
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि र पार्टी विभाजन गलत भएको बताएका छन्।
- पार्टी अध्यक्ष माधवकुमार नेपालले खनाललाई पार्टीबाट बिदा भएर जान सुझाव दिएका छन् र तानाशाही शैलीको आरोप लगाएका छन्।
- खनाल र नेपालबीच वैचारिक र संगठनात्मक मतभेदले पार्टीमा गुट निर्माण र नेतृत्व संघर्ष बढेको छ।
१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले दिएको टेलिभिजन अन्तर्वार्ता र त्यसको जवाफमा पार्टी अध्यक्ष माधवकुमार नेपालले जनाएको प्रक्रियाले नेकपा एकीकृत समाजवादीभित्र बढेको उकुस–मुकुस छरपस्ट भएको छ ।
इमेज टेलिभिजनमा पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री खनालले पार्टीभित्र बढेको असन्तुष्टि सार्वजनिक गरेका छन् । आफ्नो मत राख्ने क्रममा खनालले एमाले विभाजन गर्नु नै गलत भयो भन्ने निष्कर्ष सुनाएका थिए ।
‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’ खनालले भनेका छन्, ‘एमालेमा जुन विद्रोह गरियो, त्यो विद्रोह पुष्टि नै भएन अहिलेसम्म । पुष्टि नहुनुको अर्थ गलत गरियो ।’
पार्टीका सम्मानित नेता खनालले एमाले विभाजन गर्नु गलत रहेको बताएपछि त्यसको जवाफमा अध्यक्ष नेपालले अझ चर्को भाषामा प्रतिक्रिया जनाएका छन् । विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले खनाललाई पार्टीबाट बिदा भएरै जान सुझाव दिए ।
‘अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ नेपालले हाँस्दै भने, ‘त्यो हो (बोलेको) भने पार्टीबाट बिदा गरिदिनुपर्छ नि ! यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि ! नैतिक आधारै छैन, खुरुक्क राजीनामा दिनुपर्छ । बिदा भएर जानुपर्छ ।’
आफ्नो अभिव्यक्तिको जवाफमा अध्यक्ष नेपालको जवाफले खनाल थप आक्रोशित छन् । पूर्वप्रधानमन्त्री खनाल, यो समस्याको समाधान कस्तो हुन्छ भन्ने हेर्न बाँकी रहेको बताउँछन् । ‘यस्तो बोलेकोमा स्याब्बास ! सानो होइन, धेरै ठूलो स्याब्बास !’ अनलाइनखबरसँग पूर्वप्रधानमन्त्री खनालले भने, ‘समस्या हुन्छ भने समाधान पनि हुन्छ । यो समस्याको पनि समाधान होला । कस्तो समाधान हुन्छ भन्ने हेर्नुपर्छ ।’
पार्टीबाट बिदा गरिन्छ भन्ने माधव नेपालको भाषालाई खनालले तानाशाही शैली भनेका छन् । ‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन । यदि मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो । तर त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो ।’
अन्तर्वार्ताका क्रममा खनालले पार्टी नेतृत्वप्रति चर्कै असन्तुष्टि जनाएका छन् । खनालका अनुसार, पार्टी संस्थागत रूपले चल्न सकेको छैन भने सैद्धान्तिक–राजनीतिक रूपमा प्रष्ट हुन सकेको छैन ।
पार्टी संस्थागत रूपले नचलेको उदारहण दिन समाजवादी मोर्चाको गतिविधि, माओवादीसँग एकताको प्रसंग र वामदेव गौतमलाई पार्टी भित्र्याउन अपनाइएको प्रक्रियालाई प्रस्तुत गरेका छन् ।
वामदेव गौतम आफ्ना पुराना मित्र, जसले संकटकै बेला साथ दिएको भएपनि उनलाई भित्र्याउन अपनाइएको शैलीप्रति खनालको असन्तुष्टि छ । यद्यपि वामदेव गौतमले पार्टी प्रवेश गरेकोमा खुशी नै बनेको खनालले बताएका छन् ।
समाजवादी मोर्चा र माओवादीसँग एकताको प्रसंगमा भने नेता खनालले सिधा असन्तुष्टि छ । ‘आफ्नो पार्टीको नीति के हो ? कार्यक्रम के हो ? भन्ने प्रष्ट हुनुपर्यो । त्यही नै हाम्रो पार्टीले गरेको छैन’ खनालले भनेका छन्, ‘महाधिवेशन भएको १३ महिना कट्दैछ । अहिलेसम्म हाम्रो पार्टीले पास गरेको कार्यक्रम प्रकाशन भएको छैन ।’
तर पार्टीले गर्नुपर्ने आधारभूत काम छोडेर माओवादीसँग एकता भन्ने हो भने माधव नेपाल स्वतन्त्र रहेको खनालको भनाइ छ । पतञ्जली जग्गा प्रकरणमा समेत खनालले नेपाललाई नेतृत्व छोड्न संकेत गरेका छन् । ‘राजनीति र नैतिकता’ जोडिएर जाने बताएर नेपाललाई खनालले विकल्प दिन सुझाव दिएका छन् ।

यथास्थितिमा पार्टी चल्न नसक्ने तर्क सहित खनालले भनेका छन्, ‘वैचारिक रूपले पुनर्गठन, राजनीतिक रूपले पुनर्गठन, सैद्धान्तिक रूपले पुनर्गठन, सांगठानिक रूपले पुनर्गठन, कार्यशैलीको पुनर्गठन, हरहिसाबले पुनर्गठन गर्न जरुरी छ ।’
खनालले गरेका यी प्रश्नहरूको जवाफ पनि अध्यक्ष नेपालले दिएका छन् । नेपालले भनेका छन्, ‘संस्थागत निर्णय उल्लङ्घन गर्नेमा उहाँ (झलनाथ खनाल) नम्बर वान हुनुहुन्छ । त्यसो हुँदा उहाँको कुराको कुनै अर्थ छैन ।’
उक्त पार्टीका एक नेता भने यी दुई बुढो नेताको बोझले एकीकृत समाजवादी चल्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘उहाँहरू एकअर्कालाई स्वीकार्नु हुन्न । एकले अर्कालाई दोष दिएर बस्नु भा’छ’ उनी भन्छन्, ‘माधवलाई झलनाथले हैरान बनाए भन्ने परेको छ, झलनाथलाई माधवले वास्ता गरेन भन्ने छ ।’
घटनाक्रम हेर्दा पनि एकीकृत समाजवादीको अलमलमा यिनै दुई नेताको अडान कारण देखिन्छ । एकीकृत समाजवादी गठन लगत्तैबाट नेपाल र खनालले फरक अडान लिंदै आएका छन् ।
९ भदौ २०७८ मा एमालेबाट अलग हुँदा नेपालले ‘नयाँ पार्टी गठन’ भनेका थिए भने खनालले ‘एमालेबाट विद्रोह’ भनेका थिए । पछि खनालकै निष्कर्षमा पार्टी उभियो ।
सैद्धान्तिक संघर्ष अझै टुंगिएको छैन । पूँजीवादी–जनवादी क्रान्ति २०६३ सालमा सम्पन्न भएको निष्कर्ष सहित खनालले वैज्ञानिक समाजवाद स्थापना गर्न समाजवादी क्रान्ति आवश्यक रहेको तर्क गर्दै आएका छन् । तर अध्यक्ष नेपाल भने जनताको बहुदलीय जनवाद (जबज) छोड्न नहुने अडानमा छन् ।
यद्यपि अरू कम्युनिस्ट पार्टीसँग निकटताका सन्दर्भमा नेपाल र खनालको उल्टो अडान छ । जबजले अब काम नगर्ने निष्कर्षमा रहेका खनाल एमालेसँग नजिक छन् । २०७९ सालको आम चुनावपछि खनालले लगातार एमालेसँग सामिप्यता देखाउने गरेका छन् । एकताकै प्रसंगमा पनि एमाले सहितको वाम एकता गर्नुपर्ने खनालले वकालत गर्दै आएका छन् ।
तर जबज छोड्न नमान्ने माधव नेपाल भने माओवादीतर्फ नजिक छन् । तत्कालीन नेकपाको विभाजन र एकीकृत समाजवादीको गठन पछि लगातार माओवादीसँग एकताको चर्चा हुँदै आएको छ । एकपटक त माओवादीसँग एकता गर्ने भनेर वार्ता समिति नै गठन गरिएको थियो । पार्टीको यस्तो निष्कर्ष र निर्णयप्रति झलनाथ खनालको विमति छ ।
गत १३ साउनमा एकीकृत समाजवादीकै कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकमा त एमालेसँग रुझान राख्ने झलनाथ खनाललाई सहभागी नै गराएन् । खनालको साटो नवप्रवेशी वामदेव गौतमलाई बैठकमा सहभागी गराएको थियो ।
स्वभाव र दख्खलकै हिसाबले पनि दुई नेता मिल्दैनन् । संगठनात्मक क्षमतामा खनालभन्दा नेपाल अगाडि छन् भने वैचारिक विश्लेषण गर्न खनाललाई नेपालले टक्कर दिएको पाइँदैन ।
राष्ट्रिय राजनीतिक घटना र निर्णयमा पनि लगातार नेपाल–खनाल संघर्ष चल्दै आएको छ । भू–राजनीति, सत्ता समीकरण, शक्ति–संघर्ष हरेक घटनामा नेपाल र खनालबीच मतभेद चल्दै आएको छ । पार्टीभित्रको गुट निर्माण पनि यी दुई नेतालाई छाता बनाएरै निर्माण हुँदै आएको छ ।
कतिपय संगठनहरूमा समानान्तर कमिटी अध्यासमा छन् । अनेरास्ववियूको समानान्तर नेतृत्व पछिल्लो उदाहरण हो । मतभेद र अलमलमा पार्टी परेपछि थुप्रै नेताहरू एमाले फर्किसकेका छन् । मतभेदकै कारण केही पटक त जारी भइसकेको अपानि नै सच्याइएका घटना छन् । यसरी पार्टी गठनदेखि चल्दै आएको शक्ति संघर्ष अहिले एकअर्कालाई पार्टी छोड्न सार्वजनिक चेतावनी दिने तहसम्म पुगेको छ ।
प्रतिक्रिया 4