+

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङमा रोनक र स्वस्तिका च्याम्पियन

२०८३ जेठ  १५ गते १८:१० २०८३ जेठ १५ गते १८:१०
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङमा रोनक र स्वस्तिका च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोनक उप्रेती र स्वस्तिका चौधरीले तेस्रो तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको उपाधि जितेका छन् ।
  • यस वर्ष पहिलो पटक टप-रोपको सट्टा प्राविधिक रूपमा कठिन मानिने लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको हो ।
  • सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजित प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नु रहेको छ ।

१५ जेठ, काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करणको उपाधि रोनक उप्रेती र स्वस्तिका चाैधरीले जितेका छन् । शुक्रबार काठमाडौंस्थित एस्ट्रेकमा सम्पन्न प्रतियोगितामा रोनक पुरुष तर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बनेका हुन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजिए) र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो।
पुरुषतर्फ रोनक उप्रेती विजेता बन्दा मिर्को लेरोस दोस्रो र तेन्जिङ बर्टिन राई तेस्रो भएका छन् ।

यस्तै महिलातर्फ स्वस्तिका चौधरी च्याम्पियन बन्दा याङ्किला शेर्पा दोस्रो पञ्चमाया तामाङ तेस्रो भए । दुवै विधाका विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको फाइनल चरणमा ६ पुरुष र ६ महिला गरी १२ जना खेलाडी पुगेका थिए । पुरुषतर्फ एक विदेशी आरोही पनि फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगिताको फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशेष अतिथिका रूपमा तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जिङ नोर्गे सहभागी भएका थिए ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पा, यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन च्याप्टरका संयोजक लक्षुमन तामाङ तथा नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका महासचिव सन्तोष मादेन लगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिंह गुरुङले पहिलो पटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएकोले यस वर्षको प्रतियोगिता विशेष रहेको बताए । यसअघि भएका दुई संस्करण भने टप–रोप क्लाइम्बिङ विधामा भएको थियो ।

प्रतियोगिताको उद्देश्य नेपालमा साहसिक आरोहण खेलको प्रवर्द्धन गर्नुका साथै विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्नु रहेको आयोजकको भनाइ छ ।

तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष गुरुङका अनुसार मे २९ को ऐतिहासिक अवसरलाई लक्षित गर्दै यस वर्ष प्रतियोगितालाई विशेष रूपमा आयोजना गरिएको हो । ‘हालसम्म मे २९ लाई मुख्यतः र्‍याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मनाइँदै आएको थियो’ उनले भने, ‘यस वर्ष पहिलो पटक प्राविधिक रूपमा क्लाइम्बिङ प्रतियोगिता आयोजना गरिएको हो, जसले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरेका छौं ।’

उनले इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानप्रति उच्च सम्मान भएको बताए ।

आयोजकका अनुसार प्रतियोगिताले नेपालमा विकास हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवर्द्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय