Comments Add Comment

संसद विघटनको विरोधमा प्रधानमन्त्रीलाई पत्र

२ फागुन, बुटवल । प्रतिनिधिसभा विघटनको विरोध गर्दै प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी ओलीलाई विरोध पत्र पठाएको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै समाजको रुपन्देही शाखाले इलाका प्रशासन कार्यालय बुटवलमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएको हो ।

इलाका प्रशासन कार्यालय प्रमुख कमलराज ढकाललाई बुझाइएको विरोध पत्रमा सरकार असंवैधानिक, अलोकतान्त्रिक, र तानाशाही बाटो हिंड्न खोजेको उल्लेख गरिएको छ ।

आफ्नो दलभित्रको आन्तरिक समस्यालाई कारण देखाएर लोकतान्त्रिक प्रणालीकोे बर्खिलापमा उभिने, संविधानमा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्थाको विघटन गरी देशलाई नै राजनीतिक र संवैधानिक अनिश्चयको भूमरीमा धकेलिएको विरोधपत्रमा बताइएको छ ।

नेपाली जनताको सातदशक लामोे संघर्ष, बलिदानी र लोकतान्त्रिक आन्दोलनबाट स्थापित नेपालको संविधानको संवैधानिक व्यवस्था र भावनाविपरित संविधानको ठाडो उल्लघंन गरी स्वेच्छाचारी ढंगबाट प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी प्रतिगामी कदम चालेकोले उक्त कदमप्रति विरोधपत्रमा घोर भत्र्सना गरिएको छ ।

प्रजातान्त्रिक विचार समाज रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्रदेश अध्यक्ष शंकर दिवश मजगैयाँ र केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीद्वारा हस्ताक्षरित विरोध पत्रमा लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नु राज्यका हरेक अंग र पदाधिकारीहरुको संवैधानिक र राननीतिक जिम्मेवारी भएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment