+
+

कर्णाली प्रदेश सभाको वार्षिकोत्सवमा २६ सांसद अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १९:३६

२१ माघ, सुर्खेत । कर्णाली प्रदेश सभाको तेस्रो वार्षिकोत्सव कार्यक्रममा २६ जना सांसदहरु अनुपस्थित भएका छन् । प्रदेशसभा सचिवालयले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा १४ जना सांसदहरुको मात्रै सहभागिता देखिएको हो ।

अघिल्ला वार्षिकोत्सव समारोहमा सबै सांसदहरुको सहभागिता रहने गरेपनि यो वर्ष भने नेकपा विभाजनको असर वार्षिकोत्सवमा देखिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० सांसदमध्ये १४ जना मात्र कार्यक्रममा सहभागि थिए ।

प्रदेशसभाको कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती, मन्त्रीहरू विमला केसी, नन्द सिंह बुढा, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दान सिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का, खड्क खत्री र अमृता शाहीक मात्रै उपस्थित भए ।

‘प्रदेश सभा स्थापना दिवसमा सबै सांसदहरुको सहभगिता हुनुपर्ने हो । तर, आजको कार्याक्रममा त्यसो देखिएन्,’ कार्यक्रममा सहभागी नागरिक समाज सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले भने, ‘सांसदहरुले यो दिनलाई त्यति महत्व दिन छोडेको जस्तो लाग्यो ।’

प्रदेशसभामा नेकपाका ३३ सांसदहरू छन् जसमध्ये ओली समूहका १२ र प्रचण्ड–माधव समूहका २१ जना सांसदहरू छन् । तर, स्थापना दिवस समारोहमा ओली समुहका सभामुखसहित दुईजना सांसदको मात्रै सहभागिता रहेको थियो ।

नेकपा विभाजनसँगै सांसदहरु पार्टीको कार्यक्रममा व्यस्त देखिँदा प्रदेशसभाको कार्यक्रममा उनीहरुको सहभागिता न्यून देखिएको हो ।

आफ्नो निर्वाचन क्षेत्र दैलेखका नागरिकहरूसँग भेटघाटको कार्यक्रम भएकाले प्रदेशसभाको कार्यक्रममा सहभागी हुन नपाएको नेकपाका सांसद सुशिल थापाले बताए ।

त्यस्तै अर्का नेकपाका सांसद धर्मराज रेग्मीले पार्टीको कामको सिलसिलामा काठमाडौंमै रहेका कारण कार्यक्रममा सहभागि हुन नसकिएको बताए ।

यता कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोनाको कारण कम सांसदहरूको सहभागिता रहेको दाबी गरे । ‘हामीले माहामारीका कारण कम सहभागितामै कार्यक्रम गरेका छौं,’ सभामुख शाहीले भने, ‘नेकपा विभाजनको कारण सांसदहरुको उपस्थितिमा कमी आएको हैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?