Comments Add Comment

सेनाका बख्तरबन्द भोलि पनि सडकमा निस्किने, काठमाडौंबाट पाँचखालसम्म पुग्ने

२० माघ, काठमाडौं । माघ १९ को राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गरिने छ । यसैक्रममा बुधबार काठमाडौंदेखि काभ्रेको पाँचखालसम्म बख्तरबन्द गाडीको अभ्यास हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेना स्रोतले अनलाइनखबरसँग भन्यो, ‘२१ गते बिहान ५ बजे सितापाइलाबाट बख्तरबन्द गाडीहरु काभ्रेको पाँचखाल प्रस्थान गर्ने र राति ८ बजे काठमाडौं फर्किने कार्यक्रम तय गरिएको छ ।’ ट्राफिक व्यवस्थापनमा बाधा नपुगोस् भनेर यो समय रोजिएको नेपाली सेनाले जनाएको छ ।

सेनाको युद्ध कवच गणको अगुवाइमा यो अभ्यास गर्न लागिएको हो । यसलाई ‘लङ्ग रोड रनिङ’ भनेको छ । यो पूर्णतया अभ्यास मात्रै भएको नेपाली सेनाले जनाएको छ । ‘पहिले छोटो–छोटो प्राक्टिस हुन्थ्यो, कुनै बेलामा लामो–लामो प्राक्टिस गर्नुपर्ने हुन्छ, त्यही गर्न लागिएको हो,’ एक जना सैनिक अधिकारीले भने ।

नेपाली सेनाले लामो समयदेखि बख्तरबन्द गाडी सडकमा निकालेको थिएन । तर एक्कासी माघ १९ गतेको राति काठमाडौंको चक्रपथमा बख्तरबन्द गाडीको लस्कर देखेपछि चासो र चर्चा सुरु भएको छ ।

नेपाली सेनाका प्रवक्ता पौडेलले भने यसलाई नियमित अभ्यास भनेका छन् । तर कतिपयले भने प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment