Comments Add Comment

संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्षको विरोध

१९ माघ, काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरेकोमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोध गरेका छन् ।

तिमल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाएका हुन् । सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवन समेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै उनले भने, ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा मैले आपत्ति जनाउनु परेको हो ।’

अधिकार प्राप्त निकायबाट आएको पत्र दुवै सदनको सम्पत्ति भएको भन्दै उनले पत्र फिर्तासम्बन्धी ‘गलत प्रक्रिया’मा राष्ट्रियसभा संलग्न नरहेको समेत बताएका छन् ।

३० मंसिर बिहान बसेको संवैधानिक परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि सरकारले अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ अर्को बोलाइएको थियो ।

बैठकमा सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी भएको त्यो बैठकमा नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताइएको थियो ।

तर ५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो । त्यो पत्र सभामुख सापकोटाले आइतबार संवैधानिक परिषद्मै फिर्ता पठाएका थिए ।

राष्ट्रियसभा अध्यक्ष बोली फेरे

३० मंसिरमा तीन जना मात्र उपस्थित भएको संवैधानिक परिषद्को बैठकपछि राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले बीबीसी लगायतका सञ्चारमाध्यमलाई संवैधानिक निकायहरुमा नियुक्ति सिफारिसमा छलफल भएपनि निर्णय नभएको बताएका थिए ।

तर सोमबार पत्रकार सम्मेलनमा उनले बोली फेरे । आफू समेत संलग्न भएको संवैधानिक परिषद्ले विधिसम्वत निर्णय गरेको र संसद विघटन अगाडि नै संसद सचिवालयका महासचिव एवं सुनुवाइ समितिको सचिवलाई उपलब्ध गराएको दाबी गरेका छन् ।

तर ३० मंसिरमा त तपाईंलाई नै उद्धृत गरेर निर्णय भएको छैन भनेर सञ्चार माध्यामहरु आएको थियो नि भन्ने प्रश्नमा उनले भने, ‘कोट छोडिदिनुस्, यात्रो सिफारिस भइसक्यो, मैले वक्तव्यमा राखिसकेको छु त किन चाहियो ?’ बदनियत देखियो नि भन्ने प्रश्नमा उनि झोक्किए, ‘कसको बदनियत ? कसैले के प्रचार गर्ने बदनियत हुन्छ थाहा छैन ।’

तर त्यो बेलामा त निर्णय भएको छैन भन्नु भएको थियो नि त भन्ने प्रश्नमा उनले भने, ‘बैठकमा भएका कतिपय कुरा त्यतिबेला बाहिर ल्याउने कुरा हुन्छ, कुनै पछि हुन्छ ।’

त्यसो भए सभाध्यक्षले भनेको कुरा पनि केही समयपछि अर्को हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘मैले अहिले जे भनेको छ, त्यसलाई मान्नुस् न ।’

यो पनि पढ्नुहोस सभामुखले फिर्ता गरे संवैधानिक परिषदको नियुक्ति सिफारिस (पत्रसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment