Comments Add Comment

यी कलाकार जसले प्रेम सम्बन्धलाई बिहेमा परिणत गरे

नेपाली चलचित्र क्षेत्रमा प्रेम, विछोड, बिहे, डिभोर्सको खबर मिडियामा खुबै छाउँछ । कलाकारको जीवन र उनीहरुको जीवनशैलीको खबरमा दर्शकले पनि रुची राख्ने भएकाले पनि यस्ता खबरहरुले बढी स्थान पाएका हुन् ।

चलचित्र क्षेत्रमा प्रेममा रहेका चलचित्रकर्मीहरुको सम्बन्ध बिहेसम्म पुगेको कमै मात्र देखिन्छ । धेरै चलचित्रकर्मीको प्रेम असफल भएको छ भने कतिपयको वैवाहिक जीवन पनि असफल छ । तर, चलचित्र क्षेत्रमा प्रेम गरेर सम्बन्धलाई बिहेका परिणत गर्ने चलचित्रकर्मी पनि छन् । प्रेम दिवसको अवसरमा हामी यहाँ यस्ता केही जोडीको चर्चा गर्दैछौ ।

नायक राजेश हमालले प्रेमिका मधु भट्टराइसँग बिहे गरे । राजेश र मधुको प्रेम ७ बर्ष लामो थियो । ७ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेपछि राजेश हमालले केही बर्ष चलचित्रमा पनि खासै रुची देखाएनन् । उनले, मधु र आफ्नो विचार मिलेपछि प्रेमलाई बिहेमा परिणत गरेको बताएका थिए ।

नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको ‘माया त माया हो’को छायांकनका क्रममा फक्रिएको प्रेम बिहेमा परिणत भयो । निखिलको संचितासँग दोश्रो बिहे भएकाले पनि यो बिहे चर्चा र विवादमा रह्यो । यसैले, उनीहरु केही बर्ष मुम्बइ पुगेका थिए । तर, अहिले निखिल र संचिता सुखद जीवनयापन गरिरहेका छन् । उनीहरुका २ सन्तान छन् ।

नायक आर्यन सिग्देलले प्रेमिका सपना भण्डारीसँग बिहे गरे । आर्यन र सपना केही समय प्रेममा रहेपछि उनीहरुले बिहे गरेका थिए । बिहे अगाडि आर्यनको नाम केही नायिकाहरुसँग नजोडिएको होइन । तर, बिहेपछि आर्यन पारिवारिक जीवन र चलचित्र करिअरलाई एकसाथ अगाडि बढाइरहेका छन् ।

नायिका वर्षा राउत र नायक संजोग कोइरालाले ६ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरे । २ बर्ष अगाडि आजैको दिनमा उनीहरुले बिहे गरेका थिए । संजोग र वर्षाको जोडीलाई चलचित्र क्षेत्रमा उदाहरणिय जोडी मानिन्छ ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गतबर्ष बिहे गरे । केही बर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गरेका थिए । चलचित्र ‘कथा काठमाण्डु’को छायांकन सेटबाट सुरु भएको प्रेम गतबर्ष बिहेमा परिणत हुँदा विभिन्न खालको चर्चा भयो । प्रियंका आयुष्मान भन्दा केही बर्षले जेठी भएकाले पनि उनीहरुको बिहेको खबरमा थुप्रै ट्रोल पनि बन्यो । तर, उनीहरु बिहेपछि सुखमय जीवन बिताइरहेका छन् ।

नायिका ऋचा शर्माले पनि प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरिन् । गतबर्षको मंसिरमा उनले बिहे गरेकी हुन् । ऋचाको पनि विभिन्न नायकहरुसँग नाम जोडिएको थियो । केही प्रेममा असफल भएपछि ऋचाले दिपेक्षसँगको प्रेमलाई पनि नयाँ बाटो दिइन् । उनीहरुको जोडीलाई दर्शकले रुचाए ।

नायिका आँचल शर्माले पनि गतबर्ष नै डाक्टर उदिप श्रेष्ठसँग बिहे गरिन् । उदिप र आँचलको पनि एक बर्ष लामो प्रेम सम्बन्ध हो । आँचल उदिपलाई पाउँदा आफू निकै नै भाग्यमानी रहेको बताउँछिन् । उदिपले चलचित्रमा लगानी गर्ने चर्चा समेत चलेको छ । आँचल र उदिपको जोडीले पनि प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सफल भयो ।

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराइले पनि केही बर्षको प्रेम पछि बिहे गरे । चलचित्र ‘ऐश्वर्य’बाट दीपिकालाई दिवाकरले नै चलचित्र क्षेत्रमा भित्राएका थिए । दिवाकर र दीपिका नयाँ चलचित्रको तयारीमा लागेका छन् । उनीहरुको जोडी पनि गज्जबले जमेको देखिन्छ ।

नायिका स्वेता खड्काले यसै बर्षको मंसिरमा बिहे गरिन् । प्रेमी विजयेन्द्र सिंह राउतसँग उनले धुमधामसँग बिहे गर्दै नयाँ जीवनको सुरुवात गरिन् । स्वेता र विजयेन्द्र पनि केही समय प्रेममा रहेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय प्रेम बिबाह गर्ने जोडी बढिरहेका छन् । माथि उल्लेखित जोडी बाहेक अन्य दर्जनौ जोडी छन्, जसले प्रेमपछि बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment