१९ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।
शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ ।
अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्शी सर्टले ३० रन योगदान गरे । यस्तै जेजे स्मिथले २१ र निरोशन डिकवलेलाले १७ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ओपनर सुमित महर्जनलाई पहिलो बलमै गुमाएको थियो । तर डार्शी सर्ट र कप्तान रोहित पौडेलले दोस्रो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । सर्टले २४ बल खेल्दै १ चौका र २ छक्का मदतमा ३० रन जोडे ।
त्यसपछि रोहितले विकेटकिपर निरोशन डिकवेलासँग मिलेर इनिङ्स अगाडि बढाउका थिए । तर १२औं ओभरमा लुम्बिनीले लगातार दुई विकेट गुमायो । जनकपुरका मयन यादवले १२औं ओभरको पाँचौ बलमा रोहित र छैटौं बलमा सन्दिप जोरालाई एलबीडब्लु धरापमा पारेपछि खेल रोमाञ्चक बनेको थियो ।
मयनले दुवै विकेटका लागि कडा अपिल गरेपछि अम्पायरले ढिला आउट दिएका थिए ।
त्यसपछि लुम्बिनीका लागि डिकवेलाले १७ र जेजे स्मिथले २१ रन योगदान गरेका थिए । दिलीप नाथले अविजित १५ रन बनाए ।
बलिङमा जनकपुरका लागि संगीथ कुरेले ३, मयन यादवले २ तथा सञ्जय कृष्णमुर्तीले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको डिफेण्डिङ च्याम्पियन जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
जनकपुरका लागि संगीथ कुरले ३८ बल खेल्दै २ चौका र १ छक्का मदतमा सर्वाधिक ४५ रन बनाए । यस्तै मयन यादवले २३ बल खेल्दै १ चौका र १ छक्का मदतमा अविजित २७ रन योगदान गरे ।
८३ रनमा ६ विकेट गुमाएको जनकपुरका लागि संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको साझेदारी गरे ।
ओपनर आसिफ शेखले १७ बलमा २ चौका र १ छक्का प्रहार गरी २० रन बनाए । सञ्जय कृष्णमुर्तीले १४ र शुभ कंसाकारले ११ रन जोडे । अनिल शाह ७ र माज सदाकत ६ रनमा आउट भए ।
बलिङमा लुम्बिनीका शेर मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिए । शेरले ४ ओभरमा २० र रोहितले २ ओभरमा १६ रन खर्चिए । यस्तै जेज स्मिथ र रुबेन ट्रम्पल्मयानले समान १ विकेट लिए ।

प्रतिक्रिया 4