Comments Add Comment

मादी गाउँपालिकाको केन्द्र बेतिनी साझा सिफारिस

२० माघ, पोखरा । लामो समयदेखिको मादी गाउँपालिकाको केन्द्र विवाद अब भने टुंगिने देखिएको छ । गए साल पुस अन्तिममा मतदानमार्फत नै टुंगो लगाउने गरी बोलाइएको गाउँ सभा पनि केन्द्रबारे विवाद समाधान असफल भएको थियो ।

हालको प्रशासनिक केन्द्र रहेको वडा नम्बर ३ याङ्जाकोट नजिकैको देउराली र वडा नम्बर ४ को बेतेनी साझामध्ये एक ठाउँमा केन्द्र तोक्ने भनिएको थियो । तर, बेतेनी साझा केन्द्र सार्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

मादीको कार्यपालिका बैठकले सिफारिस गरेको आधारमा वडा नम्बर ४ को बेतेनीमै गाउँपालिकाको केन्द्र तोक्न गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय मन्त्रिपरिषदमा सिफारिस गरेको छ । पालिकाको ४ वटा प्राथमिकतामध्ये बेतेनीलाई पहिलो नम्बरमा राखेर पठाएकाले त्यसैलाई केन्द्र तोक्न सिफारिस गर्दै अन्य ३ स्थानको पनि नाम पठाइएको गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । माघ ५ गते बसेको गण्डकी मन्त्रिपरिषद बैठकले बेतेनीलाई केन्द्र तोक्ने निर्णय गरेको हो ।

पालिकाले पहिलो नम्बरमा साझा बेतेनी, दोस्रोमा देउराली, तेस्रो नम्बरमा तारकाङ र चौथो नम्बरमा हालको केन्द्र याङ्जाकोटलाई केन्द्र सिफारिस गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

‘गएको गाउँ सभाले नै केन्द्र विवाद टुंगो लगाउने भनेका थियौं । तर, मतदानमार्फत टुंगो लगाउन सम्भव नभएपछि ४ वटै नाम प्रदेशमा पठाउने र संघीय सरकार हुँदै जे निर्णय आउँछ, त्यसैलाई मान्ने सर्वदलीय सहमति भएको थियो,’ गुरुङले भने ।

अब संघीय मन्त्रिपरिषद बैठकले जे निर्णय गर्छ, त्यही सर्वमान्य हुने अध्यक्ष गुरुङको भनाइ छ । एक वर्षअघि नै गाउँपालिकाले प्रदेशलाई सिफारिस गरेर पठाएको भए पनि अहिलेमात्रै प्रदेशले संघीय सरकारलाई सिफारिस गरेको उनले बताए ।

गएको वर्ष नै गाउँपालिकाको केन्द्र तोक्न उपाध्यक्ष कृष्णकुमारी पौडेलको संयोजत्वमा गठित समितिको सिफारिसका आधारमा गाउँ सभामा अध्यक्ष वेदबहादुर गुरुङले केन्द्रबारे प्रस्ताव राखेका थिए ।

बेतेनी साझामा केन्द्र तोक्दा अधिकांश गाउँपालिकाबासीका निम्ति सहज हुने विषयमा धेरैजसो गाउँ सभा सदस्य सहमत थिए । गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका केन्द्र सार्ने निर्णय हुन सक्ने सुइँको पाएका स्थानीयले केन्द्र नसार्न दबाब दिँदै विरोध नै जनाएका थिए ।

अपायक ठाउँ भएकाले मादी गाउँपालिकाको केन्द्र सार्न सुरुदेखि नै आवाज उठ्दै आएको छ । उपाध्यक्षको संयोजकत्वमा प्राविधिकसहितको अध्ययन समितिले देउराली, कुलेडाँडा, माझाडिही, तारकाङ, साझा भवन काँढे भत्केम्ले, भैंसेलगायत ठाउँको अध्ययन गरी देउराली र बेतेनी साझामा केन्द्र तोक्न आग्रह गरेको थियो ।

गाउँपालिकाको स्थानीय केन्द्र तोक्न नसक्दा मादीको बजेट र सेवा प्रवाहसमेत प्रभावित हुँदै भएको छ । गाउँपालिकाले सुरुको आर्थिक वर्षदेखि नै प्रशासनिक भवन र अन्य संरचना बनाउन बजेटको व्यवस्था गर्दै आएको छ ।

यो आर्थिक वर्षमा पनि गाउँपालिकाको केन्द्रमा प्रशासनिक बहुउद्देश्यीय भवनसहित विभिन्न संरचना बनाउन बजेट व्यवस्था गरेको छ । जिल्ला समन्वय समितिको साझेदारी, प्रदेश सरकार र मादी गाउँपालिका गरी ७ करोड रुपैयाँ विभिन्न संरचना निर्माण गर्न छुट्टिएको थियो । गएको वर्ष बजेट नै खर्च नभएकाले यो वर्ष १ करोड रुपैयाँ भवन निर्माण र १ करोड रुपैयाँ जग्गा खरिदका लागि राखिएको छ ।

संघीय मन्त्रिपरिषदको निर्णय आएसँगै पालिकाको स्थायी केन्द्रमा जग्गा प्राप्ति र प्रशासनिक भवन निर्माण थालिने अध्यक्ष गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment