Comments Add Comment

तथ्यांकमा पीएम कप क्रिकेट : कसले बनाए सर्वाधिक रन र विकेट ?

१८ माघ, काठमाडौं । त्रिभुवन आर्मी क्लबले उपाधि जितेसँगै शनिबार चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएको छ ।

फाइनलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले समूह चरणको हारको बदलासमेत लियो । यसअघि प्रधानमन्त्री कप क्रिकेटको दोस्रो संस्करणमा एपीएफ विजेता बन्‍दा आर्मी उपविजेतामा नै सीमित भएको थियो ।

यस वर्षको विजेता आर्मीले १० लाख रुपैयाँ र उपविजेता एपीएफले ५ लाख रुपैयाँमात्र पुरस्कार पाए । यसअघि तेस्रो संस्करणमा विजेतालाई २० लाख र उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो । काठमाडौंको त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीमा भएको खेलमा धेरै खेलाडीले खेलकौशल देखाउन पाए भने कतिपयले कीर्तिमान पनि राखेका छन् ।

सर्वाधिक रन

बागमती प्रदेश सेमिफाइनलबाट बाहिरिए पनि यो टीमका खेलाडी पृथु बास्कोटाले प्रतियोगिताकै सर्वाधिक रन बनाए । उनले ५ खेलमा दुई अर्धशतकसहित २१५  रन बनाए । उनले २२ चौका र ७ छक्का हानेका थिए ।

सर्वाधिक रन बनाउनेमा एपीएफका आसिफ शेख दोस्रो, त्रिभुवन आर्मीका राजेश पुलामी मगर तेस्रो, नेपाल पुलिसका सुनील धमला चौथो र लुम्बिनीका सौरभ खनाल पाँचौ स्थानमा रहे । आसिफले २०६, राजेशले २०४, सुनीलले १९० र सौरभले १८२ रन बनाए ।

एपीएफका सन्दीप जोरा १८१ रन बनाउँदै छैटौं र आर्मीका कप्तान विनोद भण्डारी १७४ रन बनाउँदै सातौं स्थानमा रहे । इमर्जिङ प्लेअरको अवार्ड प्राप्त गरेका प्रदेश २ का विवेक यादवले २ अर्धशतकसहित १६७ रन बनाए ।

 सर्वाधिक विकेट

राष्ट्रिय टिममा फास्ट बलर अभिनाश बोहराले सर्वाधिक १४ विकेट लिए । एपीएफ क्लबका अभिनाशले ५ खेल खेल्दै १४ विकेट लिए । उनले एउटा खेलमा ५ र अर्कोमा ४ विकेटसम्म लिए । उनको उत्कृष्ट प्रदर्शन ५/१८ थियो ।

यस्तै च्याम्पियन आर्मीका शहाब आलमले ५ खेलमा १२ विकेट लिए । उनको उत्कृष्ट प्रदर्शन ४/२३ थियो । बागमती प्रदेशका गौतम केसीले ३ खेलमा ११ विकेट लिए ।

यस्तै प्लेअर अफ दि टुर्नामेन्ट बनेका एपीएफका कमल सिंह ऐरी, बागमतीका रामनरेश गिरी र आर्मीका सुशन भारीले समान १० विकेट लिए । एपीएफका भुवन कार्कीले ९ विकेट लिए । १२ खेलाडीले समान ८ विकेट लिएका थिए ।

दुई शतक, ३० अर्धशतक

यस पटक दुई शतक र ३२ अर्धशतक प्रहार भए । उद्घाटन खेलमै आर्मीका कप्तान विनोद भण्डारीले गण्डकी विरुद्ध अविजित १११ रन बनाएका थिए । यस्तै समूह चरणमा नेपाल पुलिस क्लबका सुनील धमलाले लुम्बिनी प्रदेशविरुद्ध १०४ रन बनाए । धमलाले एक अर्धशतकसमेत प्रहार गरे ।

एपीएफका आसिफ शेखले सर्वाधिक ३ अर्धशतक प्रहार गरे । धमलासंगै लुम्बिनीका सौरभ खनाल, प्रदेश २ का हरिशंकर शाह र विवेक यादव तथा बागमती प्रदेशका आदिल खान र पृथु बास्कोटाले २-२ अर्धशतक प्रहार गरे ।

यस्तै अरु १७ खेलाडीले समान एक अर्धशतक प्रहार गरे ।

मिडल अर्डरमा ब्याटिङ गरेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले एउटा अर्धशतकसमेत प्रहार गर्न सकेनन् ।

सर्वाधिक छक्का र चौका

एपीएफका आसिफ शेखले प्रतियोगिताभर सर्वाधिक १३ छक्का प्रहार गरे । यस्तै प्रदेश २ का विवेक यादव, आर्मीका लोकेश बम र राजेश पुलामी मगरले समान १० छक्का प्रहार गरे ।

लुम्बिनीका सौरभ खनाल ९ तथा लुम्बिनीका कप्तान कृष्ण कार्की र गण्डकीका कप्तान विपिन खत्रीले समान ८ छक्का प्रहार गरे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र पवन सर्राफ तथा बागमतीका पृथु बास्कोटाले ७-७ छक्का प्रहार गरे ।

दीपेन्द्र, पवन र आसिफले एकै खेलमा ६ छक्का प्रहार गरेका थिए । दीपेन्द्र र पवनले लुम्बिनीविरुद्धको खेलमै ६ छक्का प्रहार गरेका थिए ।

यसैगरी पृथु बास्कोटाले सर्वाधिक २२ चौका प्रहार गरे । आसिफ शेखले १९ चौका प्रहार गर्दा बागमतीका आदिल खानले १८ चौका प्रहार गरे । एपीएफका सन्दीप जोरा, लुम्बिनीका सौरभ खनाल र  पुलिसका सुनील धमलाले समान १७ चौका प्रहार गरे ।

सबैभन्दा छिटो शतक र अर्धशतक

पीएम कप इतिहासमै सबैभन्दा छिटो शतक र अर्धशतकको कीर्तिमान यही संस्करणमा बन्यो । आर्मीका विनोद भण्डारीले गण्डकीविरुद्ध नटआउट १११ रन बनाउँदा ७३ बलमै शतक प्रहार गरेका थिए । जुन पीएम कपमा सबैभन्दा छिटो हो ।

यस्तै पुलिसका पवन सर्राफले लुम्बिनीविरुद्ध १३ बल खेल्दै अर्धशतक प्रहार गर्दै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका थिए ।

यस्तै पीएम कपको सबैभन्दा ढिलो शतक पनि यसै संस्करणमा बन्यो । पुलिसका सुनील धमलाले लुम्बिनी विरौध १४२ बल खेल्दै शतक पूरा गरेका थिए । तेस्रो संस्करणमा गण्डकीका अनिल गुरुङले १४१ बलमा शतक पूरा गरेका थिए ।

विशालको ह्याट्रिक

चौथो संस्करणमा जम्मा एउटा मात्र ह्याट्रिक भयो । गण्डकीका विशालले समूह चरणमा प्रदेश १ विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । उनले खेलको २८ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिएका थिए ।

पुरस्कार राशी : कसले कति पाए ?

विजेता : त्रिभुवन आर्मी क्लब (१० लाख)

उपविजेता : एपीएफ (५ लाख)

सेमिफाइनलबाट बाहिरिने दुई टिम : नेपाल पुलिस र बागमती प्रदेश (५०-५० हजार)

बेस्ट प्लेअर : कमल सिंह ऐरी  (५० हजार)

बेस्ट ब्याट्सम्यान : पृथु बास्कोटा, बागमती प्रदेश (२५ हजार)

बेस्ट बलर : शहाब आलम, त्रिभुवन आर्मी (२५ हजार)

इमर्जिङ प्लेअर : विवेक यादव, प्रदेश २ (१५ हजार )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment