७ कात्तिक, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा समाहित भएको तीन महिना नाघ्यो ।
गत साउन २ गते काठमाडौंमा आयोजित एक कार्यक्रमबीच माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा एकता अभियानबीच एकता भएको थियो ।
एकतापछि एकीकृत समाजवादीमा गौतम तेस्रो वरियताको नेताको रूपमा रहेका छन् । तर, अझैसम्म गौतम नेतृत्वको पार्टीको अभिलेख भने निर्वाचन आयोगमा यथावत् छ ।
निर्वाचन आयोगका अनुसार हाल दल दर्ताको संख्या १२४ छ । उक्त सूचीको १११ नम्बरमा गौतम नेतृत्वको पार्टी छ ।
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको रुपमा रहेको पार्टीको संयोजकमा वामदेव गौतम रहेका छन् । यो पार्टीको चुनाव चिन्ह दुई रेखा भएको अर्ध गोलाकार भित्र झुकेका धानका तीन बाला रहेको छ ।
यो सूची निर्वाचन आयोगले अद्यावधिक सूची हो । जसको अन्तिममा जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टी छ । यो पार्टीलाई निर्वाचन आयोगले गत असोज २८ गते मान्यता दिएको थियो ।
निर्वाचन आयोगका अनुसार एकता गरेपछि सम्बन्धित दलले विवरण नपठाउँदा यस्तो भएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरे भन्छन्, ‘उनीहरूको विवरण अद्यावधिक हुन बाँकी छ ।’
प्रतिक्रिया 4