+
+
Shares

मञ्च निर्माणले वर्षौंको समस्याबाट मुक्त : खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्न सहज

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ८:५७

६ साउन, तेह्रथुम। पूर्वी पहाडको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित राँके मेलामा वर्षौंदेखि खड्किँदै आएको स्थायी सभा मञ्चको अभाव अन्त्य भएको छ । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित राँके मेला परिसरमा निर्माण गरिएको स्वर्गीय कृष्णबहादुर खजुम स्मृति सभा मञ्च  सञ्चालनमा आएपछि खेलकुद, सांस्कृतिक तथा सार्वजनिक कार्यक्रम आयोजना गर्न सहज भएको हो ।

स्वर्गीय कृष्णबहादुर खजुम स्मृति प्रतिष्ठानले ६ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माण गरेको उक्त मञ्च हाल छथर गाउँपालिका–३ वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । मञ्च हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

पालिका अध्यक्ष तिगेलाले निजी पहलमा निर्माण भएका सार्वजनिक पूर्वाधारले गाउँको सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुग्ने र यस्ता कार्यले समुदायमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ मजबुत बनाउने बताए ।

हरेक वर्ष राँके मेलाका अवसरमा सञ्चालन हुने फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, उद्घाटन तथा समापन समारोह, पुरस्कार वितरण र सार्वजनिक सभाका लागि अस्थायी मञ्च निर्माण गर्नुपर्ने बाध्यता थियो । बाँस, काठ र टेन्टको भरमा बनाइने मञ्च वर्षा र हावाहुरीका कारण क्षति हुने, अतिरिक्त खर्च बढ्ने तथा कार्यक्रम सञ्चालनमा असहजता हुने समस्या अब अन्त्य भएको वडाध्यक्ष देउमान लिम्बुले बताए ।

बेलायतमा रहनु भएका स्वर्गीय कृष्णबहादुर खजुम स्मृति प्रतिष्ठानका अध्यक्ष जुरेन्द्र खजुमले राँके मेलाजस्तो ऐतिहासिक कार्यक्रममा स्थायी मञ्चको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको बताए। आफ्ना बुवाको स्मृतिलाई समाजसेवासँग जोड्ने उद्देश्यले प्रतिष्ठानमार्फत मञ्च निर्माण गरिएको उनले जानकारी दिए ।

राँके मेला व्यवस्थापन समितिका अध्यक्ष फौदराज लिम्बुले मञ्च निर्माणसँगै मेलाको व्यवस्थापन थप व्यवस्थित हुने बताए । विगतमा अस्थायी मञ्च निर्माणमा खर्च हुने समय, जनशक्ति र बजेटको बचत हुनुका साथै खेलकुद र सांस्कृतिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज हुने उनले बताए ।स्थानीय दिलकिरण खजुमले सार्वजनिक हितका लागि निजी परिवारले गरेको योगदान ग्रामीण समाजका लागि प्रेरणादायी उदाहरण भएको बताए ।

यस्ता कार्यले विकासप्रतिको अपनत्व बढाउनुका साथै सामुदायिक एकतालाई पनि बलियो बनाउने उनको भनाइ छ । गाउँमा बन्ने सबै संरचना सरकारी बजेटबाटै निर्माण हुनुपर्छ भन्ने सोचका बीच स्वर्गीय कृष्णबहादुर खजुमको परिवारले आफ्नै लगानीमा निर्माण गरेको यो मञ्चले समुदायमा सकारात्मक सन्देश दिएको छ । मञ्च निमार्णले राँके मेलाको अवसरमा आयोजित सांस्कृतिक तथा खेलकुद गतिविधि सञ्चालनमा सहजता दिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?