
News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो तहका नेताहरु साक्षी राखेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले एक घण्टा लामो सम्वाद गरेका छन् ।
- माधव नेपालले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव खनालले राखेका थिए । \'तपाईंले कसैलाई कार्यवाहक दिनुस्’, पूर्वप्रधानमन्त्री खनालले भनेका थिए ।
- माधव र झलनाथको छलफलपछि झलनाथ र वामदेव गौतमबीच डल्लुमा चार घण्टा लामो सम्वाद भएको थियो ।
२५ साउन, काठमाडौं । एकअर्काविरुद्ध चर्को सार्वजनिक अभिव्यक्ति दिइरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एक घण्टा लामो सम्वाद भएको छ ।
एकअर्कालाई पार्टी छोड्न सुझाव दिने तहकै आरोप–प्रत्यारोपमा नेपाल र खनाल उत्रिएपछि दोस्रो तहका नेताहरुले छलफलमा राखेका हुन् । नेताहरु बेदुराम भुसाल र प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालले दुई नेतालाई छलफलमा राखेका थिए ।
केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बिहान ९ बजेदेखि छलफल सुरु भएको थियो । ‘छलफलले सम्वाद सुरु गर्यो । अहिलेलाई योभन्दा बढी भन्न सकिन्न’ एक सहभागीले भने । उनका अनुसार छलफलमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालले आफ्नो भनाइबारे प्रष्टोक्ति दिन खोजेका थिए ।
खनालले विद्रोह पुष्टि गर्न नसकिएको कुरा नौलो नभएको बताएका थिए । ‘हामीले विद्रोहको पुष्टि गर्न गम्भीर ढंगले कदम चाल्नुपर्छ भन्ने मेरो पुरानै कुरा हो, यसमा केही थपेको छैन’, खनालले भनेका थिए । तर आफ्नो भनाइप्रति पार्टी अध्यक्षले बोलेका कुरामा आपत्ति जनाएका थिए ।
माधव नेपालले ‘विद्रोह पुष्टि गर्न सकिएन भन्ने अभिव्यक्ति दिनेलाई पार्टीबाट बिदा गरिने’ बताएका थिए । यो छलफलमा अध्यक्ष नेपालले आफ्नो आसय पार्टी छोडेर हिँड्नु भन्ने नभएको बताएका थिए ।
‘दुवै जनाले आफ्नो आसय प्रष्ट्याउन खोज्नुभयो । तर कुनै ठोस निष्कर्षमा पुगिसकेको भने होइन’, स्रोतले भन्यो । पूर्वप्रधानमन्त्री खनालले लिएको अडानले छलफल निष्कर्षमा नपुगेको स्रोत बताउँछ ।
‘झलनाथ खनालले अडान छोड्नु भएन । उहाँले पार्टी छोडेर जानुपर्छ भन्ने माधव नेपालको भनाइसँगै समग्र राजनीतिक कोर्सकै निकास दिनुपर्ने अडान लिनुभयो’, स्रोत भन्छ ।
माधव नेपालले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव खनालले राखेका थिए । ‘जस्तो केस छ, मार्ग प्रशस्त गर्नु तपाईंकै हितमा हुन्छ’ खनालको भनाइ थियो । पतञ्जली जग्गा प्रकरणमा माधव नेपालको व्यक्तिगत मुद्दा भएकाले पनि मार्ग प्रशस्त आवश्यक रहेको खनालले तर्क गरेका थिए ।
‘अदालतमा मुद्दा चलिरहेको छ । यस्तोमा तपाईंले कसैलाई कार्यवाहक दिनुस्’, पूर्वप्रधानमन्त्री खनालले भनेका थिए । एक नेताका अनुसार पूर्वप्रधानमन्त्री खनालको अडानले छलफललाई अगाडि बढ्न दिएन ।
माधव नेपालले भने विगतका सम्बन्ध सम्झाएका थिए । ‘तपाईं हाम्रो सम्बन्ध र संघर्ष अहिलेको होइन, लामो छ । यो कुरा तपाईं हामी नै बढी बुझ्छौं’, माधव नेपालले भनेका थिए ।
तर नैतिकता र राजनीति सँगसँगै मात्र जान सक्ने खनालको अडान रह्यो । यसपछि माधव नेपालले पूर्वनिर्धारण कार्यक्रममा जानुपर्ने भन्दै छलफल टुंग्याएका थिए । छलफल सकेर माधव नेपाल तराईका जिल्लाहरुको कार्यक्रममा निस्किएका छन् ।
माधवलाई भेटेपछि झलनाथ र वामदेवबीच भेटवार्ता

आलोकनगरबाट निस्किएपछि खनालले भने वामदेव गौतमसँग लामो छलफल गरे । माधव नेपालसँग कुरा भएको सूचना पाएपछि वामदेव गौतम खनाललाई भेट्न डल्लु नै पुगेका थिए । डल्लुमा चार घण्टा बढी समय खनाल र गौतमबीच सम्वाद भयो ।
सम्वादमा अध्यक्ष माधव नेपालसँगकै सम्बन्ध, पार्टीको भावी कार्यदिशा लगायतबारे छलफल भएको थियो ।
स्रोतका अनुसार माधवले आफूलाई झुक्याएको वामदेवले गुनासो गरेका थिए ।
गत असार २ गते माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकता घोषणा भएको थियो । तर वामदेवले आफूलाई पार्टीमा कुनै जिम्मेवारी नदिइएको गुनासो गर्दै आएका छन् । एक सार्वजनिक कार्यक्रममा उनले जिम्मेवारी नपाए लामो समय पार्टीमा रहन नसक्ने बताएका थिए ।
प्रतिक्रिया 4