Comments Add Comment

साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

२६ माघ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता लिभरपुलमाथि म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ । इल्के गुन्डागोनको दुई गोल मद्दतमा लिग लिडर सिटीले लिभरपुललाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो ।

सिटीले सन् २००३ पछि लिभरपुललाई एनफिल्डमा पराजित गरेको हो । यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले पनि पहिलो पटक एनफिल्डमा जित हात पारेका हुन् । साविक विजेताको हैसियतमा इंग्लिस शीर्ष डिभिजनको लिगमा अर्को सिजन लगातार तीन खेल हार्ने लिभरपुल ६५ वर्षपछि पहिलो टिम बनेको छ ।

गुन्डागोनले ३७औं मिनेटमा पेनाल्टी गुमाउँदा सिटीले पहिलो हाफमै अग्रता लिने अवसर गुमायो । तर दोस्रो हाफमा भने गुन्डागोनले शानदार प्रदर्शन गरे ।

४९औं मिनेटमा गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६३औं मिनेटमा मोहम्मद सालाहले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए । तर ७३औं मिनेटमा गुन्डागोनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले २-१ को अग्रता बनायो ।

सिटी त्यतिमै रोकिएन । ७६औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपछि सिटीले ३-१ को अग्रता लियो । ८३औं मिनेटमा फिल फोडेनले सिटीका लागि चौथो गोल गरे ।

जितपछि सिटीले छिमेकी म्यानचेष्टर युनाइटेडमाथि ५ अंकको अग्रता समेत बनाएको छ । युनाइटेडभन्दा सिटीले एक खेल कम खेलेको छ । सिटीको २२ खेलबाट ५० अंक छ । २३ खेल खेलेको युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा छ । पराजित लिभरपुल २३ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । सिटीभन्दा लिभरपुल १० अंकले पछि छ ।

लिगकै अन्य खेलमा तेस्रो स्थानको लेस्टर सिटीले वल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । २३ खेलबाट ४३ अंकसहित लेस्टर तेस्रो स्थानमै यथावत छ ।

यस्तै वेष्ट्रोमलाई २-० ले पराजित गर्दै टोटनहम सातौं स्थानमा उक्लेको छ । टोटनहमको २२ खेलबाट ३६ अंक भएको छ । टोटनहमको जितमा ह्यारी केन र हेउन मिन सनले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment