Comments Add Comment

विरोधको डरले रोकियो इन्धनको मूल्य बढाउने तयारी

२७ माघ, काठमाडौं । फेब्रुअरी १ मा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले इन्धनको मूल्य बढाउने तयारी गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा भारततर्फ तस्करी हुन्छ भनेर मूल्य समायोजन नगर्ने आयल निगम थोरै घाटा हुनासाथ मूल्य बढाउन आतुर हुन्छ । वैज्ञानिक मूल्य समायोजन भनेपनि अहिलेसम्म यही हुँदै आएको छ ।

यो पटक पनि उसले त्यही गर्न चाह्यो । तर अहिले इन्धनको मूल्य बृद्धि गर्दा विरोध हुँदै भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रोकेको छ ।

निगमले भने मूल्य बृद्धि गर्न नपाउँदा दैनिक साढे ६ करोड घाटामा भएको दाबी गरेको छ ।

निगम अधिकारीहरुका अनुसार पुस १५ गते लिटरमा २ रुपैयाँ बढाउँदा पनि पाक्षिक ६४ करोड घाटा थियो । माघ ५ मा मूल्यवृद्धि गरेपछि फेब्रुअरी १ मा आइपुग्दा निगमको पाक्षिक घाटा ४८ करोडमा झर्‍यो । तर १ तारिखमा भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार १५ दिनमै ९७ करोड ७५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

उनका अनुसार निगमलाई हाल प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० पैसा, डिजेलमा ४ रुपैयाँ ६४ पैसा घाटा छ । खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३११ रुपैयाँ घाटा छ । मटितेलमा प्रतिलिटर १८ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र बाह्यमा प्रतिलिटर ३५ रुपैयाँ नाफा छ ।

यसअघि डिजेल र पेट्रोलको नोक्सानीमा हवाई इन्धनले भरथेग गरेपनि हवाई इन्धनको बिक्री घटेका घाटा चुलिएको प्रवक्ता उपाध्याय बताउँछन् । ‘कोभिडको महामारी सुरु हुनु अघि दैनिक ६ लाख लिटर बिक्री रहेको हवाई इन्धन अहिले दुई लाखमा झरेको छ,’ उनले भने ।

लकडउनका बेला २० डलर प्रतिब्यारेल झरेको कच्चा तेलको भाउ बढेर ६०.५६ डलर पुगेको निगमले बताएको छ । मूल्य समायोजन गर्न नसके गत वर्ष कमाएको १२ अर्ब ९३ करोड नाफा ५ महिनामै सकिने निगमले जनाएको छ ।

तर सरकारले भने प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन भइरहेका बेला इन्धनको मूल्यवृद्धिले थप अलोकप्रिय भइने र अन्य राजनीतिक शक्तिले मूल्यवृद्धिलाई बिरोध हतियार बनाउने भन्दै मूल्यवृद्धि नगर्न भनेको छ । निगम स्रोत भन्छ, ‘मध्यावधि निर्वाचन घोषणा भएको र सरकारमाथि प्रश्न उठेको बेला थप चिढ्याउन नहुने मन्त्रालयको भनाइ छ ।’

त्यही कारण निगम सञ्चालक समिति बैठक समेत बस्न सकेको छैन । समिति अध्यक्ष रहेका वाणिज्य सचिव बैकुण्ठ अर्याल अहिलेसम्म समितिको बैठक अनिश्चित रहेको बताउँछन् । ‘मूल्य समायोजनको निर्णय निगमले लिने हो, केही दिनमा बोर्ड बैठक बस्ला’ सचिव अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment