Comments Add Comment

हिजो जनतालाई लुट्ने काम भयो, सरकारले क्षतिपूर्ति दिन्छ : ईश्वर पोखरेल

२३ माघ, काठमाडौं । नेकपा ओली समूहका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट पुगेको क्षति सरकारले दिने बताएका छन् ।

‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ’, पोखरेलले भने । उनले हड्तालका क्रममा क्षति पुगेका सबैको क्षतिपूर्ति समेत दिने बताए ।

अर्का समूहका नेकपालाई आततायीकै आरोप लगाएका थिए । ‘हिजो आततायीहरुबाट जनतालाई दुःख दिने, जनतालाई हिजो लुट्ने काम भयो, त्यो सम्पूर्ण क्षति दिन्छौं’, पोखरेलले भने । उनले आफ्नो लडाइँ अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध भएको बताए ।

उनले प्रचण्ड र माधव समूहले निर्वाचन हुन नदिएर लोकतन्त्र र संविधान विरोधी काम गरिरहेको बताए । ‘निर्वाचन आयोगमा गएर धम्की दिनुहुन्छ । खबरदार चुनाव गरौला भन्नुहुन्छ । यो संविधान विरोधी कुरा हो कि होइन ?लोकतन्त्र विरोधी कुरा हो कि होइन ?’, उनले प्रश्न गरे ।

पोखरेलले आफूहरु ताजा जनादेशमा गएर जनताले जे निर्णय दिन्छन् त्यो स्वीकार्न तयार रहेको बताए । जनतासँग केपी ओलीले गरेको संकल्प पूरा गर्न नदिइएकाले ताजा जनादेशमा जानुपरेको पोखरेलले बताए । ‘पाँच वर्ष निर्वाचित प्रधानमन्त्रीलाई बीच बाटै हटाउन खोज्नुभयो । त्यो आम जनताले रुचाएनन्, रुचाउँदैनन्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment