Comments Add Comment

किताब जात्रा : ‘प्रेम साहित्य’ सम्मान कवि जसराजलाई

‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारलाई

काठमाडौं । किताब यात्रा फाउन्डेसनको आयोजनामा माघ १७ गते शनिबारदेखि जारी ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ ।

अन्तिम दिन ‘प्रेम साहित्य सम्मान’, ‘किताब जात्रा बेस्ट सेलर अवार्ड’को घोषणाका साथ ‘किताब जात्रा’ सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीले जानकारी दिए ।

अन्तिम दिन ‘प्रेम साहित्य सम्मान’ वरिष्ठ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ । उक्त सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई ५५ हजार ५ सय ५५ रूपैयाँ राशीसहित हरेक वर्ष प्रदान गरिन्छ ।

बुइपा– ६, खोटाङ्गका ७५ वर्षीय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकन आयाममा प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जानकारी दिएको छ । किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मह जोडी ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर नगद, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए ।

त्यस्तै यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ । अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रालिले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सीईओ विकेश भट्टराईले जानकारी दिए ।

उनलाई फाउन्डेसनका अध्यक्ष अधिकारी र लेखक बुद्धिसागरले अवार्ड प्रदान गरेका थिए । गत वर्ष उक्त अवार्ड अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो ।

जात्रामा सात विमर्श सत्र सञ्चालन भएको थियो । पहिलो सत्रमा ‘कहाँ छौं हामी ?’ शीर्षकमा भूषिता वशिष्ठको सहजीकरणमा लेखक डा. सञ्जीव कुमार उप्रेती, बुद्धिसागर र दुर्गा कार्कीले बहस गरेका थिए । दोस्रो सत्रको बहस ‘शब्द पछ्याउँदै जाँदा’ शीर्षकमा महिला लेखकहरू माया ठकुरी, भुवन ढुङ्गाना र भागिरथी श्रेष्ठ सहभागी थिए । कवि शकुन्तला जोशीले बहस सहजीकरण गरेकी थिइन् ।

तेस्रो सेसनमा ‘पर्दाभित्र, पर्दाबाहिर’ शीर्षकमा निर्देशक प्रकाश सायमीको सहजीकरणमा नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरले आफ्नो पठन अनुभूति सार्वजनिक गरेका थिए । सेसनअघि बलिउड कलाकार सोनु सूद मन्तव्य प्रशारण गरिएको थियो ।

‘अँध्यारोबाट उज्यालोतिर’ शीर्षक रहेको सेसनमा डा. सन्दुक रुइत, महावीर पुन र कुलमान घिसिङले एपीवान एचडी टेलिभिजनका ‘एडिटर–इन–चिफ’ टीकाराम यात्रीको सहजीकरणमा बहस गरेका थिए ।

अनुसन्धाता तथा राई भाषाका लेखक कैलाश राईको सहजीकरणमा ‘मातृभाषाको लय’ शीर्षकको बहस मैथिली भाषाका लेखक रमेश रञ्जन झा, थारू भाषाका लेखक डा. कृष्णराज सर्वहारी र नेपाल भाषाका लेखक सुलोचना मानन्धर सहभागितामा भएको थियो ।

‘यो कर्मभूमिको आँगनमा’ शीर्षकको सेसनमा चौधरी ग्रुपका मेनेजिङ डाइरेक्टर निर्वाण चौधरी, वर्ल्डलिंक कम्युनिकेसनका अध्यक्ष दिलीप अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले एपीवान एचडी टेलिभिजनकी एसोसिएट एडिटर समा थापाको सहजीकरणमा बहस गरेका थिए । अन्तिम सेसन ‘महको अक्षरयात्रा’मा मह जोडी र कलाकार मनोज गजुरेलबीच अन्तरक्रिया भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामनाबाट सुरु भएको ‘किताब जात्रा’मा अर्थमन्त्री विष्णु पौडेल र अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख क्याप्टन रामेश्वर थापाले मन्तव्य राखेका थिए । ‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको विशेष प्रस्तुति ‘स्याडोज अफ नगरकोटी’बाट जात्राको अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment