Comments Add Comment

नेकपा ओली समूहमा प्रवेश गरे जसपा नेता शिवजी यादव

२० माघ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको उनले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा नेकपा प्रवेश गर्नुको कारण यसरी सुनाए यावदले:

राजनीतिक विषयमा कुरा गर्दा संविधान सभामा रहेर मैले जेजति कुरा गरेँ वा जुन हिसाबले पछिल्लो दशकमा मुलुकको लागि मैले योगदान गरेँ अहिले प्राप्त भएको राजनीतिक उपलब्धिमा मेरो पनि कुनै न कुनै योगदान छ ।

त्यसैले अहिलेको यो उपलब्धिलाई संस्थागत गर्दै यसको भावना अनुसार मुलुकलाई अघि बढाउने मेरो मुख्य उद्देश्य हो । हामीले संविधान बनाउँदै गर्दा स्थिरताको पक्षमा जति विषय उल्लेख गरेका थियौं त्यसलाई खलबल्याउने हिसाबले दुराशय राखेर अहिले व्यवहार गरिँदैछ । जसले गर्दा अहिलेको वातावरण सिर्जना भएको हो ।

संसद भंग भयो, यो विषय अदालत गयो । त्यसलाई अदालतको आदेश आउँदासम्म त कुर्न सकिन्थ्यो नि । तर अस्थिरतालाई निम्ता दिनेगरी अदालतमा प्रवेश गरेको विषयलाई उछाल्न थालियो । यो पनि संविधानको स्पिरिटभन्दा बाहिरको कुरा हो ।

अहिलेको उपलब्धि कायम गर्नको लागि अहिले जुन बहस चलिरहेको छ । त्यसले देशलाई फेरि अस्थिरताको भूमरीमा लैजान्छ भन्ने मेरो बुझाइ हो । तर म जुन पार्टीमा थिएँ । सो पार्टीले अस्थिरता सिर्जना गर्ने र जनतालाई झुक्याउने काम धेरै गरेपछि म उक्त पार्टीको विकल्प खोज्न बाध्य भएको हुँ । झुक्याउने काम भनेको यस अर्थमा कि संविधान बनाउने बेलामा मधेशका दलहरुले नै संविधान मान्दिन भनेकै हो । तर त्यही संविधान अनुसार मन्त्री पाएपछि त उनीहरुले संविधान अघोषित रुपमा भने पनि स्वीकारेकै हुन् । त्यो त जनता झुक्याउने विषय भएन र ? अहिले उहाँहरु नै संविधानको रक्षाको लागि भनेर संघर्षमा हुनुहुन्छ । जसले सुरुदेखि नै संविधानको विरोध गर्‍यो । अवसर पाएपछि त्यही संविधानबाट पद पनि लियो । अहिले संविधानको रक्षाको लागि भनेर संघर्ष पनि गरिरहेको छ, यी सबै पाच्य भएन र मैले पार्टी छाडेको हुँ ।

अहिलेको समसामयिक राजनीतिक परिवेशलाई हेर्दा नयाँ चुनावको घोषणा भएको छ । जुनसुकै विषयमा पनि मान्छेको सहमति र विमतिहरू हुन्छन् । सहमति र विमतिको छिनोफानो गर्ने त निर्वाचनबाटै त हो । यसलाई प्रधानमन्त्रीज्यूले पनि राजनीतिक विषय भनिसक्नु भएको छ ।

म पहिले पनि तत्कालीन एमाले पार्टीमा नै थिएँ । अहिले पार्टीको नाम परिवर्तन भयो । तर म पुरानै पार्टीमा फर्किएँ । म कुनै पनि व्यक्तिगत स्वार्थ पूर्तिको लागि यो पार्टीमा प्रवेश गरेको होइन । म मन्त्री बन्न भनेर यहाँ आएको पनि होइन । प्रधानमन्त्रीज्यूसँग यस्तो विषयमा कुनै सहमति भएको पनि छैन । मेरो राष्ट्रिय स्वार्थ छ । शान्ति सुव्यवस्था र स्थिरताको लागि मैले यो पार्टी रोजेको हुँ । मेरो एजेण्डा पनि त्यही हो । त्यसैले म कुनै व्यक्तिगत स्वार्थको लागि नेकपामा आएको होइन । भोलि मलाई पार्टीले चुनावमा टिकट नै नदिई चुनावमा सहयोग गर्न भन्न पनि सक्छ, मलाई त्यो पनि स्वीकार्य छ । यस विषयलाई अतिरञ्जित गरिरहनु आवश्यक छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment