियो ।

सो कार्यदलको पहिलो बैठकमा आफूहरुले ग्राहक घटेको र त्यसले टेलिभिजन सेवा दिन मुस्किल परेको विषय राखेको पराजुलीले बताए । कार्यदलले क्लिन फिड लागू भएपछिका असर, प्रभाव र समस्या पहिचान गरेर २ महिनाभित्र समाधान सिफारिस गर्ने जिम्मेवारी पाएको छ । कार्यदलमार्फत नै अहिले उठेका समस्याहरुको समाधान खोज्न प्रयत्न हुने पराजुली बताउँछन् ।

व्यवसायीले ग्राहक संख्या घटेको र क्लिन फिड सामग्री प्रसारण गर्दा लागत बढेकाले शुल्क समायोजनको लागि समेत वातावरण बनाउनुपर्ने संकेत गरेको कार्यदलको बैठकमा सहभागी सञ्चार मन्त्रालयका एक अधिकारीले बताए । तर, मूल्य बढाएर टेलिभिजनको ग्राहक अझै घट्न सक्ने ती अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment