Comments Add Comment

खेलाडीलाई प्रधानमन्त्रीले भने : भकुन्डो हान्ने त हो, किन हार्ने ?

२० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाडौंमा गरेको खेलकुदसंग प्रधानमन्त्री अन्तर्क्रियामा उनले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै प्रधानमन्त्री ओलीले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेल प्रतियोगितासम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए ।

उनले गत बर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरी खेल्नुपर्ने बताए ।

सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको स्पष्ट पारे । अभ्यासलाई जित्ने तहमा उठाउनु जरुरी रहेको भन्दै उनले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए ।

खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनी चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै उनले बिजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए ।

हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाईमा नहार्ने देश यत्रा यत्रा डल्लासंग किन हार्ने ? खेल भन्या केहो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्भु र भारोत्तोलन, किन हार्ने ?’ उनले भने ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment