Comments Add Comment

ओलीलाई फाल्न नसके डरलाग्दो प्रतिक्रान्ति हुन्छ : घनश्याम भुसाल

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आन्दोलनबाट केपी ओलीलाई सडकमा ल्याइने चेतावनी दिएका छन् ।

बाग्लुङमा आयोजित भेलालाई सम्बोधन गर्दै भुसालले संकटकाल वा आदेशले आन्दोलन र क्रान्ति नरोकिने बताए ।

‘कुनै संकटकालले क्रान्ति रोक्यो ? आन्दोलन रोक्यो ? यो नेपाली जनतालाई जिस्क्याउने कुरा मात्रै हो । उनको आदेशले क्रान्ति रोकिने कुरा दुनियाँलाई जिस्क्याउने कुरा मात्रै हो’, भुसालले भने ।

संसद् विघटन गरेर घोषणा गरिएको निर्वाचन आयोगले नै नहुने भनिसकेको, तर ओलीले निर्वाचन नभए संकटकालको हल्ला लगाएको भन्दै उनले संविधान जोगाउन आन्दोलन नरोकिने बताए ।

‘ओलीलाई फालिन्छ, सडकमा घिसारेर ल्याउँछ आन्दोलनले । घिसार्ने काम क्रान्तिकारी शक्तिले सक्यो भने प्रतिक्रान्ति त्यहाँ रोकिन्छ । सकेनौं भने उनलाई त्यो भन्दा डरलाग्दो प्रतिक्रान्तिले घिसार्नेछ’, भुसालले भने । त्यसबेला संविधान तोडिसकेको अवस्था हुनाले ओलीलाई प्रतिक्रान्तिले घिसार्ने उनले बताए ।

‘क्रान्तिकारी शक्ति बलियो भएनौं भने राजावादीहरु र विदेशीले उकासेको शक्ति बलिया हुन्छन् । संविधान भत्किसकेको हुन्छ’ उनले भने ।

सम्झौताको दस्तावेज संविधान प्रधानमन्त्रीले नै च्यात्न थालेपछि मुलुक प्रतिक्रान्तितिर धकेलिने र मुलुक संकटको भूमरीमा फस्ने उनको भनाइ छ ।

ओलीसँग बोल्ने कुरा बाँकी नरहेकाले पूर्वएमाले र सरकारलाई काम गर्न नदिइएको रटान लगाएको पनि भुसालले बताए । तर, एमसीसीलाई नेपालको हितअनुकुल अगाडि बढाउनुपर्छ भन्नेबाहेक कुनै काममा पार्टीले असहयोग नगरेको उनले बताए ।

‘एमाले भनेको भेडाहरुको पार्टी हो, मूख्य भेडा हिँडेपछि सबै भेडाहरु पछि लाग्नुपर्छ भन्दैछन् । सारा एमालेलाई भेडा बनाउन खोज्दैछन्’, भुसालले भने । एमालेको इतिहासलाई दासको इतिहास बनाउन ओली उद्दत रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment