News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले “अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्माजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने छौं” भन्ने घोषणा गरेको छ ।
- सरकारले आगामी ३ वर्षभित्र १० फुटबल रंगशाला स्तरोन्नति र ५ वर्षभित्र प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।
- खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै सो घोाषणा गरेका हुन् ।
उनले भने, ‘अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्माजनक जीवन जिउन सक्ने गरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने छौं ।’
मन्त्री वाग्लेले आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने र प्रमुख प्रमुख ८ शहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने जानकारी पनि गराए ।
साथै विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा कम्तिमा २ हजार क्षमताका इन्डोर मल्टिपर्पस स्टेडियम आगामी ३ वर्षभित्र निर्माण गर्ने घोषणा मन्त्री वाग्लेले गरे ।
उनका अनुसार मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने छ ।
खेलकुदमा रुचि र क्षमता भएका विद्यार्थीलाई आधारभूत तहदेखि छनोट गरी आवासीय सुविधासहित तालिम समेत दिइने छ ।
सुर्खेतमा १० औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेशमा प्रस्तावित ११ औं प्रतियोगिताका लागि आवश्यक पूर्वाधार बनाउन रकम विनियोजन गरिएको जानकारी पनि उनले दिए ।
खेलकुद क्षेत्रमा आर्थिक वर्ष २०८३÷८४ का लागि ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया 4