Comments Add Comment

लागतमा साझेदारी गर्न पर्यटनका दुई सय आयोजना छानिए

२९ माघ, काठमाडौं । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत देशभर २ सय वटा आयोजना कार्यान्वयन प्रक्रियामा जाने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार छनोट भएका आयोजनाको अन्तिम टुंगो लगाउँदै कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो कार्यक्रम तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले ल्याएको एक सय गन्तब्यको विकल्पमा यसअघिका पर्यटनमन्त्री योगेश भट्टराईले ल्याएको अवधारणा हो ।

जसमा केन्द्र र स्थानीय सरकार दुबैले लागत साझेदारीमा आयोजना कार्यान्वयन गर्ने भएका छन् । यसअघि पर्यटन मन्त्रालयले सो प्रयोजनका लागि स्थानीय तहहरुबाट आयोजनाको माग गरेको थियो ।

यसअघि एक सय कार्यक्रम सिधै केन्द्रबाट स्थानीय तहमा पठाइएको कार्यक्रम भएको र यसमा स्थानीय तहले अपनत्व नलिएको भन्दै पर्यटन मन्त्रालयले लागत साझेदारीमा कार्यक्रम कार्यान्वयन थालेको हो ।

कस्ता आयोजना भए छनोट ?

पर्यटन मन्त्रालयका अनुसार पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण र संस्कृति संरक्षणका कार्यक्रमहरु छनोट भएका छन् । झापाको शिवसताक्षी नगरपालिकाले ७० लाख रुपैयाँ लागतमा दोमुखा चिल्ड्रेन पार्क तथा स्वीमिङ पुल बनाउने प्रस्ताव गरेको छ ।

ताप्लेजुङको मिल्के डाँडामा लालिगुराँस पार्क निर्माणको समेत योजना गरेको छ । मोरङको राजारानी तालको संरक्षण तथा सौन्दर्यीकरणमा बजेट परेको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा समेत वाटर फनपार्क बनाउन बजेट परेको छ । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा भूकम्प स्मारक भृकुटी शान्ती पार्क बनाइने भएको छ ।

दोलखाको सैलुङ गाउँपालिकामा मिनी ग्रेट वाल निर्माण गरिने भएको छ । काभ्रेको तीनधारे झरना संरक्षण गर्न रोशी गाउँपालिकालाई बजेट छुट्टयाइएको छ ।

गोरखाको सिरानचोक गाउँपालिकामा अमरसिंह पार्क निर्माण हुने छ । गुल्मीको रेसुंगा नगरपालिकामा गर्जुरा रेसुंगा पर्यटन पार्क निर्माणको आयोजना समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment