Comments Add Comment

ओली उदय भएको प्रणालीमै वामदेवले औंल्याए खोट

१८ माघ, काठमाडौं । एमाले र माओवादीबीच एकता गर्न १३ वर्ष खर्च भएको र फेरि पनि एकतावद्ध नेकपाको विकल्प नभएको निष्कर्षमा उभिएका वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान सुरू गरेका छन् ।

आफ्नै संयोजकत्वमा सुरू अभियानलाई प्रष्ट पार्न गौतमले तीन पुस्तक सार्वजनिक गरेका छन्– मार्क्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन्, एक्साइसौं शताब्दीको कम्युनिस्ट पार्टी र नेपाली जनताको समृद्धिको कार्यक्रमः बहुदलीय समाजवाद ।

यी पुस्तकहरूमा कम्युनिस्ट पार्टीको संगठनात्मक संरचना तथा नेतृत्व चयन प्रणाली, मार्क्सवाद–लेनिनवादमा आधारित नेपाली कम्युनिस्ट पार्टीको सिद्धान्त र कम्युनिस्ट पार्टीको कार्यभार उधिन्ने प्रयास गरिएको छ ।

नेकपा विभाजनको एक महिनापछि सार्वजनिक यी पुस्तकहरूबाट गौतमले छुट्टै पार्टी दस्तावेजको झल्को पनि दिएका छन् । तर, उनी स्वयम् भने यी पुस्तकहरूले नेकपा जोड्न र शक्तिशाली एकीकृत पार्टी निर्माणमै बल पुर्‍याउने दावी गर्छन् ।

मार्क्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन पुस्तकमा गौतमले विश्व कम्युनिस्ट आन्दोलनबारे संक्षेपमा उल्लेख गर्दै पूर्वएमालेले अपनाएको संगठनात्मक संरचना तथा नेतृत्व चयन प्रणाली, मार्गदर्शक सिद्धान्त (जनताको बहुदलीय जनवाद) को व्याख्या र पार्टीबाट भएका कमजोरी औंल्याइएको छ ।

जबजले परिकल्पना गरेको पार्टी, नेतृत्व चयन प्रणाली र सिद्धान्त ठीक ढंगले नबुझ्दा अहिलेको संकट आएको गौतमको निष्कर्ष छ । नेकपा बन्नुअघिको एउटा धार माओवादीबारे धेरै चर्चा नगरेका गौतमले अहिलेको नेतृत्व निरंकुश हुनुमा लेनिनवादी संगठनात्मक प्रणालीको तोडमोड भएको सार प्रस्तुत गरेका छन् ।

नेतृत्व चयन प्रणालीमै समस्या !

पूर्वएमालेले आठौं र नवौं महाधिवेशनबाट जस्तो प्रणालीबाट नेतृत्व चयन गर्‍यो, त्यही प्रणालीमा गौतमले खोट औंल्याएका छन् । पार्टी विभाजनमै पुर्‍याएको स्थायी गुटबन्दी र मुख्य नेतृत्वमा स्वेच्छाचारी/निरंकुश प्रवृत्ति देखिनुमा नेतृत्व चयन प्रणालीलाई दोष दिइएको छ ।

महाधिवेशन हलबाटै पार्टी अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नुले पार्टीलाई पूँजीवादी पार्टीहरुको अनुशरणतर्फ लगेको गौतमको बुझाइ छ । ‘महाधिवेशनका प्रतिनिधिसधहरुबाट एकैपटक पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सदस्यहरु निर्वाचित गराइयो । कम्युनिस्ट पार्टीको नेतृत्व निर्माणसम्बन्धी स्थापित सैद्धान्तिक मान्यता भन्दा यो फरक मान्यतामा आधारित थियो’, उनले लेखेका छन् ।

पूर्वएमालेको आठौं महाधिवेशनबाट सुरु गरिएको यो प्रणाली अनुसार, झलनाथ खनाल र केपी शर्मा ओलीको नेतृत्वमा पार्टी संरचना निर्माण भएको थियो ।

आठौंमा खनालसँग पराजित भएका ओली नवौंबाट अध्यक्ष बने । यी दुई महाधिवेशनले लिएको नेतृत्व चयन प्रणालीकै कारण पार्टीभित्र गुटबन्दी बढेको गौतमले उल्लेख गरेका छन् । ‘मुख्य नेताहरु निर्वाचित गर्ने प्रणालीको परिणाम विगतका दुवै महाधिवेशनपछि केन्द्रीय कमिटीमा स्थायी गुटबन्दी देखा पर्‍यो । गुटबन्दीका कारण पार्टी जति सशक्त रुपमा अगाडि बढ्नुपर्ने हो, सकिएन । पार्टीमा हार्दिकता, विनम्रता र कमरेडली भावनाको विकास हुन सकेन’, उनको निष्कर्ष छ । नवौं महाधिवेशन पछि पार्टी अघोषित रुपमा दुई गुटको मोर्चा बनेको गौतमको विश्लेषण छ ।

पूर्वएमालेले अपनाएको नेतृत्व चयन प्रणालीकै कारण अहिलेको संकट आएको व्याख्या उनको छ । तर, खनाल र ओलीको नाम भने कतै उल्लेख छैन । माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष बनेपछि नै ओलीको पार्टी र राष्ट्रिय राजनीतिमा उदय भएको थियो । पार्टी नेतृत्वकै हैसियतमा ओली दुईपटक प्रधानमन्त्री बने । २०७२ को संविधान पछि प्रधानमन्त्री बनेका ओलीले २०७४ को निर्वाचनपछि पाँच वर्षे स्थिर सरकारको नेतृत्वमा पुगे । तर, पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन हुन नसक्दा दुई वर्ष कार्यकाल बाँकी रहँदै ओलीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा विघटन गरे ।

हलबाट निर्वाचित भएर पार्टी नेतृत्वमा पुगेका ओलीले पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बहुमतले भन्दैमा राजीनामा नदिने अडान लिए । ओलीको त्यही अडान र बहुमतको गुटबन्दीकै कारण एकता भएको तीन वर्ष नपुग्दै नेकपा विभाजित भएको छ ।

गौतमका अनुसार, पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी तर्फ नभएर महाधिवेशनप्रति उत्तरदायी हुने यो प्रणालीबाट चयन भएका प्रमुख नेतामा निरंकुश र स्वेच्छारी प्रवृत्ति देखियो । ‘महाधिवेशन हलबाट निर्वाचिन कुने पार्टीका मुख्य नेताले केन्द्रीय कमिटी होइन, आफू निर्वाचित भएको संस्था महाधिवेशन प्रति उत्तरदायी हुने तर्क राख्न सक्छन् । साथै मुख्य नेता निरंकुश हुने सम्भावना प्रवल हुन सक्छ ।’

केन्द्रीय कमिटीबाट मुख्य नेता

गौतमले कम्युनिस्ट पार्टीको मुख्य नेता केन्द्रीय कमिटीबाट चयन हुनुपर्ने सुझाव पेस गरेका छन्, भलै अहिले कम्युनिस्ट पार्टीको तत्कालको कोर्ष यो होइन । गौतमले दिएको सुझाव पूर्वएमालेले सातौं महाधिवेशनसम्म अभ्यासमै थियो । हलबाट मुख्य नेता चयन हुन्थेन । महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने र उक्त केन्द्रीय कमिटीले महासचिव/उपमहासचिव चयन, विभागीय जिम्मेवारी इत्यादि तोक्ने गर्थ्यो ।

तर, यो प्रणाली छोडेको १० वर्षमा पार्टीले राष्ट्रव्यापी गुटबन्दी, समूहबद्धता र अराजकता व्यापकरुपमा भोग्न परेको गौतमले उल्लेख गरेका छन् । ‘हलबाट पार्टीको प्रमुख नेता र नेतृत्वपंक्ति निर्वाचन गर्ने प्रणाली राजनीतिक पार्टीका निम्ति उपयुक्त छैन भन्ने पुष्टि भएको छ’, उनको उल्लेख गर्छन् । यो अवधिमा पार्टीभित्र कतिपय घटनाहरु घिनलाग्दा देखिएको गौतमले लेखेका छन् ।

उनको सार छ– नेताहरुको बीचबाट निर्वाचित भएर मात्र त्यसको मुख्य नेता बन्न सक्छ । महाधिवेशनको हलबाट मुख्य नेता निर्वाचित गर्ने प्रणाली कम्युनिस्ट पार्टीको सिद्धान्त सम्मत छैन ।

‘…केन्द्रीय पदाधिकारीहरू नेताहरुका पनि नेता रहेका हुन्छन् । केन्द्रीय कमिटीले आफ्नो नेतृत्व गर्ने नेताहरुको निर्वाचन गर्न पाउने अधिकारलाई कटौती गरी महाधिवेशन हललाई दिने व्यवस्थाले केन्द्रीय कमिटीको मुख्य नेताहरु केन्द्रीय कमिटीमै अल्पमतमा पर्ने प्रवल सम्भावना हुन्छ’, उनको दाबी छ ।

पार्टी संरचनाहरु लोकतान्त्रिक गर्ने नाममा पार्टी कमिटीहरु निर्माण गर्ने सैद्धान्तिक मान्यता भन्दा फरक किसिमले कमिटीहरुको निर्माण गर्न थालिनुलाई उनले नेकपा संकटको कारण मानेका छन् । पार्टीलाई लोकतान्त्रिक बनाउन भनेर पूर्वएमालेले आठौं महाधिवेशन देखि हलबाटै सबै नेतृत्व चयन गर्ने प्रणाली शुरू गरेको थियो । त्यसबेला गौतमको पनि सहमती थियो । विशेष गरी युवा नेताहरुको जोडबलमा स्थापित यो प्रणालीलाई अहिले गौतमले त्रुटिपूर्ण मात्रै भनेका छैनन्, मुख्य नेता निरंकुश हुनुको आधार मानेका छन् ।

नेकपा एकीकरणका बेला बनाइएको ४४१ सदस्यीय केन्द्रीय कमिटीको संख्या पनि अनुपयुक्त भएको निष्कर्षमा पुगेका गौतम, भएभरका सदस्यहरु राखेर कमिटी निर्माण गर्न र छुट्टाछुट्टै जिम्मेवारी बहन नगर्ने गरी गरिएको कार्यविभाजन सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको सिद्धान्त बमोजिम मान्दैनन् ।

सयौंदेखि हजारौं सदस्य संख्या रहने गरी केन्द्रीय कमिटीदेखि स्थानीय तहसम्मका कमिटीहरु बनाइएका छन् । भए भरका सदस्यहरु राखेर कमिटी निर्माण गर्न र छुट्टाछुट्टै जिम्मेवारी बहन नगर्ने गरी गरिएको कार्यविभाजन सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको सिद्धान्त बमोजिम छैन । ‘नेपालको एउटा कम्युनिस्ट पार्टीले ४४१ सदस्य रहेको केन्द्रीय कमिटी बनाएजस्तै चीनको कम्युनिस्ट पार्टीले पनि यही अनुपातमा बनाउने हो भने उसको केन्द्रीय कमिटीको सदस्य संख्या ५२ हजार भन्दा बढी हुन्छ ।’

तर, एउटै कम्युनिस्ट पार्टी बनाउन उद्देश्य एकता गर्दा जम्बो कमिटीहरु बने पनि मुख्य नेतृत्वले सही व्यवस्थापन गर्न नसक्दा नेकपा विभाजित हुन पुगेको गौतमको बुझाइ छ । ‘नेपालको इतिहासमा ज्यादै उज्वल सम्भावना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नै नेतृत्व तहमा उत्पन्न भएका स्वाभाविक मतभिन्नताहरुको सही व्यवस्था गर्न नसक्दा ठूलो दुर्घटनाको शिकार भएको छ । अहिले राजनीतिक रुपमा पार्टी दुई समूहमा विभाजित भएको छ’, उनको सारांश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment