News Summary
Generated by OK AI. Editorially reviewed.- युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट हटाएर ४३ वर्षीय जनरल मिखाइलो ड्रापातीलाई नयाँ कमाण्डर नियुक्त गरेका छन्।
- नवनियुक्त सेना प्रमुख ड्रापातीले देशको रक्षाका लागि पूर्ण जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाउँदै सिर्स्कीको योगदानको प्रशंसा गरेका छन्।
- राष्ट्रपति जेलेन्स्कीले सिर्स्कीको भूमिकाको प्रशंसा गर्दै रक्षामन्त्री मिखाइलो फेदोरोभलाई सरकारभित्रै उपयुक्त जिम्मेवारी दिने प्रस्ताव गरेको जानकारी दिएका छन्।
६ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चीफ) ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट हटाएका छन् ।
उनको यो निर्णय केही दिनअघि मात्रै लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशभर भएको विरोध प्रदर्शनको पृष्ठभूमिमा आएको हो ।
सुरुआतमा फेदोरोभको बहिर्गमन सिर्स्कीसँगको मतभेदका कारण भएको हुन सक्ने चर्चा चलेको थियो । सिर्स्कीलाई पनि हटाइएपछि ती अड्कलबाजीलाई बल पुगेको बीबीसीले जनाएको छ ।
सिर्स्कीको स्थानमा ४३ वर्षीय युद्धअनुभवी जनरल मिखाइलो ड्रापातीलाई सेना प्रमुख नियुक्त गरिएको छ । उनलाई युक्रेनी सेनाभित्र अपेक्षाकृत युवा, आधुनिक सोच भएका र नवप्रवर्तनलाई प्राथमिकता दिने कमाण्डरका रूपमा हेरिन्छ । त्यसको विपरीत ६० वर्षीय सिर्स्कीलाई सोभियतकालीन सैन्य शैलीमा विश्वास गर्ने कमाण्डरका रूपमा आलोचना गरिँदै आएको थियो ।
नियुक्तिपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै ड्रापातीले देशको रक्षामा खटिएका सैनिकप्रति सम्मानसहित पूर्ण जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सिर्स्कीले युक्रेनी सेनालाई सुदृढ बनाउन गरेको योगदानको पनि प्रशंसा गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले मंगलबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा सिर्स्कीलाई धन्यवाद दिँदै सन् २०२२ मा रुसले पूर्ण आक्रमण सुरु गर्दा राजधानी किएभको सफल प्रतिरक्षामा उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
जेलेन्स्कीले सोही दिन पूर्वरक्षा मन्त्री फेदोरोभसँग पनि भेटवार्ता भएको र उनलाई सरकारभित्रै ‘उपयुक्त जिम्मेवारी’ प्रस्ताव गरिएको जानकारी दिएका छन् । तर फेदोरोभले उक्त प्रस्ताव स्वीकार गरेका छन् वा छैनन् भन्ने खुलाइएको छैन ।
फेदोरोभको स्थानमा गत साता युक्रेनको सुरक्षा सेवा (एसबीयु) का पूर्वउच्च अधिकारी येभहेनी ख्मारालाई कार्यवाहक रक्षा मन्त्री नियुक्त गरिएको थियो । जेलेन्स्कीले सबै निर्णय औपचारिक रूपमा कार्यान्वयन गरिने बताएका छन् ।
प्रतिक्रिया 4